कथा

पल्लो क्याबिन

Himal Khabar
राजेन्द्र पराजुली
Himal Khabar
पल्लो क्याबिनमा बिस्तारै एउटा छायाँ प्रवेश गर्‍यो । छायाँ स्त्रीदेहको थियो । छायाँ समुद्रसरी लहरिंदै अघि बढिरहेको थियो । पानीको लहरजस्तै हिंडाइ पनि लयमा थिएन । पाइला असन्तुलित देखिन्थे ।
Himal Khabar साँझ पातलै थियो, रमरमखालको । त्यो रमरममा क्याबिनमा लगिएको बिरामी कुनै महिला हुन् भन्ने चिन्न गाह्रो थिएन । उनको लामो तर असरल्ल कपालका कारण मैले थाहा पाइहालें, उनी महिला हुन् भन्ने ।

त्यहाँ आइसोलेसनका लागि २० वटा क्याबिन बनाइएको थियो, सरकारी विद्यालयको चौरमा । क्याबिनमा लगिएकी ती महिला अन्तिम बिरामी थिइन्, त्यहाँको । म उन्नाइसौं नम्बरमा परेको थिएँ । मेरो क्याबिन १९, तिनको २० नम्बर ।
आइसोलेसन क्याबिनमा बस्दा अपनाउनुपर्ने विधि, पानीको भाँडो, औषधिलगायतका विषय र अन्य सामानका बारेमा जानकारी दिइरहेकी थिइन् नर्स । त्यस्तै जानकारी मलाई पनि तिनै नर्सले दिएकी थिइन्, सात दिनअघि ।

म आफ्नो क्याबिनसँगै जोडिएको अर्को क्याबिनमा प्रवेश गर्दै गरेकी ती बिरामी महिलालाई पातलो पर्दा हटाएर चियाउँदै हेर्न थालें । ओछ्यानमा सुत्दासुत्दा मेरो टाउको भारी भइरहेको थियो । ओछ्यान दिक्कलाग्दो स्थान बनेको थियो । शरीर जता छोए पनि दुख्ने भइसकेको थियो ।
‘कत्ति लामो कपाल ! ठ्याक्कै अरुपमाको जत्रै ! हाइट पनि त्यत्रै, पाँच फिट दुई इन्च ।’
मेरा मुटु एक पटक स्याइँय गर्‍यो । मुटुले सोचेको कुरा दिमागमा पुग्यो ।
दिमागले भन्यो, ‘कस्तो वाहियात कुरा सोचेको मुटु तिमीले ? अरुपमा त आफ्ना पति र एक सन्तानका साथ अमेरिकामै स्थायी बसोबास गर्न थालेको दश वर्ष भइसकेको छ ! यो अवधिमा उनी एक पटक पनि नेपाल फर्किएर आएकी छैनन् । उनले त आफ्नो एकजना मिल्ने साथीलाई यो जुनीमा नेपाल फर्कनै नपरोस् भनेकी थिइन् र त्यसको मुख्य कारण तिमी नै थियौ । अर्को कुरा प्रिय मुटु, अरुपमाले यो दुनियाँमा यदि कसैलाई घोर घृणा गर्छिन् भने त्यो तिमी नै हौ । यतिखेर अरुपमा यो आइसोलेसनमा कसरी ? असम्भव कुराको कल्पना किन गर्छौ मुटु !’

मलाई दिमागको कुरामा विश्वास लाग्यो । म चुपचाप क्याबिनभित्रको ओछ्यानमा पल्टिएँ । सिरानीमा राखिएको किताब छुनै मन लागेन । त्यसलाई पर सारिदिएँ । टाउको खुब दुखिरहन्छ, त्यसैले एउटा किताबको दुईचार पृष्ठ मात्रै पढेको छु । आइसोलेसनमा आउँदा मैले तीन वटा किताब बोकेको थिएँ । दुई वटालाई त मैले स्पर्श पनि गरेको छैन ।