युगौंदेखि अन्तिम किनारमा उभिएको
भोको नाङ्गो मानिसले पनि
सुन्दथ्यो त्यो अचाक्ली प्रशंसित आवाज
(ओभर रेटेड ? ‘वा ! वा ! वा !’ यस्तो पो अवाज !)
थाहा थिएन उसलाई–
त्यो आवाज
सबैभन्दा अग्लो कुर्चीका
चारै खुट्टाबाट चुहिएर लगातार
ध्वनित भइरहेथ्यो चारैदिशा ।
कान छाम्छ
घरी देब्रे कानबाट दाहिने कान
घरी दाहिने कानबाट देब्रे कान
पटकपटक वारपार भएको हो उसका कानहरूबाट
धर्मको झीर
कानूनको झीर
मत्स्यन्यायको झीर ।
तैपनि नष्ट भएन उसको कान
सुन्दथ्यो–चट्याङलाई चट्याङ
नदीको गर्जनलाई गर्जन
चराको गीतलाई गीत ।
उसका कानले तर
ठीकठाक सुन्न सकेन त्यो आवाजलाई
त्यो आवाज समृद्घिको लोरी गाउँथ्यो
ऊ गरीबी सुन्दथ्यो !
त्यो आवाज विकासको नारा लाउँथ्यो
ऊ विनाश सुन्दथ्यो !
त्यो आवाज समानताको कुरा गर्थ्यो
ऊ शोषण सुन्दथ्यो !
इन्फ्रासोनिक बनेर त्यो आवाज
कहिले दुःखको बतासमा हराउँथ्यो
कहिले अल्ट्रासोनिक भएर
अपमानले रन्फनिएको मगजमा ठोक्किन्थ्यो ।
कान छाम्छ–
छातीमा उर्लिरहेको मुक्ति नदीको गीत उस्तै छ
मुटुको धड्कन उस्तै छ ।
केही छैन त
मृत्यु शोकमा ठट्टाको रसरङ्ग जस्तो त्यो आवाज छैन
सर्कसको बहुरुपिया जोकर जस्तो त्यो आवाज छैन ।
युगौंदेखि अन्तिम किनारमा उभिएको
भोको नाङ्गो मानिसलाई थाहा छैन–
त्यो आवाज
माइतीघरको वरिपरि
बिजुलीका पोलहरूमा झुण्डिएर उहिल्यै
महाप्रस्थानमा हिंडिसक्यो ।