बूलोन्याको विश्वविद्यालयमा खास गरी व्याकरण, अलङ्कार र तर्कशास्त्रको पढाइ हुन्थ्यो र त्यहाँ पछि कानून पनि पढाइन थालियो । यूरोपमा क्रमशः समस्त विद्याराशिलाई चार भागमा अर्थात् अङ्ग्रेजीमा भन्ने हो भने थिओलजी (परमार्थविद्या), ल (कानून), मेडिसिन् (वैद्यक) र आर्टस् (कला) मा बाँडियो । आर्टस्भित्र त्रिभिअम् र क्वाद्रिभिअम्मा गरी सात थरी विद्या सँगेटिएका थिए ।
त्रिभिअम् अर्थात् त्रयीभित्र व्याकरण, अलङ्कार र तर्कशास्त्र तथा क्वाद्रिभिअम् अर्थात् चतुष्टयीभित्र पाटीगणित अर्थात् आजभोलिको शब्दमा अङ्कगणित, रेखागणित, ज्यौतिष र सङ्गीत पर्थे ।
हाम्रा पूर्वजहरूले पनि समस्त विद्याराशिलाई चार भाग लगाई तिनलाई त्रयी (वेद), आन्वीक्षिकी (दर्शन), वार्ता (खेती, पशुपालन र बेपार) र दण्डनीति (राजनीति) मा सँगेटेका थिए । चारै थरी विद्याराशिको क्रमशः उत्रति भइरहेकै थियो । कालान्तरमा अध्यात्मवाद किंवा वैराग्यवादको प्रभाव बढेकोले व्यवहारमा काम आउने अनेकन् विद्याको पठनपाठन क्रमशः छुट्दै गयो र केही शास्त्र त बिल्कुलै लुप्त भए ।
⚫⚫⚫
संस्कृतपरम्पराको शिक्षामा जे जानियो, त्यो कसरी अडाउने भन्नेमा बढी जोड दिइन्थ्यो । भनाइको मतलब, पढेका कुरा कहिल्यै नबिर्सने । यसका लागि संस्कृतपरम्परामा यतिसम्म जोड दिइएको थियो कि पढेको कुरा बिर्सियो (अधीतस्य च नाशनम्) भने ब्रह्महत्या गरे बराबरको पाप लाग्छ (ब्रह्महत्यासमं ज्ञेयम्) भनेर सुद्धा धर्मशास्त्रमा लेखियो (याज्ञवल्क्यस्मृति ३।२२८) ।
संस्कृत शिक्षापद्धतिमा खासगरी विद्या सञ्चय गर्ने प्रवृत्तिमा जोड दिइएकोले नयाँ पुस्तक सामान्यतया त्यसवेला मात्र रचिन्थ्यो, जब पुरानो पुस्तकमा भएका कुरामा थपघट गर्नुपर्ने अवस्था आउँथ्यो । त्यसले गर्दा नयाँ पुस्तक आएपछि पुरानो पुस्तकको प्रयोग कम हुँदै जान्थ्यो र कालान्तरमा पुरानो पुस्तक लुप्त हुन्थ्यो ।
यूरोपियन शिक्षापद्धतिमा भने, मैले बुझेसम्म नयाँ कुरा पत्ता लगाउने, नयाँ कुरा बनाउनेमा जोड दिइएको देखिन्छ । विश्वविद्यालयको उपाधिको लागि गरिने त्यस्तो खोजीको लेखलाई ग्रीक भाषाको शब्द थेसिसले बुझाउँछ ।
ल्याटिनको ‘डिसर्टेशन’ केही कालयता यही अर्थमा चलनचल्तीमा आए पनि मास्टर्स तहको उपाधिका लागि लेखिने लेखलाई थेसिस र पीएचडी तहको उपाधिका लागि लेखिने लेखलाई डिसर्टेशन भन्ने चलन बढी छ । हिन्दीमा यस्तो लेखलाई शोधप्रबन्ध भन्ने गरिएकाले नेपालमा पनि यही शब्द नै चलेको छ ।
⚫⚫⚫
‘नेपालोलजि’
आफ्ना प्राचीन भाषा ग्रीक र ल्याटिनको वाङ्मय विस्मृतप्रायः भइसकेको र प्राचीन विद्याका उपासकहरूमा आलोचनात्मक पद्धतिको अभाव हुन थालेपछि पन्ध्रौं शताब्दीदेखि यूरोपियन विद्वान्हरूले आलोचनात्मक दृष्टिले प्राचीन विद्याको परिशीलन गर्न थाले, जसले पुनर्जागरण भन्ने नाउँ पायो । यस क्रममा यूरोपमा ग्रीक र ल्याटिनको मात्र होइन, अर्को प्राचीन भाषा हिब्रूको पनि पठनपाठन शुरू भयो ।
संसारभरको ज्ञान समेट्ने अभिप्रायले प्रेरित पश्चिमाहरूले यसै सिलसिलामा ४०० वर्ष जति अगाडि भारतवर्षको ज्ञानको आविष्कार गरे । पुनर्जागरणकालपछि संसारमा भएको विद्यासम्बन्धी ठूलो कुरा पश्चिमाहरूले संस्कृतको परिचय पाउनु हो भनी अर्थर एन्थोनी म्याक्डोनेल (वि.सं. १९११–१९८७) ले लेखेको कुराको सम्झना यस प्रसङ्गमा हुन्छ (अ हिस्ट्री अफ स्यान्स्क्रिट लिटरेचर, न्यू योर्क, सन् १९००, १ पृ.) ।
