निगुरो जस्तो कुर्लुङ्गे कपाल, सावलो अनुहार, ठिक्कको नाक, खजमजिएका दाह्रीजुंगा, लामोे घाँटी, छाला छेडेर निस्केला जस्तो कुहिनाको हड्डी । गर्दन ह्वाङ्ङ देखिने गरी गोलो गलावाला रातो टी–सर्ट, छातीपट्टि चे को इम्ब्रोइडरी फोटो । घाँटीमा बेरिएको गुलावी रंगको पछ्यौरा, मयलले कट्कटिएको जिन्स प्यान्ट । खुट्टामा औंला निस्कन थालेको पुरानो जुत्ता । दाहिने हातमा उल्टो फर्काएर लाएको मेटलको घडी ।
सधैंकै हुलिया बोकेर ऊ डाँडातिर उक्लियो । चुरोट र गुट्खा बेच्ने डालो पसल्नीले यसो टिकटिके मोबाइल थिचिन्, तीन बजेको थियो । उसको घडी पनि चल्छ भने त्यही समय बताएको हुनुपर्छ ।
संयोग, दुई वर्षदेखि ऊ यस्तै समयमा यहाँ आइपुग्छ । कसैसँग बोल्दैन । वनकालीको जंगल खुट्टा खोच्याउँदै उक्लिन्छ । सधैं एउटै समयमा किन ? कसलाई भेट्न जान्छ ऊ ? किन जान्छ ? के छ त्यहाँ ? ऊ अर्थात् भीष्म विश्वकर्मा ! थिति विरुद्ध कुनै सशस्त्र क्रान्तिको तयारी त भइरहेको छैन ? यतिबेला उसँग त्यो मेशिनगन भएको भए... यो खबर शहरले थाहा पाइसक्थ्यो । उसको रुटिन लाइफ हट न्यूज बनिसक्थ्यो । तर अहिले ऊ समाचारभन्दा बाहिर थियो ।
जिन्सको मैलो पाइन्टलाई नोटिस गर्नुको अर्थ ठान्दैन शहर । बस् ऊ लाइनमा बस्छ, कागजको प्लेटबाट पोखिंदै गरेको मटरको झोल र पुरी खान्छ, उकालिन्छ वनकाली । त्यो ठूलो मसलाको रूख उसको गन्तव्य । यसमा अडेसा लागेर बस्छ, खल्तीबाट झण्डै रंग हराइसकेको लाइटर झिक्छ । अपरिचितले दिएको चुरोटको ठूटो सल्काउँछ । ओठबाट छुटेको धुवाँको सर्को हावामा विलीन हुन्छ । भनौं, तल वागमतीको किनाराबाट उठेको धुवाँको मुस्लोमा मिसिन्छ । धुवाँको कोलाजसँगै आँखामा ती छोडिजानेहरूको चित्र आउन थाल्छ ।
‘हन अई ! कहाँबाट चुरोट भेटिस् नि तैंले ? यही खान पो ल्याको ?’ भीष्म छक्क पर्यो ।
‘हो ता खाएर हेर ना, कति मज्जा आउँछा, मोइले ता अहिलेसम्म ७ पल्ट खाइसाक्यो होला’, उसले फेरि धुवाँ उडायो । हेर्दाहेर्दै चुरोट आधा हुन थाल्यो । भीष्मले पनि मौका उम्कन दिएन । सन्तको ओठबाट चुरोट थुत्यो र तान्न थाल्यो ।
‘मुला, तेरो बुद्धि छैना, आर्काले तान्दै गारेको धुवाँ खोस्छा, मो दि हाल्छा नि’, चुरोट थुतेकोमा अलिक रिसाउन खोज्यो सन्ते । एक सर्को तान्यो, धुवाँ असल्जिएर हुरुक्क भयो भीष्म । सन्तेले गाली गर्दै चुरोट ठीक ढंगले तान्न सिकायो । दुवैले दुई खिली चुरोट तानेर फर्किए स्कूल । उनीहरू बल्गम चपाउँदै कक्षामा पुगेका थिए ।
झण्डै बीस वर्षपछि सन्तेलाई सम्झ्यो । कहाँ होला ? कतारमै भेडा चराउँदै छ कि ? पैसा कमाएर फक्र्यो होला ? कि उतै भेडीगोठमा बन्धक बसेको छ ? कि फर्किसक्यो बाकसमा ? हैन, त्यो जब्बर ठिटो मर्न सक्दैन यति चाँडै । फर्केर ठेकेदार पो भएको छ कि कुनै डोजर कम्पनीको ? सन्तेलाई भेट्ने औडाहा जाग्यो मनमा । तर कुनै सम्पर्क थिएन । आफैं बेखबर उसले सन्तेको अवस्थाबारे ठीक अन्दाज गर्न सकेन ।
चे ग्वेभाराले मारिनु अघि मौका पाएको भए एक सर्को धुवाँ उडाए हुन् सिगारको । त्यो धुवाँ आजसम्म पनि यही वायुमण्डलमा मिसिएर उडिरहेको हुँदो हो । यो घाटबाट उठेको धुवाँ पनि माथि उचालिंदैछ । आकाशको क्यान्भासमा फैलिंदो छ अमूर्त चित्र जसरी । फरक फरक चिताबाट उठेको धुवाँ मिसिन्छन् एकैठाउँ । लहरिंदै आकाशिन्छन् । अचम्म, बाचुन्जेल अस्तित्वको फरक दाबी गर्नेहरूको हालत खराब । फरक फरक भूगोलमा जन्मेका । भिन्न नाम र पहिचान । छुत र अछूत । गोरो र कालो । गरीब र धनी । योनी र लिंग । शासक र शासित, मथिंगल फरक ।
