प्रत्येक बिहान
मेरो घरको छानामा
दुई घाम उदाउँछन्
पहिलो
बिहानै अलराम बनेर आउँछ
समयका दाँतलाई ब्रस गर्छ
कोरोना समयमा पनि
मर्निङवाक्तिर अल्मलिन्छ
मन नलागी नलागी
सिंहदरबारको ढोका चियाउँछ
दोस्रो
तिमी गएको बाटो पछ्याउँदै पछ्याउँदै हिंड्छ
उमङ्गको हावा बनेर उड्छ
डढेलो लागेर धुवाँ धुवाँ छ
तर
पानी पानीले भिजेको महसूस गर्छ
चिमाल फुलेको पहाड हुँदै पश्चिम क्षितिज पुग्छ
यसरी नै
मेरो बार्दलीमा
दुई चराहरू उडेर आउँछन्
एउटा
जो सुगा जस्तो छ
मलाई “गोपी कृष्ण कहुँ” को लयमा
अरूको भाषा बोल्न सिकाउँछ
पिंजडालाई आफ्नो सर्वस्व भन्न सिकाउँछ
अर्को
परेवा जस्तो छ
कहिले शब्दको बार्दली
कहिले झ्याल
कहिले ढोका बनाउँदै
थोरै भए पनि आफ्नै भाषा बोल्न सिकाउँछ
बिहानदेखि बेलुकीसम्म
प्रेमको पदचाप हिंड्न सिकाउँछ
रातमा भने
मेरो आँगनमा
केवल एक तारा उदाउँछ
जसलाई म हेरी हेरी कल्पनामा रमाउँछु
जहाँ सारा सपना र विपनाहरू जोडिन्छ
तिमी र म,
हामी बने जस्तै
आँखा र आँसु जोडिएर मोती बने जस्तै
मसी र कागजको मिलन कविता बने जस्तै
हो,
म तारा झुल्किएको बार्दलीमा
रातभर, रातभर जागा बस्न चाहन्छु
आकाश नुहेको दिगन्त फैलावटलाई
मेरा कलमका निबहरूमा अटाउन चाहन्छु ।