हुन त अरबहरूमार्फत भारतीय ज्ञानको केही अंश यूरोप पुगिसकेको थियो । दृष्टान्तको रूपमा दशमलव पद्धति र मूलतः बीजगणित पनि भारतवर्षको अवदान हो भनी तज्ज्ञहरूले भन्ने गरेको कुरातर्फ औंल्याउन सकिन्छ ।
क्षेत्रविशेषको परिशीलन गरिने विद्याको नाउँमा इन्डोलजि र सिनोलजि जस्ता शब्दको प्रयोग धेरै कालअघिदेखि भइसकेकोले त्यस्तै शब्दको अनुकरणमा नेपालोलजि शब्द पनि चल्न चल्न खोजेको छ । साँच्चि भन्ने हो भने, भारतसम्बन्धी विद्यालाई इन्डोलजि, चीनसम्बन्धी विद्यालाई सिनोलजि र भोटसम्बन्धी विद्यालाई टिबेटोलजि भनी विद्यालाई क्षेत्रविशेषमा बाँडेको देख्दा पाश्चात्त्य विद्यासम्पत्तिको मूल धारमा अझै यतातिरका विद्याको समावेश नभएको ध्वनि आउँछ ।
मेडिसिन अर्थात् चिकित्साशास्त्रले फड्को मारी उता मुटुरोग पढाइ हुने शास्त्र कार्डिओलजि, स्त्रीरोगको पढाइ हुने शास्त्र गाइनेकोलजि जस्ता विद्याका भेदोपभेद हुँदै जाँदा पनि हाम्रा यतातिरका शास्त्रको परिशीलन क्षेत्रविशेषको घेरामै रुमल्लिरहेको छ । यसले पश्चिममा हाम्रो विद्याको पठनपाठनको स्थितिको झझल्को मिल्छ । हामी पनि त्यसैलाई आदर्श मानी हिंडिरहेछौं, बिडम्बना यही छ ।
पाश्चात्त्यहरूले संस्कृतका प्राचीन ग्रन्थ पढी तिनको गुणदोषको परीक्षा गर्ने पद्धति चलाए, तर ग्रीक ल्याटिन आदि भाषा जसरी पश्चिमाहरूले पढे, त्यसरी संस्कृत पढ्न उनीहरूले नसकेकाले वा नखोजेकाले संस्कृतभाषाको उच्च ज्ञान उनीहरूमा आएन । यस कारण अहिले चलेको शोधपद्धति दोषपूर्ण छ’ (‘वेदाङ्गज्यौतिष र लिच्छवि–कालगणना’, पूर्णिमा ३४ पूर्णाङ्क, २०३३, ९३–९४ पृ.) भनी नयराज पन्तले लेखेको कुरा पनि यही प्रसङ्गमा स्मरण गर्न सकिन्छ ।
फ्रान्सका अब्राहम ह्यसिन्थ आँक्तिल–दुपेरोँ (वि.सं. १७८८–१८६१) ले भने यस्तो अवस्था आउला भन्ने उहिल्यै देखिसकेका रहेछन् र त्यसैले ‘जसरी हामी ग्रीकहरूको र रोमनहरूको परिशीलन गर्छौं, त्यसरी नै भारतीयहरूको परिशीलन गरौं’ (विल्हेल्म हाल्बफास, इण्डिया एन्ड यूरोप: यान् एस्ए इन् अन्डरस्ट्यान्डिङ, अल्बानी, सन् १९८८, ६६ पृ.मा उद्धृत वाक्यको उल्था) भन्ने इच्छा उनले राख्नुपरेको थियो ।
यूरोपमा संस्कृतविद्याको लहर व्यावहारिक आवश्यकताले, रोमान्टिसिज्मले र विद्या सञ्चय गर्ने अभिप्रायले भएको थियो । प्रष्ट भन्दा, भारतमा अङ्ग्रेजी शासन आएपछि भारतकै धर्मशास्त्रअनुसार सनातन धर्मावलम्बीहरूमा अर्थात् आजभोलिको शब्दमा हिन्दूहरूमा शासन चलाउँदा फाइदा होला भन्ने विचारले नै खास गरी अङ्ग्रेजहरूले संस्कृत पढ्न थालेका हुन्।
रोमान्टिसिज्मको खास प्रभावमा जर्मनीमा संस्कृतको पढाइ शुरू भएको हो । अब भारतमा शासन गर्न संस्कृत चाहिंदैन, किनकि खुद भारतीयहरूले संस्कृतविद्यालाई अर्धजलमा राखिसकेका छन् । भारतमा अङ्गे्रजी शासन गएपछि स्वतन्त्र भारतको शासकीय स्वरूप ऐहलौकिक अर्थात् आजभोलिको शब्दमा धर्मनिरपेक्ष हुँदा संस्कृतभाषातर्फ पश्चिममा क्रमशः आकर्षण कम हुँदै गयो र त्यसको ठाउँ हिन्दी आदि लोकभाषाले लिए ।
अहिले त रोमान्टिसिज्म पनि मरिसकेको छ । अब बाँकी छ त विद्या सञ्चय गर्ने अभिप्राय मात्र । यूरोप-अमेरिकामा मुट्ठीभर विद्वानलाई छोडेर संस्कृतको कुरा गर्ने हो भने त्यहाँ स्थिति खस्किंदै गएको छ ।
उपयोगितावादी अंग्रेज
अठारौं शताब्दीको अन्तदेखि नेपालखाल्डोमा बसोबास गर्न थालेका क्यापुचिन पादरीहरूले यहाँ आफ्नो धर्म फैलाउने उद्देश्यले नेवारी भाषामा केही पुस्तक लेखेका छन् ।