आखिर जल्दै गएका चिताबाट एक एक मथिंगल धुवाँ हुँदैछ र मिसिंदैछ शून्यतामा । चन्दनको काठमाथि जल्दै गरेको शासक र करमको चितामा सल्किरहेको उसकी आमाको शरीर खरानी र धुवाँ हुँदै थिए । जम्मै ‘हाइरार्की’ चिताभन्दा अघिसम्मको न हो । धुवाँ भएपछि मिसियो मर्नेहरूको अस्तित्व । घाटबाट फर्कनेहरू फेरि ‘हाइरार्की’ बोकेरै फर्कन्छन् । जसरी ऊ रित्तो छाती लिएर पुरानै लुगामा वनकाली उक्लिएथ्यो । पूर्व प्रशासक बाबुको सद्गत् गरेर माननीय मन्त्री रुद्रप्रसादले सेतो पहिरन फेरे । सयौं मलामीले घेरिए र सबैलाई धन्यवाद दिंदै सहानुभूतिका माला भिरेर गाडीमै फर्किए ।
‘आखिर आमाको चिताको धुवाँ र रुद्रप्रसादको बाबुको चिताको धुवाँ मेरो शरीरमा पनि पस्यो । रुद्रप्रसादको फोक्सोमा पनि । एउटै हावा लिएर फरक हैसियतमा फरक गन्तव्यमा हिंड्यौं हामी ।’ भीष्मको मथिंगल भने फन्को मारिरहन्छ । हो त, चेले अन्तिमपल्ट फालेको सिगारको धुवाँ यही वायुमण्डल हुनुपर्छ । बतासको त्यही सर्कलमा ऊ पनि थियो र झण्डा बोक्नु जोस आएथ्यो । सुर्के झोलाको भित्री गोजीमा राहदानी लुकाएर उडे दौंतरीहरू मुग्लान । ऊ झण्डा बोकेर जंगल पसेथ्यो ।
‘भगौडा मुलाहरू मलेशियाबाट फर्किने फेरि यही गाउँ हो । देशबाट भागेर खूब कमाउन गका । भागेर हुन्छ ? देश बनाउनु पर्छ देश । म यही छु, तिनीहरू फर्किंदा यो गाउँ अर्कै बनाउँछु । बुझ्यौ ?’ सोभारा खोलामा छुट्टिने बेलामा उसले केटाहरूलाई भनेथ्यो ।
‘नापिस् मुला । गरिपले जति उफ्रे नि भुईंको ढुंगो भुईंमै हुन्छ हेर एक दिन’, मिलन बम्जनले फ्याट्ट भन्यो ।
‘बनाइस् देश, हेरम्ला । हिंड् जुङ् हामीसँगै भनेको मानेनास् । दुई चार पाइसा कामाइस् भने मात्तै आम्मा बोउलाई यसो सुखा देलास् । यो बाटोले काहाँ पुग्लास् खै भीष्मे, तोइले दुःखाको बाटो रोज्यो लु ।’ अलिकति चिन्ता अलिकति व्यङ्ग्य गर्दै बोल्यो सन्ते पनि ।
होमे, हरिकृष्णे र देविन्द्रेले ओंठ लेबारे ।
‘लु राम्रो बस्, ज्यानको ख्याल गर, त्यो बुढी आमाको विजोक चै नपार्नु’, उसलाई अर्ति दिंदै नेटो काटे केटाहरूले । जे भए नि मन मिल्ने साथीहरूले छोडिगए, नरमाइलो लाग्यो । मगरगाउँतिर लाग्दा सोच्यो, गल्ती पो गरें कि यो बाटो हिंडेर । तर, अर्को मनले भन्यो हैट ! यसरी बहकिएर हुन्छ देश र जनताका लागि हिंड्ने मान्छेले ? आफैंलाई थुम्थुम्याउँदै उकालो लागेथ्यो ।
जनमुक्ति सेनामा भर्ती हुँदा ऊ जम्मा नौ कक्षामा पढ्थ्यो । गाउँकै देवविक्रम सर र नाम्बे लिम्बू काकाले भनेपछि ऊ किताब खोल्मामा लुकाएर हिंडेको थियो । आमाले तीन दिन बनी गरेर किनिदिएको हिरो कलम चाहिं गोजीमै भिरेर हिंडेथ्यो । उसो त ऊ यसै हावा तालमा हिंडेको थिएन । उसले आफूलाई बन्दूक बोक्नु ठीक भन्ने कुरामा कन्भिन्स भएरै हिंडेको थियो ।
‘राम्रो हुन्छ भन्ने के गेरेन्टी छ ?’ घर छोड्ने अन्तिम विचार लिनु अघि देवविक्रम सरलाई सोधेथ्यो ।
‘सधैं चुहिने घरको छानो फेरिन्छ । आमाले सुख पाउँछिन् र गाउँका अरूले पनि । नत्र सधैं त्यही ट्यांकी मुतुवा अध्यक्षको हालिमुहाली चल्छ ।’
‘अर्को ट्यांकी मुतुवा नआउला भन्ने के छ ?’ प्रश्नमाथि प्रश्न गर्यो । ‘त्यही टुंगो गर्न हामी हिंडेका हौं । तिमीहरूको नामको छात्रवृत्ति स्कूलको हेडमास्टरले खान्छ । हाम्रो नाममा आको दबै त्यो अहेबले बेचिखान्छ । तिम्री आमाको नाकको ढुंग्री र बाउले भातखाने गैस्सेरी थाल त्यो महाजनले पचाउँछ ।’
सरले बोलिनसक्दै फेरि सोध्यो, ‘आमाको ढुंग्री र बाउको थाल अझै फिर्ता आउला र ? आमाले त पचिसक्यो भन्थिन् !’
