संस्मरण

झम्के रातमा काली तीरैतीर

himalmedia
इन्द्रध्वज क्षेत्री
himalmedia
मलाई अगाडि बढ्नुको विकल्प थिएन । तर, डरको पारो भने चढ्दैछ । यही बेला बीरबल पनि गायब भए । एक्लै मशानघाट पार गर्नु छ । केही आइलाग्यो भने आत्मसमर्पण गर्ने सोचसहित सास दबाएर पाइला चालें । शनै शनै शवदाहस्थल पनि कटेछ ।

२०५७ को चैतको अन्त्यतिर । आईए दोस्रो वर्षको पढाइ सकियो, जाँचको ठेगान छैन । त्यसैले घर जाने टुंगो भयो। साँझ आठ बजेतिर नारायणगढबाट बेनी जाने गाडी चढेको बिहान साढे २ बजे नै कुश्मामा लगेर झारिदियो । कुश्मामा पुगेपछि यात्रुहरूले चियासिया खान्थे, ड्राइभर खलाँसी एक झम्को निद्रा बिसाउँथे ।सुनौली, वीरगंज, गौर र काठमाडौंबाट पनि आएका गाडी जम्मा भएपछि आ–आफूले अर्को गन्तव्यका लागि ल्याएका यात्रु साटफेर गरेर बिहान ५ बजेतिर बल्ल बाग्लुङ वा बेनीतिरको बाटो तताउँथे ।

केही यात्रु कुश्मामै झरेर मोदी खोला तरेर ज्ञादी, फलेवासतिर वा म झैं कालीगण्डकी तरेर बलेवा, कुश्मीसेरातिर लाग्ने पनि थिए । तर कोही यात्रु हिंड्ने सुरसार गरेनन् । बिहानीपखको जाडोमा ह्वारह्वारी बलिरहेका अँगेनोको वरिपरि जम्मा भए र त्यहीं चिया खान थाले । शायद झमक्क रात निकालेर बिहानीपख हिंड्ने सुरसारमा थिए ।

बुवाले पठाएको पैसा रित्याएर घर फर्केको म, चियामा पैसा खर्च गर्न मन लागेन, चिया नखाएपछि अँगेनो नजिक जान पनि धक लाग्यो । पूर्णिमाको केही दिनपछिको रात थियो शायद, आकाशमा जून टहटह थिए ।अनि निर्णय गरें, बाटो लाग्छु, उज्यालो हुँदै जाला।

himalmedia
himal media

शिवालय, बड्गाउँचोक हुँदै ढिक पुगें । त्यहाँसम्म त जूनको उज्यालोमा सडक बत्ती वा घरको बाहिर बालिएका बत्तीहरूले पनि झलमल्ल बनाएका थिए । नेपथ्यमा अनवरत बजिरहेका खच्चडका घण्टीहरूले आवाज दिंदै थिए ।

ढिकबाट ओरालो लाग्दा फेरो परेपछि अब तिनै खच्चडका घण्टी पनि सुनिन छोडे ।उज्यालोको लागि पनि अब जूनको मात्रै साथ बाँकी रह्यो । एक मन लाग्यो फर्केर कुश्मा नै जान्छु र उज्यालो भएपछि हिंड्छु । तर आधा घण्टाजति हिंडिसकेको थिएँ । फर्कन मन लागेन। सम्झें तल कालीगण्डकीको पुलमा वारिपारि नै मानिस बस्छन् । उठिसकेका होलान्, त्यहीं गएर रात निस्केपछि हिंड्छु ।

ढिकबाट ओर्लंदा पातलो सल्लाको जंगल हुँदै झर्नुपथ्र्यो, ठाउँठाउँमा छायाँ पर्दा खाडलमा जाकिइन्छ कि जस्तो हुन्थ्यो तर तीरमा पुगेर चिया खाने अनि उज्यालो भएपछि हिंड्ने आशामा ओरालो झरी नै रहें । रात्रिकालीन स्तब्धतामा कलकल बगिरहेको कालीगण्डकीको तीरमा पुग्दा भने म विस्मित भएँ, किनकि त्यहाँ त शून्यता छ । जीवित प्राणीको कुनै गन्ध छैन ।

आशा–शायद यही चीजले मानिसले अति कठिन र खतरनाक परिस्थितिमा पनि आफूलाई पार लगाउँछ । मलाई आशावादी बन्न सिकाउने व्यक्ति भने अरु कोही नभई बीरबल हुन् । अनगिन्ती कथामा उनले शक्तिशाली बादशाह अकबरलाई बुद्धिमत्तापूर्वक हराएका छन् ।

एक कथामा बीरबलले अकबरसित बाजी परेपछि अनकण्टार ठाउँमा दूर क्षितिजमा देखिएकोएउटा बत्तीको सहारामा एक्लै रात बिताएका थिए ।म आज आफैं बीरबल झैं अनकन्टार निर्जन ठाउँमा गहिरो रातमा एक्लै पाइला चालिरहेको छु ।

कुश्मामा छउन्जेल खच्चडको घण्टीको भर लागेको थियो । त्यसपछि तीरमा मान्छे होलान् भन्ने आशमा ओर्लिरहें । अबलाग्यो नदी पारि त पुलको मुखैमा चियापसल छ । त्यहाँ त पक्का मान्छे छन् ।अनि कालीगण्डकीमाथि लमतन्न सुतिरहेको फलामे पुलतर्फ पाइला चालें ।

पुल तरें ।दुर्भाग्य, यहाँ झन् ठूलो निस्तब्धता छ । अब त जून पनि कैयाको पाखाबाट पश्चिमतिर डुब्ने तरखरमा छ । म भने आधा बाटो पुगेको छु । न फर्किन सक्छु, न अगाडि बढ्न नै । जून अस्ताएपछि झमक्क अँध्यारो हुनेछ, यो अँध्यारोमा म कालीको तीरमा भूत–पिशाच र मसानको शिकार बन्नेछु ।अनि बाँचिहाले बिहानीपख सक्रिय हुने जंगली जनावरको । मलाई यही भयले सताउन थाल्यो ।

तर, साथ छ उनै बीरबलको। मेरी हजुरआमा र आमाले मलाई सयौंपटक बीरबलको कथा सुनाउनुभयो । शायद भविष्यमा यस्तै बेला चाहिनेछ भन्ठानेरै होला ।