त्यस्ता पादरीमध्येका जोभान्नी गुआल्बेर्तो (वि.सं. १७८६–१८५३) वि.सं. १८१८ मा नेपाल आएपछि नेवारी भाषाका शब्दको इटालियन भाषामा अर्थ दिई एउटा कोष तयार गर्न लागे । तर त्यो कोष पूरा नहुँदै पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१) ले काठमाडौं र ललितपुर राज्य जितेपछि यहाँ रहेका पादरी र उनीहरूका नेवार चेलाचपेटाहरूलाई वि.सं. १८२५ माघमा यहाँबाट धपाए ।
त्यही हूलमा जोभान्नी गुआल्बेर्तो पनि वीरगञ्जबाट दक्षिण–पश्चिममा पर्ने, अहिलेको भारतमा विहारराज्यको पश्चिम चम्पारन जिल्लाको चुहारी भन्ने गाउँमा बसे । वि।सं। १८३७ मा स्वदेश नफर्केसम्म उनले त्यही कोषमा काम गरिरहेका थिए ।
नेपालसम्बन्धी सिङ्गो पुस्तकको प्रकाशन कर्णेल विलियम कर्कप्याट्रिक (वि.सं. १८१३–१८६९) को यान अकाउन्ट अफ द किङ्डम अफ नेपौल (लन्डन, सन् १८११) बाट शुरू भएको हो । त्यो पुस्तक निस्केको ८ वर्षपछि फ्रान्सिस बुक्यानन ह्यामिल्टन (वि.सं. १८१८–१८८६) को यान अकाउन्ट अफ द किङ्डम अफ नेपाल एण्ड अफ द टेरिटरिज अनेक्स्ड टु दिस् डोमिन्यन बाइ द हाउस अफ गोर्खा (एडिन्बर्ग, सन् १८१९) प्रकाशित भयो ।
नेपालको इतिहासको रूपमा उभ्याउन सकिने भए पनि कर्कप्याट्रिकको पुस्तकलाई जस्तै ह्यामिल्टनको पुस्तकलाई पनि नेपालको परिस्थिति बुझ्न खोज्ने ब्रिटिश इष्ट इण्डिया कम्पनीका अधिकारीहरूको गुरु ग्रन्थ भन्दा फरक पर्दैन ।
उत्राइसौं शताब्दीमा नेपाली भाषामा लेखिएको वंशावलीको अङ्ग्रेजीमा उल्था गराई ड्यान्यल राइटले वि.सं. १९३४ मा प्रकाश गराएको पुस्तकको नाउँ ‘हिस्ट्री अफ नेपाल’ (केम्ब्रिज, सन् १८७७) अर्थात् ‘नेपालको इतिहास’ भए पनि त्यो वास्तवमा इतिहास होइन, त्यो त पौराणिक आख्यान, दन्त्यकथा र वास्तव घटनाको घोलमेल गरी लेखिएको वृत्तान्त मात्र हो । त्यो पुस्तक छापिएको तीन वर्षपछि प्रकाशित, हेनरी एम्ब्रोस् ओल्डफिल्ड (वि.सं. १८७९–१९२८) को स्केचेज् फ्रम् निपाल् (लण्डन, सन् १८८०) पनि शुद्ध इतिहासको पुस्तक नभई उपयोगिताको दृष्टिले लेखिएको पुस्तक मात्र हो भन्दा फरक पर्दैन ।
यस्तै कोटिमा जर्ज हार्ट डेस्मन्ड गिम्लेट (वि.सं. १९१२–?) को ‘नेपाल एण्ड द नेपलिज्’ (लण्डन, सन् १९२८) पर्छ । ब्रिटिश सेनामा गोर्खालीहरूलाई भर्ती गर्न थालेपछि तिनीहरूको विषयमा अङ्ग्रेजहरूले लेखेका किताब पनि उपयोगिताकै दृष्टिले नै लेखिएका हुन् भनी भनिरहनु नपर्ला । उपयोगिताको दृष्टिले र नेपालमा आफ्ना अनुभव समेटी अङ्ग्रेजहरूले थुप्रै पुस्तक भए पनि नेपालको खास इतिहास उनीहरूको चासोको विषय भएन ।
नेपाल लेखनमा फड्को
नेपालको इतिहासलाई नै मूल विषय बनाई लेख्ने कामको शुरूआत विलियम कर्कप्याट्रिकको पुस्तक छापिएको चौरासी वर्षभन्दा पछि मात्र शुरू भयो, त्यो पनि बङ्गालीमा । मूल पुस्तक त मैले देखेको छैन, तर ४२ साल पर्वसम्मको कुरा समेटिएको, सरयूप्रसाद मिश्रले गरेको त्यसको हिन्दी उल्था नेपाल का प्राचीन इतिहास (बाँकीपुर) भने देखेको छु । ड्यान्यल राइटले गराएको वंशावलीको उल्था, वि.सं. १९३७ मा भगवानलाल इन्द्रजी (वि.सं. १८९६–१९४४)को नेपालका उत्कीर्ण लेखसम्बन्धी लेख र त्यस्तै अरू कृतिलाई उपजीव्य बनाएर उक्त पुस्तक लेखिएको थियो ।
वि.सं. १९६२ र १९६५ मा गरी तीन ठेलीमा सिल्विं लेवि (वि.सं. १९१९–१९९२)को ल नेपाल, एत्यूद् ईस्तोरिक् दाँ र्वाइयोम् आँदू (प्यारिस, सन् १९०५, १९०८) छापिएपछि नेपालको इतिहासलेखनले फड्को मर्यो। ‘ल नेपाल्’ युगान्तकारी पुस्तक भए पनि त्यो फ्रेन्च भाषामा लेखिएकोले यतातिर त्यति प्रचारमा आउन सकेन ।