‘हामी बन्दूक बोकेर लड्यौं भने चाँडै नै राम्रो दिन आउँछ । ती महाजनहरूलाई ठीक पार्न त हामी हिंडेका ।’ नाम्बे काकाले त्यति थपेपछि ऊ जनयुद्धमा हिंड्न तयार भएथ्यो । घर छोडेको रात अँध्यारोमा घरी आमा सम्झेर सुँक्सुकाउँदै, घरी बन्दूक बोक्ने कुराले रोमाञ्चित हुँदै ऊ अज्ञात यात्रामा हिंडिरह्यो । मुख्य कुरा ढुंग्री र बाउको थाल थियो । ऊ सेनामै भर्ती भयो । जनमुक्ति सेनाको पोशाक लाएर प्रायः रातभरि हिंड्नु, मध्य जंगलमा तालिम गर्नु, अधकल्चे भात खाएर दौडिनु, कहिले उत्साह, कहिले त्रासले भागदौड गर्नु । उसलाई साँच्चै आउँछ नयाँ बिहान भन्नेमा विश्वास हुँदै गयो । सुदूरपश्चिमबाट उठेको युद्धको उभार पूर्वमा आइपुगेको थियो । उनीहरू कहिले धनकुटाको जंगल पुग्थे, कहिले मिक्लाजुङ पहाड उक्लिन्थे । कहिले रातारात तमोर तरेर तेह्रथुम पुग्थे ।
उनीहरू गाउँ पस्थे । कहीं जनताले भतेर पकाएरै खुवाउँथे । कहीं धम्क्याएरै खाना बनाउन लगाउँथे । जंगलमा तालिम गर्दाभन्दा भीष्मलाई गाउँ पस्दा रमाइलो लाग्थ्यो । शुरूको वर्ष उसको मनमा युद्धप्रति जिम्मेवारी, डर भन्दा बेसी रोमाञ्चकता थियो ।
जीवनमा चप्पल मात्रै लगाएको भीष्मले जनमुक्ति सेनामा भर्ती भएपछि नै पहिलोपल्ट नयाँ गोल्डस्टार जुत्ता पाएको थियो । जुत्ता पाएको दिन नै लागेथ्यो, हो त अब सुदिन आउने रहेछ । उसले अरूले नदेख्ने गरी निकैबेर जुत्तालाई सुम्सुम्याएथ्यो । नाकैसम्म लगेर सुँघेथ्यो, कस्तो मगमग नयाँ जुत्ताको वासना । घरमास्तिर फुल्ने चमेलीभन्दा मीठो सुवास । जुत्ता लगाएपछि खुट्टा नै कस्तो हलुका जस्तो, त्यसै उडँुउडुँ जस्तो । मन उडेर घर पुग्यो । कठै ! बाले यस्तो जुत्ता देख्न पा’का भए...। जुनीभरि आरानमा भाटी तानेर विष्टवानको सेवा गरे । के पाए, अपजस ? ‘डाङ्री, ठीकसँगले धार लाउन आउन छोड्यो अब तँलाई ? किन तेरो मति बिगँ्रदैछ हँ ? होस राखेर काम गर्, नत्र गाउँ छोड्नु पर्ला ।’ छुत महाजनहरू यसरी धम्क्याउँथे बुढा बाउलाई ।
‘सकेसम्म त इमानले काम गर्दैछु हजुर । माफ पाउँ ।’ उनका बाउ प्रायः यसैगरी माफी माग्दै घन ठोकिरहेका हुन्थे । वर्षभरि घन ठोकेबापत बुढा कामीले दशैंमा केही पाथी धान, शिकारको केही सिसार पाउँथे । त्यही पनि फूलपाती र अष्टमीमा घरघरै गएर हतियार सान लाउनुपर्ने, अनि बल्ल पाउँथे । बाउ र काकाहरू घर फर्किंदा जाँड–रक्सीले झुल भएर आइपुग्थे । साँझ गाउँभरिबाट बोतलमा रक्सी, मासु, टपरीका टपरी चिउरा बटुलेर एक कुम्लो बोकेर ल्याउँथे । कुम्लो देखेर आमाको अनुहार पनि उज्यालो हुन्थ्यो । आमाले बाँडेका मासुका चोक्टा हारालुछ गर्दै खान्थे उनीहरू । वर्ष दिनमा त्यही बेला उनीहरूले पेटभरि मासुसँग भात खान पाउँथे । भीष्मलाई लाग्थ्यो, दशैं सधैं आइरहोस् ।
उसलाई राम्रो नाँच्न आउँथ्यो । सांस्कृतिक टोलीका कमरेडहरूसँग उसको हार्दिकता राम्रो हुन्थ्यो । उनीहरूसँग मिलेर नाच्थ्यो पनि । रातो झण्डा बोकेर कम्ब्याट डे«स लगाएका कमरेडहरू नाच्दा उसलाई एक युद्ध यसै जितिन्छ जस्तो लाग्थ्यो । युद्धकै मोर्चामा उसले बाँसुरी बजाउन सिक्यो । किताब पढ्न थाल्यो । ऊ एउटा लहडी भीष्म रहेन । ऊ अब कमरेड मेघ भइसकेको थियो । परिवर्तनका लागि युद्ध जरूरी थियो, ऊ आफू हिंडेको बाटोप्रति विश्वस्त भइसकेको थियो । अब विजय नजिक छ, बलिदान हुन तयार होऊँ, कमाण्डरको आदेश हुन्थ्यो । उसो त घर छोडेको पल नै बलिदानका लागि हिंडेका थिए उनीहरू ।
भीष्म उर्फ कमरेड मेघ घर जान नपाएको झण्डै एक वर्ष भइसकेको थियो । आमाबुबाको के अवस्था होला, चिन्ता लाग्थ्यो । तर, युद्धभूमिमा चिन्ता गरेर बस्न छुट थिएन । सेना गाउँ पस्यो, खबर आइरहन्थ्यो । मन झस्किन्थ्यो आमाबुबा, भाइबहिनी सम्झेर । एकसाँझ क्याम्पमा खबर आयो, सेनाले आरानमै बुढा कामीलाई मा¥यो । छोरा माओवादीमा पठाएको आरोपमा त्यसअघि नै पटकपटक उसलाई प्रशासनले सास्ती दिएको खबर उसले नपाएको हैन । तर, ऊ अब लडाइँको मोर्चाबाट फिर्ता हुन त संभव थिएन । उसलाई चिच्याएर रुन मन लाग्यो, तर क्रान्तिको योद्धालाई त्यो सुहाउँदैनथ्यो । बाउ त मरे, गैस्सेरी थालको अब के अर्थ ? रननन्न ! थालको आवाजले महाजनको भण्डार घरबाटै जिस्क्याए झैं लाग्यो उसलाई । तर अब उसको सपना सारा गरीबको मुक्तिका लागि जोडिइसकेको थियो । आँखाबाट खसेको आँसुले कम्ब्याट भिज्यो । फेरि एकपल्ट उसले गोल्डस्टार जुत्ता सुम्सुम्यायो । केही थोपा आँसु जुत्तामै खस्यो र विलायो । बुबालाई क्याम्पमै श्रद्धाञ्जली दिए ।
ऊ युद्ध मोर्चामा थियो, शोकमा झोक्राएर बस्ने समय थिएन । फेरि ऊ ड्युटीमा निस्कियो ।
‘रविको घटना थाहा पाउनुभो ?’ चिउरामा चाउचाउ मिसाउँदै क. नविनाले भनिन् ।
‘हजुर ? के घटना ? कही क्षति भयो र ?’ पिउँदै गरेको पानी पाखातिर थुक्छ ।
थकाइले चौतारोमा पल्टिरहेका अरू तीन जना लडाकू पनि जुरुक्क उठ्छन् ।
‘क. सीमा दुष्मनको फन्दामा पर्नु भयो । उहाँलाई...सामूहिक बलात्कार गरेर मारेछन् ।’
‘हो र ! कहिले ?’
