निबन्ध

‘कवि, तिमी काम चाहिँ के गर्छौ ?’

Himal Khabar
जुगल भुर्तेल
Himal Khabar
न्यायाधीशः अनि मातृभूमिका लागि उपयोगी काम चाहिं के गर्नुभयो ?
ब्रोद्स्कीः मैले कविता लेखें । यही नै मेरो काम हो । मलाई विश्वास छ... मैले जे लेखेको छु, त्यो आज मात्र होइन भविष्यको पिढीलाई पनि उपयोगी हुनेछ ।
भीडबाट आवाज आउँछः हेर त ! कत्रो फुर्ती !
जोसेफ ब्रोद्स्कीको जन्म सन् १९४० मा रूसको लेनिनग्राद शहरको एउटा यहुदी परिवारमा भएको थियो । तत्कालीन सोभियत सत्ता नारा त ‘अन्तर्राष्ट्रिय जाति’ निर्माणको दिन्थ्यो, तर आफ्ना नागरिकलाई हरेक पाइलामा ‘तिमी कुन जाति को’ भनेर सोधिरहन्थ्यो— पुस्तकालयको फारमदेखि स्कूलको हाजिरी कापीसम्म ।
Himal Khabar
लेनिनग्रादमा युवा कवि ब्रोद्स्की

जातपातका मामिलामा राज्यसत्ता स्वयं यसरी जिज्ञाशु बनेपछि समाजमा असहिष्णुताको अंकुरण त हुने नै भयो । परिणामतः ब्रोद्स्की सानै उमेरमा विभेदको शिकार बने । स्कूलमा सहपाठी मात्र होइन, शिक्षकहरूले समेत बारम्बार उनको आत्मसम्मानमा चोट पुर्‍याइरहेपछि उनी ‘अप्ठ्यारा’ विद्यार्थीमा परिणत हुँदै गए र अन्तत: सात कक्षापछि उनले स्कूलै त्यागिदिए । गरीबी र रोगले च्यापेका माता–पितालाई केही आर्थिक सहयोग गर्न सकिन्छ कि भनेर उनले स्थानीय कारखानामा मेशीन चालकको पदमा नोकरी शुरू गरेका थिए । तर सृजनाको अर्कै मुहान फुटाउने छटपटीले अधीर प्रतिभा स्थायी जागिरमा टिक्न सम्भव भएन । उनी कहिले डाक्टर बन्ने धुनमा स्थानीय जेलको मूर्दाघरमा शरीर विज्ञान विशेषज्ञसँग लाश चिरफार गर्न संलग्न भए त कहिले भूगर्भविदको टोलीमा सहयोगी बनेर साइबेरिया पुगे । यो अस्वाभाविक भट्काइ (सन् १९५६–६३) को क्रममा उनले १३ ठाउँमा काम थाल्दै छोड्दै गरेका थिए ।

सोभियत स्कूलको औपचारिक शिक्षामा कुनै रुचि नभए पनि उनका डायरीका पानाहरू विस्तारै कवितात्मक भावनाले भरिँदै गएका थिए । त्यस जमानाकी प्रसिद्ध रूसी कवयित्री अन्ना अखमातोभाको संगतमा पुगेपछि उनको प्रतिभा झनै तिखारियो ।

अखमातोभाले सोभियत राजनीतिक दमनका क्रममा आफ्ना पहिला र दोस्रा पति क्रमशः कवि निकोलाइ गुमिलेभ र निकोलाइ पुनिन तथा कवि साथी ओसिप मान्देल्श्तामलाई गुमाइसकेकी थिइन् । उनका छोरा लेभ गुमिलेभले स्तालिनको श्रमशिविरमा धेरै वर्ष बिताएका थिए । त्यसैले उनका सृजनामा विद्रोहको स्वाभाविक प्रचूरता हुने नै भयो । अखमातोभा जस्ता विद्रोही कविका रचनाले ब्रोद्स्कीलाई कलिलै उमेरमा आकर्षित गर्न थालेका थिए । १७ वर्षको हुँदा नहुँदै स्वयं ब्रोद्स्कीका कविता सार्वजनिक भइसकेका थिए । त्यस बेलाको चलन अनुसार, युवा कविहरू विभिन्न सरकारी क्लब, साहित्यिक समुह आदिमा संलग्न भएर साहित्य सृजनाको तालीम लिने र अनुभव साटासाट गर्ने गर्थे । तर ‘साम्यवादी मापदण्ड अनुकूल’ को सृजना गर्न प्रेरित गर्ने त्यस्तो संकुचित वातावरण ब्रोद्स्कीको स्वभाव र प्रतिभा अनुकूल थिएन । अखमातोभाहरूकै हौसलाले लेनिनग्रादको ‘इन्टलेक्चुअल अण्डरग्राउण्ड’ मा ब्रोद्स्की भित्रको कविले एउटा हैसियत पायो । युवाहरूले निकै मन पराएकोले उनको ख्याति छिट्टै फैलिंदै गयो ।

