यो पावन घडीमा
मेरो गर्धन छिनाएर मेरै हातमा बोकेकी छु आफ्नै टाउको
मेरो शरीरको गिंड दरबारको मूलद्वारमा राखेर
तपाइँको राज्यद्वारमा चढाएकी छु योनिको तातो खुन ।
चक्रवर्ती महाराज !
यो आधा लाश तपाइँको प्रताप हेर्न लडेको छ
उठाउनुस् ! तपाइँको अनुहार टल्किने नयाँ तरबार
तपाइँको कुमबाट हाम्फाल्न आएको मेरो शरीरको गिंडलाई
पारिदिनुस् निर्वस्त्र या, टुक्र्याइदिनुस् अझै !
यो एउटी स्वास्नीमान्छेको लाश हो !
जसको गुप्ताङ्गमा शासकका अनुहारको दाग छन्
जसका छातीमा कुनै पहलमानका काँतर दाँतले टोकेका घाउ छन्
तपाइँको दरबारका आँखाले बलात्कारको चित्कार पनि देखेका छन्।
मैले मेरै शिर हातमा बोकेर भागेकी थिएँ तपाइँको राज्यबाट
म भागेकी थिएँ तपाइँको वैभवता र प्रसिद्धिबाट
आज एउटा हुण्डरी बोकेर फर्किएकी छु ।
महाराज त्यो लाशको कपडा उतार्नुस्
देखिने छ तपाइँको इज्जतको रंग
उधिनिनेछ तपाइँको प्रसिद्धि पोशाक !
पानीमा डुबेर निस्किएको मुसो झैं किन काम्नुभएको ?
डुब्न लागेको घाम झैं किन रातोरातो हुनुभएको ?
तपाइँको प्रतापी तरबारले गिडिएको
म त एउटा लाश न हुँ
तपाइँको प्रसिद्धिकुण्डबाट जल्दाजल्दै भागेको
शरीर विनाको शिर न हुँ
जो तपाइँले भकुण्डो ठानेर लात्ती हानिरहनुभयो
जो तपाइँले तातो आलु सम्झेर नूनखुर्सानीसँग खाइरहनुभयो ।
ए चक्रवर्ती महाराज ! फेरि सम्झाउँछु
मेरो शरीरको गिंड तपाइँको दरबार अगाडि लडिरहेको छ !
मेरो शिर मेरै हातमा बोकेर
तपाइँको सिंहासन अगाडि फेरि आइपुगेकी छु ।
यो शिर मेरो शरीरमा जोडिदिनुहुन्छ कि
गर्धनबाट चुँडाएर तपाइँको शिर
अर्को हातमा बोकेर हिंडूँ ?