‘तीन दिन अघि रे । क. सन्देशसँग विवाह भएको चार महीना मात्र भएको थियो । शायद विवाह पछि भेट भएको पनि थिएन होला उहाँहरूको’ नविनाले तल सुसाइरहेको तमोरतिर हेर्दै बोलिन् ।
मेघ निःशब्द भयो ।
‘बरु ड्याङङ छातीमा गोली दागेर मारे हुन्थ्यो नि ! नरपिचासहरू !’ तर यो अपराधको बदला अवश्य लिनेछौं,’ नविना मुर्मुरिई ।
समूहका सातै जना उठेर एक मिनेट मौन धारण गरे र क. सीमालाई श्रद्धाञ्जली दिए ।
नविनाले सबैलाई चिउरा र चाउचाउ बाँडी । सबै खान थाले । मेघले खाएन । नविनाले कर गरी । यो युद्ध हो, शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन कमरेड, खाजा खानुस्, नत्र समयमा मिसनमा पुगिंदैन’ नविनाले कर गरी । मेघको आँखाबाट खसेको आँसु चिउरामा मिसियो ।
त्यो विसौनीमा उसले नविनासँग धेरैपल्ट चिउरा र चाउचाउ खाएको थियो । उसको त्यही दृढता ज्यादा मन पथ्र्यो मेघलाई । भनुँ लागेर नभनेको केही थियो मेघको मनमा । संयोगले नविना र ऊ त्यो दिन सबभन्दा पछाडि हिंडिरहेका थिए । त्यही उकालो भरिमा प्रेम प्रस्ताव राख्ने सुरमा थियो ऊ । तमोरको हरियो गहिराई हेर्दै प्रेमको कसम खायो । युद्धमा जीवनको टुंगो छैन, तर प्रेमको टुंगो हुन्छ । जीवन रहेसम्म प्रेम गर्न युद्धले रोक्दैन । उसलाई यस्तै लाग्यो, नविनामाथि उसले प्रेमको भरोसा देख्यो, टुंगो देख्यो । तर, उसले प्रस्ताव गर्नै सकेन । सीमालाई उनको श्रीमान् सन्देशको छापामार समूहको आक्रमणमा मारिएका सुरक्षाकर्मीका साथीहरूले बलात्कार गरेका थिए । कतै भोलि आफ्नो कारण नविनालाई त्यस्तै भयो भने...।’
वर्षौंपछि आज पनि ऊ नविनालाई सम्झन्छ, शायद उसको मनमा नविनाप्रतिको प्रेम उस्तै छ । नविनाको मनमा मेघप्रति प्रेम थियो या थिएन, उसले पत्तो पाएन । अरूलाई भन्दा विशेष रेखदेख गर्थी नविना उसको । तर, कहिल्यै केही भनिनँ । दुई महीनापछि मोर्चा छुट्टियो उनीहरूको । उनीहरूसँग फोन थिएन । छुट्टिने बेलामा त कमसेकम एकपल्ट अँगालो हालेर, म तिमीलाई प्रेम गर्छु, पर्खिरहन्छु भन्न मन थियो । तर, सकेन, दह्रो गरी हात मिलाए, एकछिन नविनाको आँखामा हेरिरह्यो । नविना मुस्कुराई र भनी, ‘कमरेड ! किन यस्तो टिठलाग्यो अनुहार ? हामी एउटै मोर्चामा छौं, फेरि भेट हुनेछ ।’
नविनाले त्यतिभन्दा उसको आँखा पोखिन ठिक्क परेका थिए । हत्तनपत्त हात छुटाएर ऊ अर्कोतिर फर्केको थियो । नविना अरू कमरेडसँग विदा भएर हिंडी । नविनाहरूको प्लाटुन पारि डाँडा पुग्दासम्म कमिलाजस्तो देखिन्थ्यो । कमिलाको लर्कोले डाँडा नकाटुन्जेल हेरिरह्यो । पाइखाना गएको बहानामा जंगलमा गएर ऊ निकै बेर रोयो । किन हो, नविना फेरि भेटिएली जस्तो लागेन । दौडेर उसकै प्लाटुनमा पुगुम् लाग्यो । तर संभव थिएन ।
एकदिन उसले काँधको बन्दूक बिसायो, क्यान्टोनमेन्टबाट अयोग्य भएर निस्कँदा निकै साथीहरू जोडी नै घर फर्किए । बन्दूक बिसाइसकेका कम्ब्याटनहरूको लाममा हेर्यो, धेरैका आँखामा अन्योल थियो । मर्न तयार भएर चम्किने आँखामा कान्ति थिएन । बाँचेर घर फर्किन पाएको भन्दा निधारमा ठोकिएको अयोग्यको ट्यागले निहुरिएको थियो लडाकूहरूको शिर । सपना हराएको आँखाले अन्तिमपल्ट उसले लस्करहरूमा हेर्यो, नविना थिइनँ । उनीहरू छुटेको तेस्रो महीना नविनाले सहादत प्राप्त गरिसकेकी थिई । युद्ध सकिएको थियो, तर न नविना थिई, न सपना थियो उसँग । क्यान्टोनमेन्टबाट निस्किंदा गोल्डस्टार जुत्ताबाट देब्रे खुट्टाको बुढी औंलाले बाहिर चिहाइरहेको थियो ।