स्तालिनको मृत्युपछि सोभियत संघमा राजनीतिक दमनको चक्र केही खुकुलो भए पनि उनका उत्तराधिकारी निकिता ख्रुश्चेभको शासनकालमा ‘साम्यवाद ल्याएरै छाड्ने’ कटिवद्धता झन् घनीभूत भएर आएको थियो । त्यो अठोट पूरा गराउन तत्कालीन सर्वोच्च सोभियत (संसद्) ले ४ मई, १९६१ मा ‘समाज–उपयोगी कामबाट भाग्ने प्रवृत्ति भएका र परजीवी प्रकृतिको असामाजिक जीवन बिताइरहेका मानिस विरुद्धको अभियानलाई सशक्त पार्ने’ एउटा कानूनी आदेश जारी गर्‍यो । त्यस अनुसार कम्तीमा वर्षको चार महीना ‘काम’ नगर्ने मान्छे अबदेखि‘अपराधी’ मानिने भयो । त्यस्ता ‘अपराधी’ लाई अधिकतम पाँच वर्ष सजाय तोकिएको त्यो कानून मूलतः केही कामै गर्न नचाहने आवारा, जँड्याहा, गुण्डा र असामाजिक चरित्रका मानिसप्रति लक्षित थियो । ब्रोद्स्कीको प्रभावमा परेर लेनिनग्रादका सम्पूर्ण युवा ‘बिग्रिने’ त्रासले आत्तिन थालिसकेको सोभियत सत्तालाई त्राण दिन यही कानूनको हतियार बोकेर अग्रसर भए– ब्रोद्स्कीका छिमेकी एवं सेवानिवृत्त गुप्तचर (केजीबी) अफिसर याकोब लेर्नेर । उनले ब्रोद्स्की जस्ता ‘आवारा’ टाइपका युवकबाट शहरलाई मुक्त पार्ने प्रण गरेका थिए ।
Himal Khabar
२९ नोभेम्बर सन् १९६३ को ‘सन्ध्याकालीन लेनिनग्राद’ मा छापिएको लेर्नेरको लेख
लेर्नेरले २९ नोभेम्बर सन् १९६३ को ‘सन्ध्याकालीन लेनिनग्राद’ मा ‘साहित्यिक सेरोफेरोका कामचोर’ शीर्षकमा ब्रोद्स्कीको चर्को निन्दा गर्दै लेख छपाए । त्यो लेखमा ब्रोद्स्कीले लेखेको ठानिएका केही कविता मात्र उद्धृत गरिएका थिएनन्, उनको लुवाइ (‘मखमली पाइण्ट लाउँछ, हिउँमा पनि टोपी लाउँदैन’), स्वभाव (‘अरू युवा साहित्यकारहरू भन्दा आफूलाई धेरै ज्ञानी ठान्छ’; ‘आफूलाई कविहरूको कवि ठान्ने घमण्डी छ’), साथी–संगीहरू (‘उन्मुक्त जीवनका लागि आफ्नी आमालाई त्यागेर हिंडेकी भोलन्यान्स्काया, आमाको तलबमा बाँचेको श्भेइगोल्च, अपराधी गेइखमान, आवारा स्लाभिन्स्की’) आदिका बारेमा तिखो आलोचना गरिएको थियो । ब्रोद्स्कीको ‘राष्ट्रद्रोही’ छवि निर्माण गर्न उनले उज्वेकिस्तानमा हवाइजहाज अपहरण गर्न खोजेको काल्पनिक घटना समेत त्यो लेखमा अटाएको थियो । ब्रोद्स्की मात्र होइन उनलाई संरक्षण दिनेहरूलाई समेत कारबाहीको माग गर्दै लेर्नेरको आक्रोशपूर्ण लेख यसरी टुङ्गिन्छ– “यति कुरूप छ यो मानिसको अनुहार ! ऊ अन्टसन्ट शिकायत, निराशा र अश्लीलताले भरिएका कविता मात्र लेख्दैन, देशद्रोहको योजना समेत बनाउँछ... कुरा प्रष्ट छ, साहित्यको सेरोफेरोमा पन्पिएको यस्तो परजीवीलाई हामीले पुल्पुल्याउन छाड्नुपर्छ... ब्रोद्स्की जस्ता मानिसका लागि लेनिनग्रादमा कुनै स्थान हुनुहुँदैन ।”
त्यसपछिका केही दिनसम्म ‘सन्ध्याकालीन लेनिनग्राद’ मा ब्रोद्स्कीको चरित्रमा प्रश्न उठाउँदै उनलाई लेनिनग्रादबाटै धपाउनुपर्ने माग सहितका क्रूद्ध–पाठकका चिठ्ठीको बाढी नै आयो । शिक्षक, विद्यार्थी, योङ कम्युनिष्ट लिगका युवा, मजदूर वा साधारण श्रमजीवी जनताका नाममा लेखिएका ती पत्रमा ब्रोद्स्की–प्रवृत्तिप्रति गहिरो वितृष्णा व्यक्त गरिएको हुन्थ्यो । कम्युनिष्ट पार्टीको इतिहास विषयका प्रोफेसर स्मिर्नोभले दुःखी हुँदै लेखे, “एकातिर विलक्षण प्रतिभाशाली सोभियत युवा अन्तरिक्षमाथि विजय प्राप्त गर्दै, निस्वार्थ समर्पणका साथ कारखाना र खेतमा श्रम गरेर साम्यवाद निर्माणमा व्यावहारिक योगदान पुर्‍याइरहेका छन्; अर्कातिर अकर्मण्य जीवन बाँचिरहेका त्यस्ता केही युवापनि छन्, जसलाई आफू बाहेक अरू कसैको मतलब छैन ।”
Himal Khabar
फ्रिदा भिग्दोरोभाले इजलासमा लुकीछिपी गरेको टिपोट

