कविता
सिरियस छुल्याहा
सुदीप पाख्रिन
कहिलेकाहीं त्यसै उपद्रो
गर्न मन लाग्छ......
जस्तो कि......
सयौं चोटि हेरिसकेको
पुरानो अल्बम फेरि खोलेर हेर्नु,
नीलो आकाशमा रातो चङ्गा उडाउनु
र, बित्थैमा ‘लुखुरी–लुखुरी’ कराउनु,
चुँडिएको चङ्गापछि अन्धाधुन्द दौडनु,
बिर्सनै नसकिएको सुनसान
चाउरी पर्न आँटिसकेको त्यही गल्ली फेरि–फेरि जानु,
कागजको नाउसँगसँगै
बर्खे खोलाको किनारै–किनार दौडनु,
काभ्राको हाँगा चढी चराहरुले जसरी बिष्ट्याउनु
र, मस्त दुनियाँ बिर्सिएर हाँस्नु,
तेलकासा, आसपास, लठ्ठी सुँघ्ने खेल्नु
र, आफै खेल बनिनु,
हजुरआमाको काखमा लडीबुडी गर्नु, कथा सुन्नु
र, आफै कथा बनिनु,
जोकको पात्रमा साथीहरुलाई राख्नु
र, आफै पात्र बनिनु, आल्हादित हुनु,
‘ननसेन्स’ गल्तीहरु बारम्बार गर्नु,
अचम्मै छ !
राजनीतिले समयलाई नै ननसेन्स बनाएको यो समयमायति ‘सिरियस’ छुल्याहा कसरी हुनसकेको हुँला म ?
कहिलेकाहीं त्यसै..........