कथा

साइनो

Himal Khabar
दुर्गा कार्की
Himal Khabar
लमजुङ तुर्लुङकोट .....
सररर हावा चल्यो लाँकुरीको बोट .....

पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ करायो ।
Himal Khabar पिंढीमा बसिरहेकी हजुरआमालाई बोलाएँ । भर्खरै दाहिने आँखाको मोतिविन्दुको अपरेशन गरेकाले होला, चिन्नुभएन । हुन त अब दृष्टि–स्मृति दुवै धमिलिने बेला भयो । ९६ हिउँद बर्खा पार गरिसक्नुभो । बलेसीका ढुङ्गाका कापकापमा लुकेर बसेका राता चामलका गेडाले दशैंको मिठास सम्झाए । पिंढीको रातै कम्बल अलिकति तानेर बसेपछि भनें, “म फूलमायाकी जेठापट्टीकी नातिनी हुँम् हज्रामा, विपना, चिन्नुभो ?”

“परेडाँडाकी नातिनी होस् त ? हरिचन्द्रेकी छोरी ?” मुन्टो नजिकै ल्याएर सोध्नुभो हजुरआमाले र खस्रा हातले मेरो कपाल सुम्सुम्याउनुभयो । मैले थोरै हाँसेर मुन्टो हल्लाएँ । अनि गहभरि आँशु पारेर भन्नुभो, “माया मारिहालिस् नि बाबै । अब त बूढी मर्न लागी होली भनेर आएकी ?”

चारवटा दशैं बिते हजुरआमालाई नभेटी । चार दशैं, मतलब चार वर्ष । सानो छँदा दाइ–दिदी ममीसित मामाघर जाँदा म भने हजुरआमाको फरियामा झुण्डिंदै उहाँको माइतीगाउँ जान रुचाउँथें । उहाँका दिदीबहिनीहरूको घरघरै चहार्थें । ‘बाउनी बज्यैकी पुच्छर’, मानिसहरू मलाई भन्ने गर्थे । हजुरआमाका चार दिदीमध्येकी साइँली उहाँ र मेरी हजुरआमाको अनुहार काटीकुटी उस्तै । सानी छँदा उहाँलाई म भन्थें, “आमा पैला मर्नुभो भने तपाई आ‘र बस्नु है हाम्रो घराँ ।”

काठमाडौं भासिएपछि बिजी भइयो । कामैले व्यस्त नभए पनि मुखले ‘बिजी छु’ भन्ने बानी लाग्यो । इन्जिनियरिङ शुरू गरेपछि यसै पनि पढाइमा बढी समय दिनुप्रयो । फुर्सदको समय मामाको अफिसमा काम सघाइदिन्थें, अलिअलि पकेटखर्चको लोभमा । त्यसपछि त घर जाने भनेकै दशैं मात्र हुन थाले । त्यही पनि छोटो छुट्टी । घर र मामाघरमा एक ट्याप टिको टाँस्यो, हिंड्यो । “दुईचार दिन त बस्छेस् होला नि ?” भनेर कसैले सोधिहाल्यो भने निधारमा गाँठो पारेर “अँऽऽऽ, काँ भ्याउँथे नि, काम छ उता” भन्नमा गर्व मान्न थालियो ।

केही समययता साइँलीदिदी निकै बिरामी पर्न थाल्नुभएको छ भनेर यसपालि हजुरआमाले जसरी नि जा भन्नुभो । हुनत मैले यसै पटकदेखि अनिवार्य इन्टर्नसिप थालेकी थिएँ । काम राम्रो गरे जागिर पक्का जस्तै थियो । तर पुराना यादहरू बयली खेलेर आए । “एकपटक भेट्न पनि नपाई घुत्रुक्क हुनुभो भने ?” भन्ने खयालले मन चरक्क चिरियो । मामाघरमा एक रात बसेर भोलिपल्ट उतैबाट सीधै पाखाथोक उक्लें ।

हजुरआमालाई राति निद्रा पर्दोरहेनछ, अबेरसम्म गफ गर्नुभो । भोलिपल्ट हिजै गरेका कुरा दोहोर्‍याई तेहर्‍याई सोधेर दिउँसोको एक बजाइदिनुभो । भोलि जसरी पनि काठमाडौं जानुपर्छ भनेर तम्सिएपछि कुप्रो परेको ढाड सोझ्याउँदै तगारोसम्म आएर चोलोको खल्ती खोतल्नुभो र चुरोटको सुर्ती लटपटिएको एउटा पुरानो पाँच सयको नोट मेरो मुठीभित्र घुसारिदिंदै भन्नुभो, “अब म बाँच्नी यत्ति होला बाबै, यो यस्सो बाटाखर्च राखेस् ।”

लहरै खुलेका सेता हिमाल, हावासँग बयली खेलिरहेका धानका हरिया सुर्का, बारीका कान्लामा लटरम्म फलेका बेलौतीका रूख केहीले पनि तगारोको ढुङ्गामा थचक्क बसेर म गएको बाटो हेरिरहेकी फुस्रै फुलेकी बूढीको चित्र मेटाउन सकेनन् ।

दश मिनेट ओरालो झरेपछि गुज्रुप्प परेको अर्को गाउँ आइपुग्यो । बाटैनेरको धारामा कपालमा रातो फूल टाँसेको हेडपिन लगाएकी फुच्ची ढिस्कोमा चढेर फ्यान्टाको ठूलो बोतलमा पानी थाप्दै थिई । म प्यास लागेर भन्दा पनि मन बहलाउन अडिएँ ।

“मामाघर गइनौ ?” उसको बोतल भरिनलाई कुर्दै गर्दा सोधें ।

बोतलको बिर्को लाउँदै उसले पूर्वपश्चिम टाउको हल्लाई ।

“किन त ? यति राम्रो हेडपिन लाउने मान्छे मामाघरमा देखाउन जानुपर्दैन त ?” मैले जिस्क्याएँ ।

ऊ मख्ख परी । हेडपिनको प्रशंसा सुनेर होला । अनि पुलुक्क मतिर हेरेर भनी, “हाम्रो मामाघरै छैन ।”

त्यसपछि मैले थप प्रश्न सोधिनँ । सोध्न भ्याइनँ भनौं अझ । बच्चा काखमा लिएकी उसकी आमा जस्ती देखिने आइमाईले दुइटा कान्लामाथि निस्केर कराई, “ए झम्के ! कति बेर लाउचेस् हँ एक बोतल पानी ल्याउन नि ? फेरि टाउको थाप्न लाकी धारामा ?”

मैले कान्लामाथि अलिकति औपचारिकताको हाँसो फ्याँकिदिएँ । उताबाट अनौठो हेराइ आयो । गाली खाएकी फुच्ची काँखीमा बोतल च्यापेर हिंडिसकेकी थिई । मलाई अप्ठेरो लाग्यो । बाटो तताउन के आँटेकी थिएँ, पछाडिबाट मसिनो आवाज आयो, “हैन..., विपना हैन भन्या ?”

फरक्क फर्केर हेरें । अघि छोरीलाई हकार्दै गरेको अनुहारमा एकाएक अनौठो आभा छाएको थियो । ऊ मतिर आउन लम्किई । मलाई उसको अनुहार कता हो कता देखेजस्तो त लाग्यो तर ठ्याक्कै ठम्याउन सकिनँ । नजिकै आएपछि आफैंले भनी, “चिन्नुभएन ? सपना के त । साइनो ... ? मस्र्याङ्दी एफ्.एम्. ?”