त्रासजन्य मौनताको संस्कृतिले आक्रान्त समाजमा स्वतन्त्रताको कुरा गर्ने वा स्वतन्त्र जस्तो देखिने मानिसहरू ‘खतरनाक’ ठानिन्छन् । ख्रुश्चेवको कम्युनिष्ट सत्तालाई ब्रोद्स्की जस्ता ‘साम्यवाद निर्माण’ मा अवरोध सृजना गर्ने ‘सोभियत मापदण्ड’ विपरितका मान्छे चाहिएका थिएनन् । तर ख्रुश्चेभको उदयसँगै समय अलि बदलिएको हुँदा स्तालिनकालमा जस्तो ब्रोद्स्कीलाई ‘सिध्याउन’ लेर्नेरको त्यो लेख मात्र अलि पर्याप्त थिएन । त्यसैले पाठकका नाममा प्रायोजित प्रतिक्रियाहरू उत्पादन गरिए । अन्ततः नागरिक स्वयंसेवीहरूको दस्ताले उनलाई पक्रिएर प्रहरीलाई बुझाइ छाड्यो ।

१३ मार्च १९६४ का दिन लेनिनग्राद शहरको देर्झिन्स्की अदालतमा २४ वर्षीय कवि ब्रोद्स्कीको मुद्दामा बहस हुँदै थियो । उनीमाथि युवावर्गमा नकारात्मक प्रभाव पार्ने कविता लेखेको, कामचोर र पराश्रित जीवन बिताएको आरोप थियो । इजलास बाहिरको सूचनापाटीमा टाँसिएको थियोः ‘परजीवी ब्रोद्स्कीसम्बन्धी मुद्दा’।

तत्कालीन रूसको लोकप्रिय साहित्यिक पत्रिका ‘लितेरातुरनाया गाजेता’ की पत्रकार एवं साहित्यकार फ्रिदा भिग्दोरोभाले इजलासमा भएको बहसको लुकीछिपी टिपोट गरेकी थिइन् । उनको हस्त–लिखित त्यो टिपोट भूमिगत ढंगले प्रकाशित हुँदै विश्वभरि चर्चित भयो र त्यो सोभियत साहित्यमा तत्कालीन कम्युनिष्ट सत्ताको प्रभाव, स्वतन्त्र बौद्धिक चिन्तनको संघर्ष, साहस र वेदनाको ऐतिहासिक दस्तावेज बन्न पुग्यो ।