कुनै एक बिहान
आदिम बाटो भएर
कुमारी घामको किरणको नजर
‘रुङ्चेङ्ला’ (मालिङगो)का टुसाहरूमाथि
चम्किएका मोती दानाका दृश्यलाई
बोकौं लुकाएर थैलीमा ?
चुचुराका
पोथ्रा–पोथ्रीहरूमा चिसो हावा ठोक्किएर
तप्प–तप्त चुहिएका इतिहासका आँसुहरू
थर्थरी काम्दै फलाकिएका मुन्दुमी रिसियाहरू
पुराना बाटाहरूमा लस्करै जन्ती हिंडेजस्तो
संग्रहालय जस्तो दुर्गम वस्तीहरू
हटिया भर्न जानेहरू
भीडैभीड खाएर
विना सौदा घर फर्के जस्तो
पेन्सिलको फिक्का चित्रहरू झैं लाग्ने
पुरातीत् सम्झनाहरू
रुङ्चेङ्लाले बनाएको कटेरा भित्र
नानीहरूका पाइतालाको डोवहरू
कैंडा लाडेका एक हूल भविष्यहरू
अनुहारमा इतिहास पढ्न सकिने
युगको साक्षी एक बुढा
कुकुरडाइनोको लौरो टेकेर
पर्यटक जस्तो आफ्नै आँगनमा
कुनै साँझ वर्षौंपछि आइपुग्छ
चाउरिएको अनुहारमा खस्छ
मधुरो प्रकाश चन्द्रमाको
एउटा चौताराको मुहार जस्तो
एउटा शिलालेख भेटिए जस्तो
एउटा युग गनगनिंदै हिंडेजस्तो
एउटा युगको भाषा
जस्तै फूलका रंगहरू
जस्तै डोजरले भत्काइदिएको चौताराको मुहार
पाखाभरि बज्न छाडेको बाँसुरी धुन
कहाँ हो ! कहाँ पुर्देका लिपिहरू
हँहह् ! हँहह् ! हँहह् ! उदास आवरण
बाँकी सबै कता हो, कता हरायो
नभनेर कसैलाई कता हो, कता पुग्यो
उभिएको माटोमा खै हाम्रो आधारहरू ?
खोइ ! हाम्रो साँचो इतिहासहरू ?
यो गइजाने समयमा
हामी किन आफू–आफैं जाम परिरह्यौं ?