कथा

‘म आएँ !’

Himal Khabar
आन्विका गिरी
Himal Khabar
यो कथा गएको वर्षको हिमाल खबरपत्रिकाको 'दशैं साहित्य विशेष' अंकमा छापिएको ‘धत्’ शीर्षकको कथाको अन्त्य हो । पूर्वकथामा बसमा म पात्र र उसको भेट हुन्छ । ऊ धेरै बोल्छे, जे पनि सोधिदिन्छे । म पात्र महिला बारेका अनेकौं पूर्वधारणाले भरिएको हुन्छ । उसलाई त्यो महिला त्यसरी आफैं अघि सरेर बोलेको मन नपर्दा नपर्दै पनि दुवैबीच आफ्नो कथा भन्ने र सुन्ने काम हुन्छ । कथा त्यसरी नै सकिन्छ, जसरी यात्रुहरू आ–आफ्नो गन्तव्यमा ओर्लिएपछि यात्रा सकिन्छ । तर, यात्रा सकिएपनि यात्राका क्रममा जोडिएका सम्बन्ध नसकिने रहेछ । ‘म आए !’ त्यही सम्बन्धको कथा हो ।
मैले सोचेको थिएँ, उसले तुरुन्तै हुन्छ भन्छे ।
‘म यहाँ आइराख्छु । मीठो चिया पिउने टन्नै ठाउँ था’छ ।’ ऊ मतिर नहेरी बोली । ऊ कपाल बाँध्ने कुरा नपाएर यताउता हेर्दै थिई । मसँग बोल्दा उसको देब्रेहात कपालमा थियो र दाहिने हातले ब्याग खोतल्दै थिई ।
Himal Khabar
म एकछिन के भनूँ भनूँ भएँ । तुरुन्तै हिंडिहाल्न सकिनँ । उसले रबर खोजेको हेरिरहें । गाडीमा छुट्यो होला भनेर उसले अघि बस रोकेतिर हेरी तर बस अघिको ठाउँमा थिएन । शायद पार्किङ गर्न कतै लगिसकेका थिए । आखिरमा उसले तल भुइँमा प्लाष्टिकको डोरीको टुक्रा देखी । थपक्क टिपी र त्यसैले कपाल बाँधेर बल्ल मेरो अनुहारमा हेरी ।

‘अहिले त निकै थाकेको छु । होटल गएर एक निद्रा सुत्छु । बरु साँझमा तपाईंको के कार्यक्रम छ ?’ उसले सानो झोला काँधमा भिरी र लुगा राख्ने झोला दाहिने हातले उठाई ।

एक त उसले मेरो चिया खाने प्रस्ताव अस्वीकार गरेकी उसमाथि साँझमा भेट्ने कुरा गरी । मलाई भाउन्न भएर आयो । जिन्दगीमा पहिलो पल्ट मैले कुनै महिलालाई चिया पिउन प्रस्ताव गरेको थिएँ । त्यसका लागि मलाई कत्रो बल परेको थियो, उसले के जानोस् । त्यतिखेर मेरो मुटुको गति कुनै डाक्टरले नाप्थे भने सोझै अस्पताल भर्ना गरिदिन्थे होला । अर्को साँझमा भेट्ने कुराले त मेरो खुट्टै कामे ! कस्ती आइमाई मान्छे होली, भर्खरै चिनजानको मान्छेलाई लाजै नमानी साँझमा भेट्ने कुरो गर्छे ! मैले आजसम्म कोही महिलालाई साँझमा त के दिउँसै पनि एक्लै भेटेको थिइनँ ।

‘साँझमा त मैले आइमाई मान्छे भेट्ने गरेको छैन ।’ मेरो मुखबाट मनमै भएको कुरा निस्कियो । थप उसले के भन्ली भनेर मैले तनाव लिनु परेन किनकि अफिसमा पहिल्यैदेखिका चिनजान अनिलजी आफैं लिन आएका रहेछन् । उनी हात हल्लाउँदै मतिर आए । उनले मलाई बचाए ।

होटलमा गएर फ्रेस भएपछि एक झप्को सुतें । मलाई आफैंसँग लाज लागिरहेको थियो । मलाई किन जान्ने भएर चिया खाउँ भन्नु परेको होला ! ऊ आफ्नो बाटो लागिसकेकै थिई, म पनि खुरुखुरु आफ्नो बाटो लागेको भए के हुन्थ्यो । आखिरमा मेरो ऊसँग फेरि कहाँ भेट हुन्थ्यो र ! फेरि यही दिनदिनै भेट हुने मान्छे होइन, एकचोटि भेट भो सकियो भनेर आफूलाई सम्झाएँ ।