अयोग्य हुँदा पाएको केही रकम लिएर घर फक्र्यो । घर के भन्नु, छानाहरू मक्किंदै गएका । कैयौं दिनदेखि नलिपिएका सिकुवा । सिकुवाबाट धेरै टाढा जान नसक्ने हालतको आमा । जे भए पनि ऊ फक्र्यो, आमाको ज्यान फर्कियो । ऊ घर फर्किंदा आमाको होश गतिलो थिएन ।
‘ऊ, तेरा बाउले कुम्लोभरि चिउरा, मासु बोकेर आउँदैछन् । कान्छा पनि पछिपछि आउँदैछ । कान्छीले आज मलाई बजारबाट रातो गम्छा ल्याइदिन्छु भनेकी छ नि, आउँदै होली’, आमा बर्बराउँदै बाटोतिर हेर्दैथिइन् । घाँसले छोपिएको बाटो सुनसान थियो । घर फर्किने पनि कोही थिएनन् । दिल्ली गएपछि भाइ बेखबर रहेछ, बहिनी लोग्नेकै घरमा झुण्डेर मरेको खबर मात्रै आमालाई आएको रहेछ ।
आरन बन्द थियो, आरनमा बस्ने बाउ थिएनन्, भाटी तान्ने उनका दाबिलो जस्ता हात थिएनन् । विष्टबानले उनको आँगन टेक्न छाडेका थिए । दशैंमा कुम्लोको कुम्लो मासुको चोक्टा आउने बाटो थिएन ।
‘तँ पनि मरेबाँचे टुंगो भएन, भाइ फिरेन, बाउ र बैनी मरिहाले । आमाको रातदिन रुने, विस्तारै बर्बराउने भइन् । बाउ खोस्न जाँदा बन्दूकको कुन्दा हानेकाले पेट दुखिरहन्छ भन्छिन् । अलिक महीना भो बिचेत जस्तो हुन्छिन्’, काकीले एक सासमा बयान दिइन् ।
अलिक दिन लाएर उसले घर लिपपोत गर्यो । आरन सफा गर्यो । खोपीमा उसका किताब थिए, ध्वासोले कालो भइसकेका किताब झिकेर टक्टक्यायो । हिरो कलम जंगलमै हराइसकेको थियो । आमालाई नुहाइदियो, नयाँ गम्छा, चोलो, गुन्यूँ र पटुका फेरिदियो । जुत्ता पनि ल्याइदिएको थियो, लाउन मानिनन् । भनिन्, ‘तेरा बाले पाएको भए लाउँथे होला ।’ आमाले नदेख्ने गरी आँसु पुछ्यो ।
फेरि नित्यमा लाग्यो । बाटोको घाँस काटेर सिनित्त पार्यो । गोठ रित्तै थियो । खड्का साहुले पुरानो बाँकी नतिरेको भनेर गाईका माउ बाच्छै फुकाएर लगिसकेका थिए । बाख्राको थला पनि रित्तै । दुइटा बोका सेना गाउँ पस्दा खाइदिएका दिए । माउ बाख्रा काकीले पालिदिएकी थिइन् । टाट्नो सफा गर्यो । काकीले दुइटा पाठासहित बाख्रा ल्याएर बाँधिदिइन् । दुई, चार महीना बित्यो । नजिकैको हेल्थपोष्ट युद्धकै क्रममा सरेछ । घर काकीलाई जिम्मा लायो र आमालाई लिएर ऊ धरान झर्यो । निकै दिनको गलफत्ती पछि उसले आमाको जाँच गरायो । पाठेघरमा घाउ थियो । दिमागी अवस्था कमजोर । ६ महीनालाई दबैको पोको बोकेर आमाछोरा घर फर्किए ।
ऊ कैयौं रात सुत्न सक्दैनथ्यो । एकझप्को परेपछि ऊ मोर्चामा उत्रिन्थ्यो, बन्दूक बोकेर कासनमा उत्रिने, कहिले कम्ब्याटमा परेड गर्ने, घरी नविनासँग उकालोमा चिउरा चाउचाउ खान थाल्ने । मोर्चामा ढलेका कमरेडलाई काँधमा हालेर कुदाउने । ढल्यो ! हान हान !’ आमा तर्सेर ब्युँझने, अनि उनलाई झक्झक्याउने । यस्तो क्रम जारी थियो ।
ओहो ! कस्तरी दिमागमा आइबस्ने युद्धको चित्र । सुत्न पनि नसक्ने गरी । उसलाई आफूले लडेको युद्धप्रति गर्व कम हुँदै गएको थियो । देवविक्रम सर र नाम्बे काका भने शान्ति सम्झौतापछि पार्टीका ठूलै नेता भइसकेका थिए । के उनीहरूले भनेजस्तो दिन आयो त ? नाम्बे काकाले त दमकमा घर बनाएर परिवारै सरिसकेका थिए । देवविक्रम सरको फिदिम, दमक र काठमाडौंमा पनि घर छ भन्ने उसले सुनेको थियो । कुन्नि कुन अस्पताल र बैंकमा पनि राम्रै पैसा हालेका छन् रे ! भीष्म र सन्तमान भन्दा निकै लददु देवसरको छोरा सुनिल बंगलादेशबाट डाक्टर पढेर आयो रे ! नाम्बे काकाको छोरा पनि इन्जिनियर हुँदैछ रे ! ‘अब मध्यपहाडी लोकमार्गमा त केटाले सर्भे गर्न भ्याउँछ होला’, नाम्बे काकाले फैलिंदो आकारको भुँडी छाम्दै अस्ति मात्रै गाउँ आएको बेला भनेका रे !
