त्यो प्राचीन दरबारको गुप्त कोठाभित्र
मस्त निदाइरहेको छ, – संसारकै बलियो मानिस ।
कृपया, उसलाई उठाइदेऊ ।
करोडौं निर्धाहरुको
औंठाछाप बोकेर दरबार पसेको मानिस हो ऊ
उठाइदेऊ र हेर्न लगाऊ झ्यालबाट
केही खबरहरु छन् उसको लागि ।
जंगली आगो
खरानी बेच्दै पसेको छ वस्तीहरुमा,
चराहरुको गीत खोसेको छ,
सिमानामा भत्किएर पर्खालहरु,
अपरिचित बन्दूकहरु हाम्रै बारीमा बुख्याँचा झैं उभिरहेछन् ।
हुरी चलिरहेछ एकनाश
र छानाबाट खरका औछाहरु निकालिरहेछ,
पहिरो लडिरहेछ बारीमा
र रित्तो भकारीबाट मुस्काइरहेछ भोकमरी
झाङ भित्र जाँङ च्यातिएका छोरीहरु भेटिन्छन् ।
तर गाउँमा भेटिंदैनन् मलामीहरु ।
हजार फूलहरुले उनेको
माला लगाएर दरबार पसेको मानिस हो ऊ
कृपया, उसलाई उठाइदेऊ ।
मन्दिरबाट टुँडालहरु हराए,
पानीसँगै बगेर गए गाउँबाट छोराहरु
रगतले रंगिएको स्तूप मुन्तिर
भेटिए दर्जनौं मानिसहरुको चिहान
कसरी चिन्नु कंकाल हेरेर बेपत्ता छोराहरुको अनुहार?
गाउँमा फालो गाड्ने माटो रहेन
आँसुपसिनाले आँत भिजाउने गरीबहरुको धर्म रहेन ।
किनकि गाउँमा अञ्जान मानिसहरु
देशको नक्शा बोकेर हिंड्छन् ।
हाम्रा सन्तानलाई
शहीद बनाएर दरबार पसेको मानिस हो ऊ
कृपया, उसलाई उठाइदेऊ ।
यो अविराम निद्रामा
कुन स्वप्न छ त्यस्तो – ब्युँझिन नसक्ने !
कि प्रपञ्च, खिचातानी र छलकपट छ ?
कृपया झक्झकाइदेऊ त्यो बलियो मानिसलाई ।
र केहीबेर रोकिदेऊ – मदिराका प्यालाहरु
सुरासुन्दरीहरुको भीड, महफिल र मुजुरा,
जयजयकार पनि बन्द गरिदेऊ
किनकि करोडौंको भीडबाट
हजार योजना लिएर दरबार पसेको मानिस हो ऊ
कृपया, उसलाई उठाइदेऊ ।