श्री ३ चन्द्र (वि.सं. १९२०–१९८६, शासनकाल १९५८–१९८६) ले अङ्ग्रेजीमा त्यस पुस्तकको उल्था गराई त्यसका टाइप गराइएका प्रति आफ्ना छोराहरूलाई बाँडिदिएकाले थोरै मानिसको मात्र त्यसमा पहुँच पुग्न सकेको थियो । वि.सं. १९७९ मा अम्बिकाप्रसाद उपाध्यायको नेपालको इतिहास (बनारस) निस्कियो । त्यसपछि मात्र वि.सं. १९८५ मा दुई ठेलीमा पर्सिभल ल्यान्डन (वि.सं. १९२५–१९८३) को नेपाल लण्डन, सन् १९२८) निस्किएको हो ।
कर्कप्याट्रिकको नेपालसम्बन्धी पुस्तक छापिएको ११७ वर्षपछि तथा बङ्गाली, फ्रेन्च र नेपाली भाषामा नेपालको इतिहास छापिइसकेपछि मात्र अङ्ग्रेजीमा पहिलोपटक नेपालको इतिहास (त्यो पनि नेपालका शासकले खर्च गरी लेख्न लगाएको) छापिएबाट अङ्ग्रेज जाति वास्तवमै उपयोगितामा विश्वास गर्ने जाति हो मान्न सकिन्छ जस्तो मलाई लाग्छ ।
यसरी नेपालको सिङ्गो इतिहास लेख्नमा अङ्ग्रेजहरूको रुचि धेरैपछि मात्र जागेको कुरालाई यूरोपका विश्वविद्यालयमा संस्कृतको पढाइ फ्रान्समा वि.सं. १८७१ मा र जर्मनीमा वि.सं. १८७५ मा तर भारतमा राज गरिरहेको बेलायतमा भने वि.सं. १८८९ मा मात्र शुरू भएको देखिएबाट पनि पुष्टि हुन्छ । त्यो पढाइ पनि अन्त जस्तो शुद्ध विद्याको अभिवृद्धिको लागि नभई भारतीयहरूलाई क्रिस्तान बनाउने उद्देश्यले क्रिस्तान धर्मका ग्रन्थ संस्कृतमा उल्था गर्नको लागि शुरू भएको कुरासँग जोड्न मन लाग्छ ।
तिब्बतमा महायान जीवित भए पनि महायानको आधार संस्कृतभाषाका ग्रन्थ नभई संस्कृतबाट तिब्बतीमा उल्था गरिएका ग्रन्थ भएकाले विद्वानहरू मूल संस्कृतमा लेखिएका महायानी ग्रन्थको खोजीमा लागिपरेका थिए ।
खोजीका क्रममा त्यस्ता ग्रन्थ छिटफुट पाइए पनि संस्कृतभाषाको आधारमा महायान मात्रे र संस्कृतमा लेखिएका महायानी ग्रन्थचाहिं नेपालमा ब्रायन हाउटन हाज्सन (वि.सं. १८५८–१९५१) मार्फत विद्वतसमुदायमा यस कुराको प्रचार हुन गयो ।
‘बुद्धको सिद्धान्तको ऐतिहासिक र परीक्षणात्मक परिशीलनको वास्तव प्रारम्भ वि.सं. १८८१ मा भयो । बौद्ध शास्त्रका मूल ग्रन्थ संस्कृतमा, नेपालका विहारमा सुरक्षित छन् भन्ने कुराको प्रख्यापन त्यो साल श्रीहाज्सनले गरे’ (चिप्स फ्रम अ जर्मन वर्कशप, १ ठेली, न्यू योर्क, सन् १८७२, १८७ पृ.बाट मेरो उल्था) भनी फ्रीद्रिख म्याक्स म्यूलर (वि.सं. १८८०-१९५७) ले लेखेका हुन् ।
भारत, भोट अनि नेपाल
नेपालको इतिहासको शास्त्रीय अर्थात् आजभोलिको शब्दमा वैज्ञानिक खोजीको शुरूआत पश्चिममा भारतको वा भोटको विषयमा खोजी गर्ने विद्वानहरूबाट भयो ।
सिल्विं लेविकै कुरा गरूँ । संस्कृत पढिसकेपछि बौद्ध धर्मतर्फ आकृष्ट भई उनी बौद्ध वाङ्मयका लागि अपरिहार्य जस्तै भएका तिब्बती र चिनियाँ भाषा पढ्न पुगे । बौद्ध वाङ्मयबाटै बौद्ध धर्मको जीवित परम्परा भएको नेपालतर्फ उनी तानिए र नेपालको विषयमा तीन ठेली बेजोड पुस्तक लेखे ।
नेपालसम्बन्धी पुराविद्याको अन्वेषणमा पाश्चात्त्य विद्वानहरूले उठानमा उत्कीर्ण लेख र लेखोट ग्रन्थहरूकै विषयमा काम गरे । गुजराती पण्डित भगवानलाल इन्द्रजीकै पद्धतिमा सेसिल बेन्डल (वि.सं. १९१३–१९६२) ले नेपालका प्राचीन उत्कीर्ण लेखको सम्पादन गरी पुराना लेखोट पुस्तकहरूको सूची पनि बनाए । त्यो क्रम एक प्रकारले भन्नुपर्दा, जूजेप्पे तुच्चि (वि.सं. १९५१–२०४०) को पश्चिम नेपालको खोजी, उनका चेला रेन्यरो न्योलि (वि.सं. १९८६ मा जन्म) को लिच्छविकालको शिलालेखसङ्ग्रह र लूछ्याह्नो पेतेक (वि.सं. १९७१–२०६७) को नेपालको मध्यकालको इतिहासको लेखनसम्म कायम रह्यो । रेन्यरो न्योलिका चेला रिकार्दो गार्बिनिले केही हदसम्म त्यो बिंडो अझै थामिरहेका छन् ।