गाउँमा यस्तै कुरा आइरहन्थ्यो । करेसा जोडिएको माचघरे काकाले धरानबाट भारी बोक्न छाडेका थिए । सार्की माइला काकाले पनि ढाकर बिसाइसकेका थिए । ट्याक्टरले उनीहरूको रोजीरोटी खोसेको थियो । गाउँभरिका केटाहरूसँग काकाहरू कहिले पारि शुक्रबारेतिर टुना उठाउन पुग्थे, कहिले माइखोलातिर बालुवा बोक्न ।
ओहो ! सपना त तिनका लागि मात्रै रहेछ । मान्छेको जीवन त उस्तै छ त । अझ दुःख पो छ कि ! भकाभक तातो रगत पोखाउँदै ढलेका कमरेडहरू सम्झन्थ्यो । ती स्वप्नयात्रीहरूको मृत्यु सम्झन्थ्यो । बगरमा लगेर कुकुर पुरेझैं बालुवाले छोप्नु, झण्डा ओढाउनु, वीर शहीद जिन्दावाद ! यसो भन्दै कतिलाई पुरिहिंड्यो होला आफ्नै हातले । के थाहा कतिलाई अस्पताल पुर्याउन पाएको भए बाँच्थे कि ? पुर्दासम्म कसैको न धुकधुकी बाँकी पो थियो कि ? युद्धमा धेरै सोच्ने फुर्सद थिएन । के ती अमर छन् त ? ती अमर भएकैले देवविक्रम सर काठमाडौं पुगेका हुन् ? नाम्बे काकाको छोरालाई इन्जिनियर पढाउन सीमा शहीद भएकी हो ? जवाफ थिएन, उसको मथिंगल अन्योलले उम्लिरहन्थ्यो ।
उम्लिन त आमाको मथिंगल पनि उम्लिएकै हुनुपर्छ, नत्र उनी किन ठीक कुरा गर्दिनन् । कुन कुराले बेठीक भो उनको दिमाग ? उसले मेसो पाएन । जीवनभर सिन्दुरको लामो धर्को एकदिन नटुटाउने उनलाई किन अचेल रातो रंगसँग घृणा छ । छोराको झोलामा कोचिएको रातो झण्डा देख्दा किन उनी अत्तालिइन् ? भीष्म सोचिरहन्थ्यो ।
गाउँ फर्किएपछि भीष्म जीवनलाई सहज बनाउने कोशिशमा लागिरह्यो । काकाको हलगोरु ल्याएर बारीमा मकै छर्यो, माउ बाख्राले अरू दुई ओटा पाठा पाई । सुँगुरको खोरमा दुइटा भुनी हुर्किदै थियो । छरछिमेकले अर्मपर्ममा बोलाउन थाले । तर, आमाको स्वास्थ्य खराब हुन थाल्यो । घर फर्केको डेढ वर्षमा दुई चोटि त धरान लग्यो उपचारमा । तर उनको स्वास्थ्यमा खासै सुधार आएन ।
एकदिन हाटमा लगेर सुँगुर बेच्यो, बाख्रा र घर फेरि काकीलाई जिम्मा लगायो । आमा लिएर धरान झर्यो । बीपी अस्पतालमा उपचारको लागि धाउन थाल्यो । अस्पतालमै भेटिएको एकजनाले काठमाडौंमा उपचार पनि सस्तो पर्ने र काम पनि प्रशस्त पाइने सुझाव दियो । गाउँमा काकीलाई तत्काल घर फर्किन नपाउने खबर पठायो र ऊ आमा लिएर काठमाडौं हिंड्यो । काठमाडौंका लागि ऊ नयाँ थियो, कोही चिनेको थिएन । देवविक्रम सरलाई भेट्न पाए अवश्य सहयोग गर्लान् । गौशाला धर्मशाला कहिले पशुपतिका पेटीहरूमा आमालाई घिसार्दै उसले ६ महीना सरलाई फोन लायो । नभन्दै एक बिहान सर गुरुमालाई लिएर मन्दिर आइपुगे । उसलाई पाँच सय रुपैयाँ दिंदै भने, ‘यो उमेर भकी आमालाई किन लेर आको ? घाँडो मात्रै । घरमै यसो उपचार गरे भइहाल्थ्यो नि ! अब आमा डोर्याउँदै कसरी गरिखानु ?’
‘सर म गरिखान हैन, आमाको उपचारकै लागि यहाँ आएको, वीर अस्पतालमा भनिदिनुहुन्छ ?’
‘भोलि बिहान फोन गर, म भनिदिउँला । तर गाउँ फर्क, उतै गरिखानु । यहाँ त को मर्यो, बाँच्यो थाहा हुँदैन ।’
‘क्रान्तिका बेला त थाहा हुन्थ्यो हैन र सर ? अनि हाम्रा दिन पनि यसरी नै आउँछ भन्नुभएको थियो सरले मलाई त्यो साँझ ?’ भीष्मको अप्रत्यासित प्रश्नले सरको अनुहार पहेंलियो ।
‘अब क्रान्ति सकियो । अब देश विकासमा जुटेको छ सरकार र पार्टी । तिमीजस्तो घाइते, अपाङ्ग, बिरामी भन्दै कति हो कति आउँछन्, कतिको फोन उठाउनु, कतिलाई सहयोग गर्नु । हैरान ! अँ, मलाई हतार छ । भोलि फोन गर ।’ त्यत्ति भन्दै हत्तपत्त सर गाडीमा सवार भएर हिंडे ।
त्यसपछि देव सरले उसको फोन कहिल्यै उठाएनन् । आफैं धायो वीर अस्पताल, केही समय ठीक हुने, फेरि उस्तै । आमालाई संकटा मन्दिरको आँगनमा छोडेर ऊ महाबौद्धमा भारी बोक्थ्यो । दिनभरि कमाउँथ्यो । राति आमा छोरा त्यतै सुत्थे । केही समयपछि अलिकति पैसा जम्मा गरेर एउटा कोठा लियो । दिउँसो आमा मन्दिर परिसरमै बस्थिन्, ऊ भारी उठाउन जान्थ्यो । यही रहेछ मेरो सुदिन...मन यसै अमिलो हुन्थ्यो ।
एकसाँझ फर्कंदा आमा मन्दिरमा थिइनन् । आत्तिंदै यताउति सोध्यो, कोठामा पुग्यो, असन महाबौद्ध, नयाँसडक, सुन्धारा, वसन्तपुर, रत्नपार्क, स्वयम्भू, बौद्ध, चोभार कहाँ खोजेन, आमा भेटिइनन् । कैयौं दिन/महीना रुँदै आमा खोजिरह्यो । काम छुट्यो, कोठा छुट्यो, आमा भेटिइनन् । उसले फोहोरबाट उठाएर जुठो खानेकुरा खाँदै शहरका गल्ली गल्ली भौंतारिरह्यो । आमालाई बचाउन त ऊ यो शहर आएको थियो । यही शहरले आमालाई लुकाइदियो । नविना भइदिएको भए..., आमा हराउँदैन थिइन् होला, यसरी ऊ आफ्नी नभएकी प्रेमिकालाई सम्झन्थ्यो । ऊ रुन्थ्यो, तर यो शहरलाई उसको आँसु हेर्ने फुर्सद थिएन ।
ऊ अचेल वागमती पुलमुनि हुन्थ्यो । यो शहरलाई कति फन्को मार्यो उसले ? कति समय भो उसले गाउँ छोडेको ? आमा हराएको कति भो होला ? कहाँ लुकिन् आमा ? आमा पनि मलाई खोज्दै भौंतारिएकी होलिन् ? आमा ...! अचानक ठूलो आवाज निकालेर चिच्यायो ऊ । पुलमुनि चाउचाउ बाँडेर खाँदै गरेका बालकहरू खितखिताए– ‘यसको पनि अब दिमाग चेट् !’
