कथा

नामग्याल, तिम्रो परिचय फेरिनुहुँदैन

Himal Khabar
बिना थिङ
Himal Khabar
झल्यास्स भएँ उसको नाम सुनेर । पत्रिकाका पानामा गाडिएका नजर कक्षा–९ मा भर्ना हुन आएको त्यो नयाँ केटोतिर हुत्तिए ।

मुहार देखेर झनै चकित भएँ म । मनमा एक लहर विचार दौडियो – ‘यो त उही हो ।’
Himal Khabar
उसका आँखा पनि त यस्तै चिम्सा थिए । यस्तै दबेको थियो नाकको डाँडी । यस्तै पाक्दै गरेको किम्बुजस्तै कलेजी थिए ओठ । यस्तै निख्खर कालो, बाक्लो थियो कपाल । यस्तै सजिवनको चोपजस्तै थियो छालाको रङ ।

उही त होइन ? एकक्षण भ्रममा परें । भ्रम मीठो त हुन्छ तर क्षणिक । आफैंलाई सम्हालें । कहाँ किशोरतिर लम्किरहेको यो बालक ! कहाँ ऊ ! अहिले त ऊ मजस्तै ढल्किंदो यौवनमा होला । मेरो जस्तै उसको उमेर पनि क्यालेण्डरसँगै पुराना हुँदै गए होलान् । र, मेरो जस्तै उसको पनि विगत स्मृतिहरूमा समयको धूलो थपिंदै गए होला । साँच्ची कहाँ होला ऊ ? अरबको खाडीमा कि मुग्लानको दरबानीमा ? ज्यामी पो बन्यो कि ? कि जिन्दगीको निमेक गुजार्न उसका बाजस्तै भेटेजतिको काम गर्दै होला ? मैले जस्तै पढेको भए ऊ पनि मजस्तै हुन्थ्यो होला । होइन, ऊ मभन्दा अझ उँचाइमा पुग्थ्यो होला । जेहेनदार थियो नि त !
ऊ मजस्तै थियो । म ऊजस्तै । कहिलेकाहीं लाग्थ्यो, प्रकृतिले हामी दुईलाई फरक–फरक परिवार र लिंगमा जन्माइदियो । खासमा हामी एउटै हौं ।

थाहा छैन, कहिलेदेखि ऊ र म साथी बनेका थियौं । तर, गाउँकै मुजुरधाप निम्नमाध्यमिक विद्यालयको पहिलो कक्षाका विद्यार्थी बनेदेखि नै हामी सँगै स्कूल जान थालेका थियौं । फर्किंदा पनि सँगै हुन्थ्यौं । स्कूलबाट फर्केपछि गृहकार्य गर्दा पनि सँगै । खेल्दा पनि सँगै ।

हाम्रोभन्दा पाँच घर पर त थियो उसको घर । पूर्व फर्किएको । बाकलले बेरेको । एकपाखे । अलकत्राको टिनले छाएको । ढोका पनि टिनकै थियो । छिर्नासाथ दायाँपट्टि देखिन्थ्यो, ढुंगाको चुल्हो । बायाँपट्टि हुन्थ्यो, बाख्रा बाँध्ने टाट्ना । अनि भित्र हुन्थ्यो, दुईवटा खाट र एउटा ध्वाँसो लागेको ट्याङ्का ।
हाम्रो जस्तै थियो हाम्रो घरको मित्रता । हाम्रोमा मीठो–मसिनो पाक्दा कर्कलाको पातले कचौरा ढाकेर उसकोमा पुर्‍याउन लगाउँथिन् आमाले । उसका बाले सिमेभुमे पूजा गर्दा चढाएको कुखुराको भालेको मासु पुर्‍याउन आउँथे । सँगसँगै ऊ पनि आउँथ्यो । बा फर्किन्थे । ऊ मसँगै खेल्थ्यो ।

थाहा छैन, हाम्रो मित्रता पहिले शुरू भयो कि हाम्रा आमाहरूको । हामीजस्तै मिल्ने साथी थिए ती । उसका बा हिउँदमा सधैंजसो वन जान्थे । सखुवाको दाउरा ल्याउँथे । त्यो दाउरा बोकेर उसकी आमा बजार जान्थिन् । दाउरा बेचेको पैसाले रायोको साग र गहुँको पीठो किन्थिन् । कहिलेकाहीं राँगाको मासु र उसिनेको चामल पनि किन्थिन् । उसलाई कापी, किताब र स्कूलको फि तिर्थिन् ।
चुरोटको तलतल लाग्दा हाम्रो दोकानमा आउँथिन् । स्कूलसँगै टाँसिएको थियो, हाम्रो काठको सानो दोकान । त्यही दोकानमा उसकी आमा र मेरी आमा बसेर एउटै चुरोट पालोपालो तान्थे । कहिल्यै नसकिने गफ गर्थे । खितखिताएर हाँस्थे । लाग्थ्यो, उनीहरूको मित्रताको पुल त्यही चुरोट थियो ।
तर हाम्रो मित्रतामा कुनै पुल थिएन । हामी त एउटै खोला थियौं । एउटै बहावमा, एउटै दिशामा, एउटै गतिमा, एउटै सुरमा, एउटै तालमा बहिरहेका । फरक यत्ति थियो, ऊ हाम्रो कक्षाको फस्र्ट ब्वाई थियो । र, म औसत विद्यार्थी । फेल त म पनि कहिल्यै भइनँ । ऊ पहिलोबाट दोस्रो पनि कहिल्यै भएन । त्यसैले त भन्थे सरहरूले– ‘यो नाङसाल हाम्रो स्कूलको इज्जत हो ।’

हो, कम बोल्थ्यो ऊ । उसको हिस्साको भाग पनि मै बोलिदिन्थें । अलि लज्जालु थियो । शायद मेरो भागको लज्जा पनि उसैले चोरेको थियो । सबैको प्रिय विद्यार्थी थियो । स्कूलमा हुने अतिरिक्त क्रियाकलापमा पनि सधैं अगाडि हुन्थ्यो । तर, आफ्नै स्वभावले थोरै थिए उसका साथी । म हुँदाहुँदै उसलाई साथी नै किन चाहिन्थ्यो र ?
उसको सम्झनासँगै विगत दिनहरू आँखैमा आइदिए ।

कसरी ऊ र म हाफटाइममा हाम्रा दोकानमा जान्थ्यौं । म आमालाई सामान बेच्न सघाउन थाल्थें । उसका तिखा आँखा कसैले सामान टिपेर हिंड्छ कि भनी सचेत रहन्थे । दोकानमा सघाए बापत आमाले हामी दुवैलाई नेबिको बिस्कुट दिन्थिन् ।

कहिलेकाहीं लाग्थ्यो, ऊ घामजस्तै थियो । म उसको प्रकाशसँगै जाग्ने बिहानजस्तै । तर, म दिन बनें । ऊ कतै रात भइ हराइगयो । काश ! उसले स्कूल नछोडेको भए...

एउटा नमीठो सम्झना बनेर बसेको छ त्यो दिन । त्यो क्षण । त्यो प्रहर । एकाएक मध्याह्नमै घाम अस्ताएको थियो त्यो क्षण ।

त्यो दिन स्कूलबाट फर्किंदै गर्दा मैले उसको हात समाएकी थिएँ । सबैका आँखा आश्चर्यले हामीमा टाँसिएका थिए । तर, मलाई संसारको मतलब थिएन ।