नृतत्त्वको अर्थात् यान्थ्रोपोलजि र केहीपछि समाजशास्त्र अर्थात् सोसिओलजि पठनपाठन बढ्दै गएपछि नेपालसम्बन्धी खोजी भन्नु नै नृतत्त्व र समाजशास्त्रको परिशीलन हुन गयो भनी भन्दा अत्युक्ति नहोला । यसको एउटा दृष्टान्त बेलायतमा बसी नेपालसम्बन्धी खोजी गर्नेहरूमध्ये १९ जनाको इन्टभ्र्यू वि.सं. २०५९–६० मा लिइँदा १३ जना नृतत्त्वविद् र दुई जना समाजशास्त्री भएकोमा पाइन्छ (प्रत्यूष वन्त,नेपाल स्टडिज इन् द यूकेः कन्भर्सेशन्स् विद् प्य्राक्टिशनर्ज, काठमाडौं, सन् २००४, ‘इन्ट्रडक्शन्’ ९–१० पृ.)।
इतिहास लेखनीमा पहिले लिखित वस्तुको आधार लिइन्थ्यो भने अब अवलोकनमा जोड दिन थालियो । अलि विवेकशील नृतत्त्वविद्ले भने पुराना लेखको आधारमा पनि ती ती विषयमा लेख्ने उद्योग गरे । तर त्यस्ता लेखको उपयोग गर्न चाहिने भाषा आदिको ज्ञान त्यति नहुँदा उनीहरूका लेखाइ त्यति प्रामाणिक हुन सकेनन् ।
त्यसैले, बेन्हार्त कोल्फर (वि.सं. १९९४–२०५८)को परम्पराका, मूलतः संस्कृत पढेका, नेपालविद् अक्सल मिषायेल्स (वि.सं. २००६ मा जन्म) ले संस्कृतविद्यासँग जोडी नृतत्त्वको ऐतिहासिक ढङ्गले खोजी गर्न थाले । तर त्यो खोजी पनि विद्वज्जनग्राह्यको स्तरमा पुग्न सकेन ।
⚫⚫⚫
वि.सं. २००७ मा शासनमा आएको परिवर्तनले सयौं वर्षदेखि चल्दै आएको नेपाली लोकयात्रामा अर्थात् आजभोलिको शब्दमा सभ्यतामा क्रमशः असर पर्दै गयो । यस्तो असरको आकलन राणाशासन जानुभन्दा अगाडि नै नयराज पन्तले गरिसकेका थिए ।
२००७ मङ्सीर २९ गते उनले लेखेको एउटा संस्कृत श्लोकमा त्यो भाव यसरी प्रतिविम्बित छ-
भविष्यन्ती नेपालदशा
राणारुणस्य महसा परिभूयमाना
लीना विभिन्नमतजातिभराजयस्ताः ।
तस्मिन् समाश्रयति पश्चिमशैलशृङ्गं
भूयः पुरा कृतपदाः परितो विभान्ति ।।
अर्थात्
नेपालको भविष्यको अवस्था
राणारूपी सूर्यको तेजले दबाइएका, लुकेका, थरीथरीका धर्म र जातिरूपी नक्षत्रका ती ताँती त्यसले (राणावंशले)
पश्चिमाचलको टुप्पोमा आश्रय लिंदा फेरि आफ्नो पुरानो पदमा पुगी चारैतिर सुहाइरहेछन् ।
जुन वेला यो पद्य रचियो, त्यस वेला नेपालमा राणाशासन ढल्ने उपक्रममा थियो, ढलिसकेको भने थिएन । श्री ५ त्रिभुवन (वि.सं. १९६३–२०११, राज्यकाल वि.सं. १९६८–२०११) दिल्लीमा शरण लिन पुगेको एक महीना नाघिसकेको थियो र उनलाई पदच्युत गरी उनका माहिला नाति ज्ञानेन्द्र (वि.सं. २००४ मा जन्म, राज्यकाल वि.सं. २००७, २०५८–२०६५) लाई श्री ५ महाराजाधिराज बनाइसकेको अवस्था थियो ।
आफ्नो आडमा नेपालमा रजाइँ चलाएर आएका राणाहरूको वर्तमान नेपालमा अझ कति पकड छ भनी बुझ्न ब्रिटिश सरकारका प्रतिनिधि काठमाडौं आएको ९ दिनपछि यो पद्य रचिएको थियो ।
यो पद्य वि.सं. २००७–०८ को नेपालको राजनीतिको अवस्थाको विषयमा आफूले देखेसुनेका र मनमा लागेका कुरा दिनकादिन जस्तो लेखी नयराज पन्तले तयार गरेको बृहत्तर ग्रन्थमा पनि गाभिएको छ । आफ्ना संस्कृत पद्यको सँगालो हृदयदोह मा शीर्षकसमेत हाली यो पद्य पनि पन्तले गाभेकाले यस पद्यलाई उनले खास मानेको देखिन्छ । राणाशासनले दबाइएका, थरीथरीका धर्म र जातिमा बाँडिएका नेपालीहरू राज्यमा राणाहरूको पकड कमजोर हुँदा फेरि जुर्मुराउन थालेका छन् भन्ने भाव यस पद्यमा छ ।
पृथ्वीनारायण शाहको खलनायकीकरण !