उसले समयको हिसाब हराइसकेको थियो । त्यो कुन वर्ष, महीना थियो ? कति गते वा कुन बार थियो ? अँध्यारो र उज्यालो हुन्थ्यो, उसलाई यति याद हुन्थ्यो । टीका जमरा देख्दा दशैं आएछ ठान्थ्यो, गाउँ सम्झन्थ्यो । बन्दूक भिरेरै मनाएको दशैं सम्झन्थ्यो । दशैंकै बेला भएका भिडन्त सम्झन्थ्यो । मारिएकाहरू, सडकभरि छरिएकाहरू, बगरमा पुरिएकाहरू सम्झन्थ्यो । फर्फराइरहेको झण्डा सम्झन्थ्यो । देवविक्रम सर, नाम्बे काका, नविना, बाउ, आरन, गोल्डस्टार जुत्ता अनि फेरि आमा । ऊ आफ्नै कपाल लुस्छ ।
फुच्चे केटाहरूको ग्याङबाट एउटा चाहिं नजिक आउँछ । उसलाई बोलाउँछ । दाइ, दाइ ! बाल किन भुत्ल्याको हो ? दुख्दैन ? तपाईंको जस्तै मेरी नि आमा हरा’की छिन् ।
‘आमा ?’ फुच्चेतिर हेर्छ ।
‘हो नि मेरी आमा हराइन्, अँ, कति पो भो, भन्न आएन तर भेटेको छैन’, फुच्चे भन्छ ।
‘त्यही त कहाँ हराए होला आमाहरू ? हिंड, खोजुम्, भेटिन्छ होला’, फुच्चेतिर भरोसाको आँखाले हेर्छ ।
‘ल, मिलेर खोजुम्ला के दाइ’, सम्झाउने पारामा भन्छ ।
‘तर कहाँ भेटिन्छ होला र खै !’ टाउको झट्कार्छ दायाँबायाँ । ‘म किन मरिनँ युद्धमै ? किन हाम फालिनँ वागमतीको भेलमा ? जथाभावी बाटो काटें, मलाई किन ठोकेन कुनै चिल्लो गाडीले ? हैन, हैन ! म यसै त मर्न सक्दिनँ । देवविक्रम सर र नाम्बे काका, यिनीहरूलाई म यसै छाड्दिनँ । केही त गर्छु नै । अनि आमा भेट्नु छ । निको पार्नु छ आमालाई । काकी कति रोइन् होला, खोजखबर गरिन् होला । बाख्राका पाठाहरू अब ठूला भए होलान् । मेरो किताब पनि त्यही खोपीमै छ, तिमी यहाँ भेटिन्छौ भन्ने थाहा पाएको भए म किताब ल्याइदिन्थें नि, पढ्थ्यौ होला है ?’ फुच्चेको हात समातेर एकोहोरो बोलिबस्छ । टिठलाग्दो आँखाले फुच्चे भीष्मको मुख हेर्छ । शायद उसले बर्बराएको सबै कुरा फुच्चेले बुझ्दैन ।
‘यो पुलमुनि किताब ? फुच्चे हाँस्छ । अँ, दाइ बरु हाम्रो आमाहरू चैं भेटिन्छ होला, खोजुम् ।’ फुच्चे बोलिसक्दा भीष्मको दिमाग कसो ठण्डा जस्तो हुन्छ । यो शहरमा आमा हराउने त अरू पनि रहेछन् । विचरा यत्रा सानो फुच्चेलाई त मलाई भन्दा बेसी आमाको खाँचो होला । फेरि टाउको झट्कार्छ ।
‘तिमी पशुपतितिर गा’छौ ?’ फुच्चेलाई प्रश्न गर्छ ।
‘ल, दाइ पनि, हामी दिनभरि त्यतै हुन्छौं नि !’
‘भगवान मन पर्छ ?’
‘ह्या दाइ पनि ! हाम्लाई भगवान् बाल मतलब ! भगवान् त घर भ’काहरूको होला । हामी त घाट जाने हो घाट ।’
‘घाट ? किन नि केटाकेटी मान्छे घाट ?’
‘तपाईं कुरै बुझ्नुहुन्न के दाइ । लास पोल्नु अघि पैसा फाल्छन् त्याँ । वागमतीमा पसेर पैसा खोज्दै हिंड्यो । यी अलिकति त यहाँ पनि छ (केही सिक्का गोजीबाट झिकेर देखाउँछ) । मन्दिरमा खानेकुरा बाँड्न आउने पनि हुन्छन् नि, कहिले त तात्तातो तरकारी, खीर, पुरी दिन्छन् । तातो खान पाउँदा लास्टै मज्जा आउँछ, पेटै रमाउँछ दाइ । तर हाम्लाई केट्केटी भनेर तेता जाँदा बाँदरले नि हेप्छ, जोगीले नि !’
