कथा

शुटआउट@झम्सिखेल

Himal Khabar
कुमार नगरकोटी
Himal Khabar
नायक
खलनायक
तपाईं
सल्लाहकार
बिचौलिया
दलाल
एक्ट्राज
मन्त्री
बावर्ची
गेटपाले

मेरो कुरा ध्यानपूर्वक सुन्नुस् ।

सबैभन्दा पहिले त त्यो जुन ऐतिहासिक उपन्यास तपाइँ पढिरहनुभा’छ, त्यसलाई बन्द गर्नुस् । देशको वर्तमान पोलिटिकल्ली इनकरेक्ट हुँदा ऐतिहासिक उपन्यास तपाइँ कसरी पढ्न सक्नुहुन्छ ?

उपन्यासलाई डस्टबिनमा मिल्काइदिनुस् ।

यतिञ्जेल तपाइँ ऐतिहासिक उपन्यासको फगत एक पाठक हुनुहुन्थ्यो, अब पात्र बन्नुस् । म तपाईंलाई शुटआउट @ झम्सिखेल नामक थ्रिलर स्टोरीको मुख्य पात्र अर्थात् प्रोटागोनिस्ट बनाउँदैछु । चियर्स !

Himal Khabar

कथाकारिताको परम्परागत नियम तथा अवधारणालाई उल्लङ्घन गर्दै तपाइँ जस्तो ऐतिहासिक उपन्यासको रेगुलर रिडरलाई म यो फिक्सनल टेक्स्टको प्रोटागोनिस्ट बनाउँदैछु; यसलाई प्लिज गम्भीरतापूर्वक मनन् गर्नुस् । म तपाइँलाई एउटा महत्वपूर्ण मिसनमा पठाउँदैछु, आफूलाई धन्य ठान्नुस् ।

अब यस्तो गर्नुस् । यो ब्रिफकेस समात्नुस् ।

ब्रिफकेसमा के छ, ऐनमौकामा चाल पाइहाल्नुहुन्छ । त्यसको चिन्ता नलिनुस् । यो पिक–अप–भ्यानको साँचो हो, लिनुस् । पिउँदै गरेको स्प्राइट सिध्याइहाल्नुस् र यो क्याफेबाट बाहिरिनुस् । सरासर पार्किङ लटमा जानुस् । त्यहाँ कालो टोयोटा हाइलक्स तपाईंलाई नै पर्खिबसेको हुनेछ । ढोका खोलेर भित्र छिर्नुस् र गाडी स्टार्ट गरिहाल्नुस् ।

मेरो कुरा बुझ्दै हुनुहुन्छ नि !

गाडीभित्र तपाइँले आरामसित धुमपान गर्न सक्नुहुन्छ, नो प्रोब्लम ! म्युजिकल मूड भए, स्टेरियोमा बच्चु कैलाश, बियोन्से या नविन के. भट्टराईलाई निस्फिक्री सुन्न सक्नुहुन्छ । फुल् भोल्युममा । त्यसो त मन भए, कुनै बर्थ–डे गीत सुने पनि भइगो ।

बाइ द वे आज तपाईंको बर्थ–डे भन्या होइन ?

तपाइँलाई जन्मदिनको हार्दिक शुभकामना छ । आफ्नो जन्मदिनमा आज जुन महत्वपूर्ण काम तपाइँ सम्पन्न गर्न जाँदै हुनुहुन्छ, त्यसलाई मानिसहरूले पछिसम्म सम्झने छन् । तपाइँको मुक्तकण्ठले प्रशंसा गर्नेछन् ।

गाडीभित्र तपाइँले आरामसित धुमपान गर्न सक्नुहुन्छ, नो प्रोब्लम ! म्युजिकल मूड भए, स्टेरियोमा बच्चु कैलाश, बियोन्से या नविन के. भट्टराईलाई निस्फिक्री सुन्न सक्नुहुन्छ । फुल् भोल्युममा । त्यसो त मन भए, कुनै बर्थ–डे गीत सुने पनि भइगो ।

गीत सुन्दै थापाथलीको पुल क्रस गरेर तपाइँ सीधै कुपण्डोलको उकालो लाग्नुस् । पुल्चोकको मूल सडक पछ्याउँदै लाबिम मलनेरको ओभरहेड ब्रिज पार गर्नुस् । जावलाखेल पुग्नु अगावै रातो मच्छिन्द्रनाथको रथ बनाउने चोकबाट दायाँ मोडिनुस् र पाँच सय मिटर जति अगाडि बढ्नुस् ।

तपाइँ कफी डिस्ट्रिक्ट पुग्नुहुनेछ । गाडीलाई अब मन्द गतिमा चलाउनुस् । किनभने तपाइँलाई सडकको दुवै किनारामा अवस्थित क्याफेज्बाट आउने कफीको मगमग बास्ना सुघ्न मन लाग्ने छ नि त !

कफीको इन्टोक्सिकेटिङ बास्नाले तपाइँलाई लठ्याउन सक्नेछ । आफ्नो कफी–लतले तपाइँको मनलाई, इन्द्रियलाई कुत्कुत्याउनेछ । परन्तु गाडी नरोक्नुस् । कफी पिउने तीव्र इच्छालाई मुल्तबीमा राख्नुस् । किनभने तपाइँ एउटा महत्वपूर्ण मिसनमा हिंड्नुभएको छ, तसर्थ मिसनलाई नै पहिलो प्राथमिकतामा राख्नुस् । कामकुरो एकातिर कुम्लो बोकी क्याफेतिर कदापि नगर्नुस् ।