राणाशासन आउनुभन्दा अगाडि अर्थात् भीमसेन थापा (वि.सं. १८३२–१८९६, शासनकाल वि.सं. १८६३–१८९४) को शासन शुरू भएदेखि नै राज्यलाई सबै जातको फूलबारी ठात्रे पृथ्वीनारायण शाहको आदर्श ओझेल पर्न थालिसकेको थियो ।
राणाकालमा राणाजीहरू गर्भैदेखि जर्नेल भए झैं भीमसेन थापाको शासनभर उनको परिवारबाहेक अरू कोही जर्नेल भएको दुनियाँले देख्न पाएन । भीमसेन थापाले राज्य अँठ्याउँदा काटिनेमा उनी सरहका काजी नेवार त्रिभुवन प्रधान र गुरुङ नरसिंह पनि थिए । यस कारण पृथ्वीनारायण शाहको उदयसँगै देशका थरीथरीका जाति र भाषा दबाउने कामको शुरूआत भयो भनी बेलाबखत जसरी प्रचार हुनेगर्छ, प्रमाणद्वारा त्यसलाई पुष्टि गर्न सकिंदैन ।
पश्चिमबाट अनाक्रान्त आधुनिकताबाट सम्पत्र नयराज पन्तले आजभन्दा ७० वर्षभन्दा अगाडि नै पहिल्याएको, तत्तज्जाति र तत्तद्धर्मसम्बन्धी पहिचानको अभिव्यक्ति अहिले पराकाष्ठामा पुगेको छ । एउटै श्लोकमा कुरा टुङ्ग्याइएकोले होला, जातिहरूको त्यस जुर्मुर्याहटको परिणाम के हुन्छ भन्ने विषयमा भने उनले केही लेखेका छैनन् ।
एथ्नोशोभिनिज्म भनी परिभाषित गर्न मिल्ने त्यस जुर्मुर्याहटले हद नाघ्नु भनेको देश फेरि पृथ्वीनारायण शाह आउनुभन्दा अगाडिकै अवस्थामा फर्कने सम्भावनातिर अघि बढ्नु हो । सनातन वर्णाश्रमधर्मको रक्षाको लागि उद्यत ब्राह्मण महासम्मेलन नाउँको संस्थाको शब्द उधारो लिई भन्दा, ‘यूरोपियन कुशिक्षाले देशलाई कवलित गर्दा’ यस्तो अवस्था आएको हो । यस्तो अवस्था नेपालमा मात्र होइन, यूरोपियन उपनिवेशबाट मुक्त थुप्रै देशमा कतै धेरै, कतै थोरै नभएको भने होइन ।
‘यो देश त अन्त्यजहरूको हो, तिमीहरू यहाँ आगन्तुक हौ’ भन्ने भाव व्याप्त हुँदा नै यस्तो अवस्था आएको हो भन्ने विषयमा ब्राह्मण महासम्मेलनमा लागेका, नेपालका जगत्राथ गुरागाञी (वि.सं. १९५९–२०२३) ले ८८ वर्षभन्दा अगाडि नै तात्कालिक भारतको सन्दर्भमा लेखेको कुरा अप्रासङ्गिक हुन सक्दैन । यो हुनुको कारण एक वाक्यमा भन्दा दुर्गृहीत पाश्चात्त्य शिक्षा र पृथ्वीनारायण शाहले लिएको नीतिको परित्याग नै हो ।
पृथ्वीनारायण शाहलाई अहिले नेपाल राज्यले नै प्रतिनायक अर्थात् आजभोलिको शब्दमा खलनायक बनाइसकेको छ र कहलिएका ऐतिहासिकहरूबाट अर्थात् आजभोलिको शब्दमा इतिहासकारहरूबाट त्यसको समर्थन गर्ने काम पनि शुरू भइसकेको छ । तर नेपाल राज्य अडाउने हो भने, उनले आफ्नो उपदेशमा बोलेको धेरैजसो भाग मननीय मात्र होइन, त्यसलाई लागू गर्नुपर्ने अवस्था छ ।
पृथ्वीनारायण शाहलाई प्रतिनायक बनाउने कामको थालनी उनले नेपालखाल्डो जितेदेखि नै पश्चिमाहरूले गरेका थिए । खुलाएर भन्दा, त्यसताका यहीं धर्मप्रचार गरी बसेका कापुचिन पादरी जूजेप्पे (वि.सं. ?– १८४३) को ‘अकाउन्ट् अफ् द किङ्डम् अफ् नेपाल्’ अर्थात् ‘नेपालराज्यको बयान’ भन्ने लेख हेर्न सकिन्छ । र, यो क्रम अहिलेसम्म अनवरत रूपले चलिरहेकै छ ।