फुच्चेको कुराले फेरि उसको मन भारी हुन्छ । त्यो दिन र रात ऊ त्यतै अल्मलिइरह्यो । भोलिपल्ट बिहानै फुच्चेलाई लिएर पशुपति गयो । नभन्दै कोही मान्छे खानेकुरा बाँड्दै थिए, उनीहरूले कागजको प्लेटमा तातो मटरको तरकारी र पुरी थापेर खाए । घाटतिर गए, कोही जल्दै गरेका, कोही चिता हाल्दै गरेका, कोही रुवाबासी । उसको मन ढक्क फुल्यो । आमा सम्झेर छटपटियो मन । केटो भने उसलाई छाडेर पैसा खोज्न खोलामा पसिसकेको थियो । उजस्ता अरू पनि केटाकेटी खोलामा थिए । ऊ भने पुल तरेर उकालियो । दिनभरि वनकालीतिरै हरायो ।
पशुपति हुँदै वनकाली जानु अब उसको नित्य थियो । यो नित्य शुरू भएको एक वर्ष भइसकेको थियो कि, उसले अन्दाज लाउन खोज्यो । ‘खुब आफ्नै दिन ल्याउन हिंडेको हैनस् ? खा !’ आफैंलाई गाली गथ्र्यो । अनि खानेकुराको खोजीमा लाग्थ्यो । सधैं खाना बाँड्छन् भन्ने थिएन । शहरतिर भौंतारियो । फुच्चेसँग बेला बेला भेट हुने, ‘आमा भेटियो ?’ सोध्थ्यो । उसँग जवाफ थिएन ।
एक साँझ भीष्म रातोपुलमुनि बसेर चुरोटको ठुटो तानिरहेको थियो । केही बच्चाहरू हल्ला गर्दै ऊ तिरै आए । ऊ आफ्नै धुनमा धुवाँ उडाइरहेको थियो । ‘दाइ, दाइ !’ फुच्चे पनि रहेछ समूहमा । फुच्चेतिर हेर्यो, ऊ निकै आत्तिएको थियो । बोल्यो, ‘दाइ ! ऊ माथि जाम त, एउटा बुढी आमै छटपटी रा’छ । कतै तपाईंको आमा त हैन ? हामीले बोकेर यहाँ ल्याउन खोजेम्, तर सकिनम् । यतिकै यता आको त तपाईं याँ पो रेछ ।’
फुच्चेले यस्तो बुढी मान्छे देख्यो कि तपाईंको आमा हो कि भन्दै कति ठाउँ उसलाई लगेको थियो । तर, ती अरूकै आमा हुन्थे । ऊ फुच्चेहरूको पछि लाग्यो । अँध्यारो खसिसकेको थियो । पुलबाट अलिक मास्तिर पुगे । उनीहरू एउटा कुनामा पुगे, एउटी बुढी मान्छे थाङ्ना भोगटामा घोप्टिएर छटपटाउँदै थिइन् । छेउमा गएर भीष्मले उनलाई उठाउन खोज्यो । ह्वास्स पिसाबको दुर्गन्ध छुट्यो उनको ज्यानबाट । ‘कतै आमा नै त हैन ?’ उसको हात लुलियो । फेरि झक्झक्यायो, ‘आमा, के भो तिम्लाई ?’ उसको वाक्य के छुटेथ्यो मुखबाट, महिलाले निहुरेरै टाउको घुमाइन् । सडक बत्तीको उज्यालोमा उसले चाउरिसकेको अनुहार देख्यो । ‘आमा ...!’ तर थिइनन् ती उसको आमा । बुढियाले उसको अनुहारमा एक निमेष हेरेर घोप्टो परेर छटपटाउन थालिन् । फुच्चेहरू र ऊ मिलेर आमालाई सजिलोपट्टि फर्काए ।
आमा के भो तिम्लाई ?’
‘मेरो छोरा देख्यौ ? तिमी जस्तै थ्यो, पातलो, कालो वर्णको । लडाईंमा गाको फिरेन ।’
‘लडाईं ? कुन लडाई आमा ?’
त्यति नै बेला आमा फेरि परक्क बटारिएर डल्लो परिन् । उनीहरू आत्तिए । फुच्चेहरू पानी खोज्न कुदे ।
दुई मिनेटमा फेरि शान्त भइन् ।
भनिन्, ‘मेरो याँ दुख्छ, ओखतले छुँदैन, अब बाँच्दिनँ होला, माउवादीमा गाको थ्यो मेरो छोरा, पैले पैले बेला बेला घर आउँथ्यो । पछि आउनै छोडो । मरो बाँचोको टुंगो पनि देनन् । आउँछ होला भन्छु ।’
‘माओवादी ?’ विस्तारै भीष्म पनि फुस्फुसायो । आफैंलाई यसो हेर्यो । (फुच्चेहरूले ल्याएको एक बोतल पानी ल्याए, खोलेर भीष्मले एक अञ्जुली मुखमा हालिदियो, आमाले आधा निलिन्, आधा छातीमा पोखियो । फेरि बोलिन्, ‘देख्न पाए हुने मोर्नु अघि ।’ उनको आवाज झन् सानो हुँदै गयो ।
‘आमा तिम्लाई केही हुन्न । म डाक्टरमा लान्छु’ उसले बोक्न खोज्यो ।
‘पर्दैन’ संकेत गर्दै उनले टाउको हल्लाइन् । फेरि बटाइरिइन् । फुच्चेहरू पनि आत्तिएर हात खुट्टा मुसारिदिन लागे । भीष्मले उनको टाउको काखमा लिएर झक्झक्याइरह्यो । फेरि एक बिर्को पानी मुखमा हालिदियो, आमाले पानी निलिनन् । फेरि तीन पल्ट बटारिइन्, अनि विस्तारै शान्त भइन् । उनीहरूले फेरि बोलाए, आमा चल्न छोडिन् ।
सबैले आँसु झारे । भीष्मलाई लाग्यो तिनी उसकै आमा हुन् । उनीहरूले आमाको मृत शरीरलाई उनकै बर्कोले बेरे र घाट लगे । निभिसकेको एउटा चिता छेउमा मिल्काइएको सेतो कपडा ल्याएर फुच्चेले आमालाई ओढाइदियो । अब दाउरा ? फुच्चेहरूले जलिसकेको चिताहरूबाट केही ठुटा भेला गरे । जलाउन ठिक्क पारेको एउट चिता छेउ गयो र भन्यो, हाम्री हजुरआमा मरिन्, हामीसँग पैसा छैन, दाउरा दिनुस् अलिकति । दुई जना आमाको शव छेउ आएर हेरे । अनि उनीहरूले दाउरा र आगोको बन्दोबस्त गरिदिए । फुच्चेहरूले वागमतीबाट ल्याएर एक अञ्जुली पानी दिए, भीष्मले अग्नि दियो । आमा धुवाँ हुँदै आकाशमा उडिन् ।
त्यो रातपछि भीष्म र फुच्चेहरू दाजुभाइ भए । त्यसपछि पनि कति समय बित्यो, संवत् फेरिएर कहाँ पुग्यो ? उनीहरूलाई पत्तो भएन । फुच्चेहरू कहिले वागमतीमा पैसा टिप्छन्, कहिले फोहोरको डंगुरबाट कचेडा टिप्छन् । ऊ भने प्रायः पशुपतितिरै चक्कर लाउँछ । कहिले खाली नहुने घाटमा काठका बाकसमा आएका कति हुन् ? शववाहनमा आएका कति हुन् ? ओहो ! बगरबाटै उठेर चितामा आए कि कति ? बन्दूकसँगै चिता चढे कि कति ?
मृत्युको कोलाजले दिमाग चक्कराउँछ भीष्मको । घुमर्किएको फोहोरी कपालले आधा अनुहार छोपिएकै हुन्छ । दाहिने हातमा उल्टो घडी र घाँटीमा गुलाबी पछ्यौरा । ज्यानमा चे को फोटो नदेखिएला झैं मैलिएको पुरानै टिसर्ट लाएर चुरोट तान्दै भीष्म वनकालीतिर उकालिन्छ । चुरोटवाली सोच्छे, केही त चलिरहेछ यो बौलाहाको दिमाग र वनकालीमा ।