आफूलाई सम्झाउनमा म खग्गु भइसकेको छु । मनु गइसकेपछि मलाई सम्झाउने मै त हुँ । त्यसो त मनु हुँदाहुँदै पनि उसले सम्झाउँदा मैले कहाँ सम्झिएको थिएँ र ! काकाले जग्गाको साँध मिच्दा मनुले मुद्दा हाल्न सम्झाएकी हो, मैले कहाँ माने ! मुद्दा पनि हालिन तर काकासँग सारै खुन्खुनिएँ । त्यतिखेर पनि उसले भयो अब मनमा धेरै तीतो नराख्नु भन्दा मैले मानें ? मानिनँ । त्यसैले म वर्षौंदेखि आफैंले आफैंलाई सम्झाउन बानी परेको छु ।

जेठका लामा दिनहरूमा ६ बजेसम्म कोठामा घाम आइरहेको थियो । कुनै दाताको संयोजनमा कार्यक्रम भएकाले सौराहाको राम्रै होटलमा व्यवस्था थियो । चारैतिरबाट उज्यालो आउने कोठा देख्ता पनि काठमाडौंमा वर्षौं बसेको मान्छेलाई अत्यास लाग्ने रहेछ । सुतेर उठेपछि नुहाइधुवाइ गरें । एसीले गर्दा भित्र त शीतल नै भएको थियो, बाहिर भने घामको चहकले कोठाको बाल्कोनीमा समेत निस्कने आँट आएको थिएन ।

टीभी खोल्दा मभन्दा अघिल्लो मान्छेले एमटीभी हेरेर छोडेको रहेछ । अंग्रेजी गीत बज्दै थियो । कुन गीत, कसले गाएको गीत मैले केही टिप्न सकिनँ । कान्छी छोरी अदिमाको सम्झना भयो । मलाई घरमा हुँदा ऊ कानमा इयरफोन भिरेर अंग्रेजी गीत गुन्गुनाउँदै डेरामा यता र उता गर्थी । बडो बिस्तारो ! भरसक मैले नसुनुँ भनेजस्तो गरेर । म घरमा नहुँदा भने उसको फूल भोल्यूम चालु हुन्थ्यो । कहिले कहिले ऊ ढोका खोल्न हतारिएर आउँथी र गीत बन्द गर्न बिर्सन्थी । अनि जसै ढोका खोली कि दौड्दै गीत बन्द गर्न पुग्थी ।

पहिला त च्यानल बन्द गरौं कि जस्तो लाग्यो तर छोरीलाई सम्झिएरै मैले भोल्यूम बढाएँ । विचित्रको अनुभव भयो । यसरी एक्लै बस्ता मैले उसलाई, उसका चाहलाई कहिल्यै सम्झिएको थिइनँ । आजभोलि भाइबरमा कुरा हुँदा ऊ सन्चो बिसन्चो सोध्छे । बाँकी खासै बोल्दिनँ । नाति छ चार वर्षको । ऊ के के सुनाउँछ । ज्वाइँसँग कुरा हुन्छ । अदिमा खुल्दिनँ । म नै पनि कहाँ खुल्छु र ! कतिचोटि अदिमाका आँखा तल कालो भएको हुन्छ । कति घन्टा काम गर्छे कुन्नि !

‘ए नानी सुत्दिनस् कि क्या हो ?’ खै सोधेको मैले ! उफ्, यस्ता कुराको बारेमा मैले यही आइमाई मान्छे भेटेपछि सोच्न थालें । झ्याप्प टिभी बन्द गरें र झ्याल बाहिर ध्यान लगें । ठ्याक्कै अगाडिको कटेजबाट अनिलजी मेरै कटेजतिर आउँदै रहेछन् । हतार–हतार मैले सर्ट लगाएँ । उनले साँझमा बाहिर जाउँला है भनेका थिए । उनले भनेका बेला त मलाई पटक्कै निस्कन मन थिएन तर यतिखेर मलाई कतै नगई भएको थिएन । आफ्नै सोचको भारले मेरो छाती यामानको ढुंगा राखेजस्तो भएको थियो ।