‘पुरोगामी इसाई मिशनरी र क्यासियन, कर्कप्याट्रिक, ह्यामिल्टन, हज्शन्, ओल्डफिल्ड, लेवी, ल्याण्डन जस्ता पश्चिमी विद्वानहरूले नेपाल अधिराज्यको बयान लेखेर बसालेको गौरवपूर्ण परम्परालाई कायम राख्ने कार्यमा लागिरहेका’ (आदित, ‘डा. लुड्विग एफ. स्टिलर’, स्वतन्त्र विश्व, १४ वर्ष, ६ सङ्ख्या, २८–३२ पृ.) फादर लुड्विग स्टिलर (वि.सं. १९८५–२०६५) को दृष्टि मात्र पृथ्वीनारायण शाहप्रति अपवादको रूपमा यथार्थपरक छ ।
आजको नेपाल अध्ययन
फरक फरक रूपरङ्ग, जाति, भाषा र धर्म भएकाहरूले स्वत्वको लागि गरेको सङ्घर्ष, माओवादी युद्ध, वि.सं. २०६५ मा राजतन्त्र हटेपछि नेपाल सङ्घराज्य र ऐहलौकिक राज्य घोषित भएपछिको अवस्था नै अहिले धेरैजसो पश्चिमा नेपालविद्हरूको अन्वेषणको विषय बत्र गएको छ । यस्तो खोजीमा नृतत्त्वविद् र समाजशास्त्री मात्र नभई ऐतिहासिक, राजनीतिशास्त्री र भाषाविशेषज्ञ पनि लागिपरेका छन् ।
‘नेपालका नेवारको समाज र धर्म’ (सोस्जेते ए रेलिज्यों शे ले नेवार दु नेपाल, प्यारिस, सन् १९८४) लेख्ने जेरार्ड तोफाँ (वि.सं. २००४ मा जन्म) ‘राजतन्त्रदेखि गणतन्त्रसम्म— परिवर्तन भइरहेको नेपालसम्बन्धी लेखहरू’ (फ्रम् मोनार्की टु रिपब्लिक: एस्एज अन चेन्जिङ नेपाल, काठमाडौं, सन् २०१३) लेख्न पुग्छन् ।
‘जङ्गबहादुर यूरोपमा— पश्चिममा पहिलो नेपाली दूतमण्डल’ (जङ्गबहादुर इन युरोप: द फस्र्ट नेपालीज् मिशन टु द वेस्ट, काठमाडौं, सन् १९८३) लेख्ने जोन ह्वेल्प्टन (वि.सं. २००६ मा जन्म) ३०० पृष्ठ भएको ‘नेपालको इतिहास’ (अ हिस्ट्री अफ नेपाल, केम्ब्रिज, सन् २००५) मा आधाभन्दा बढी पृष्ठ सात सालपछिको इतिहासले भर्छन् ।
‘भिक्षु, गृहस्थ र तान्त्रिक पुरोहित— नेवारी बौद्ध धर्म र विधिविधानमा यसको पुरोहिततन्त्र’ (मङ्क, हाउसहोल्डर, यान्ड ट्यान्ट्रिक प्रिस्ट: नेवार बुद्धिज्म यान्ड इट्स हाइरार्की अफ् रिट्युअल, केम्ब्रिज, सन् १९९२) लेख्ने डेभिड गेल्नर (वि.सं. २०१४ मा जन्म) ‘संसारको एक मात्र हिन्दू राज्यमा भिन्न जातीयता र राष्ट्रियता’ (‘एथ्निसिटी यान्ड न्याश्नलिज्म् इन द वल्र्डज् ओन्लि हिन्दू स्टेट’, डेभिड गेल्नरसमेतद्वारा सम्पादित न्याश्नलिज्म् यान्ड एन्निसिटी इन नेपाल, आम्स्टरड्याम, सन् १९९७ मा) लेख्न पुग्छन् ।
‘हिमालयका आवाज— आधुनिक नेपाली साहित्यको चिनारी’ (हिमालयन भोइसेज्: यान् इन्ट्रडक्शन् टु मर्डन् नेपाली लिट्रेचर, दिल्ली, सन् १९९३) लेख्ने माइकल हट (वि.सं. २०१४ मा जन्म) ‘दरबारमा वध, कुमन्त्रणाका सिद्धान्त र नेपाली बाजारु साहित्य’ (‘द रोयल प्यालेस म्यासाकर, कन्स्पिरेसी थ्यौरिज् एण्ड नेपाली स्ट्रीट लिटरेचर’, हटसमेतद्वारा सम्पादित पोलिटिकल चेञ्ज एण्ड पब्लिक कल्चर इन पोस्ट–१९९० नेपाल, दिल्ली, सन् २०१७) मा परिश्रम गर्छन् ।
‘शक्तिका देवता— मगर र मध्य नेपालमा हिन्दू धर्म’ (ल द्यो दु पुभ्वार: ल मगर ए ल’ यहुदिज्म् ओ नेपाल संत्रल्, प्यारिस, सन् १९९३) लेख्ने मारी लकौंत–तिलुइन ‘नेपालमा हिन्दू राजत्व, भिन्नजातीय पुनर्जागरण र माओवादी विद्रोह’ (हिन्दू किङ्शिप, एथ्निक् रिभाइभल्, एण्ड माओइस्ट रिबेलियन् इन नेपाल, नयाँ दिल्ली, सन् २००९) लिएर देखा पर्छिन् । यी त विदेशीका नेपाल अध्ययनका दृष्टान्त मात्र हुन्, फेहरिस्त अझै लम्ब्याउन सकिन्छ ।
ठूल्ठूला होटलमा यिनै विषयमा सभा हुन्छन्, तिनै सभामा पढिएका लेख पछि पुस्तकाकारमा छापिई बजारमा आउँछन्, अनि तिनै किताबको चर्चा विद्वत्पत्रपत्रिकामा हुन्छ । यस्तो देख्दा यस्ता पुस्तकको रचना पश्चिमा शासकहरूलाई नेपालसम्बन्धी नीति बनाउन सजिलो होओस् भनी भएको त होइन भन्ने भाव पनि स्वाभाविक रूपमा उत्पन्न हुन्छ ।
कारण जेसुकै भए पनि, सेसिल बेन्डल, सिल्विं लेवि, औगुस्त कन्रादि, हान्स योर्गेन्सेन, जूजेप्पे तुच्चि, लूछ्याह्नो पेतेक, मेअरी शेपर्ड स्लसर, जिग्फ्रीद लिन्हार्द, रेन्यरो न्योलि, बेन्हार्त कोल्फर, थियोडोर रिकार्डी, बेर्त भान देर होक जस्ता संस्कृतनिष्ठ नेपालको खोजी गर्ने विद्वान मात्र होइन, नृतत्त्वमा पूरै रमाउने अन्वेषक पनि पैदा गर्न पश्चिमले धेरै हदसम्म छोडिसकेको देखिन्छ । अनि नेपालको वर्तमान स्थिति विश्लेषणमा नै अहिलेका विद्वानहरू रङमङिरहेका छन् ।
⚫⚫⚫
वर्तमान यस्तो भए पनि पश्चिमी हावा लाग्नुभन्दा अघि नै नेपाल खोजीमा पश्चिमा विद्वानहरू आकलझुकल लागिपरेको विषयमा पनि केही भन्नु आवश्यक छ ।
सबभन्दा पहिले म्याक्स डिग (वि.सं. २०१५ मा जन्म)को ‘नेपालसम्बन्धी पुराना चिनियाँ विवरण, हिमालयपारिको सन्दर्भमा नेपालमा बस्ती शुरू भएको कथा’ (अर्लि चाइनिज रिपोर्टस् अन नेपाल, द फाउन्डेशन लेजन्ड् अफ नेपाल इन इट्स ट्रान्स–हिमालयन कन्टेक्स्ट, लुम्बिनी, सन् २०१६) कै कुरा गरौं ।
प्राचीन चिनियाँ वाङ्मयमा नेपालको चर्चा जहाँ जहाँ गरिएको छ, त्यसको मूलपाठ, अङ्ग्रेजी उल्था र व्याख्या यस पुस्तकमा समेटिएको छ । त्यसो गर्दा चिनियाँ भाषामा लेखिएका वृत्तान्त मात्र नदिई संस्कृतबाट परापूर्वकालमै चिनियाँमा उल्था भएका वृत्तान्त पनि अङ्ग्रेजी उल्था गरी गाभिएको छ । अहिले पाकिस्तानमा पर्ने स्वात (सुवास्तु), अहिले चीन र ताजिकिस्तानमा पर्ने खोतन, कश्मीर, नेपाल र भोटमा बस्ती शुरू भएको कथाको पनि थरीथरीका आकरको आधारमा त्यस्तै छाँटले विवेचना गरिएको छ ।
त्यसैले पनि, म्याक्स डिगको यो कृति पाण्डित्य र परिश्रमको सुन्दर संयोजन हो भनी निर्धक्क भन्न सकिन्छ । संस्कृत र संस्कृतपरम्पराका भाषा रोमन लिपिमा पनि लेख्न सकिने पद्धति पश्चिमा विद्वानहरूले धेरै अगाडि नै बसाएकाले रोमन लिपिमा केही अंश मात्र होइन, पूरै ग्रन्थ प्रकाश गर्ने चलन पनि चलेको छ । त्यसै गरी चिनियाँ भाषालाई रोमन लिपिमा लेख्ने चलन पनि नचलेको होइन । तर पश्चिमा भाषामा लेखिएका पुस्तकमा संस्कृत अंश रोमनमा र चिनियाँ अंशचाहिं चिनियाँ नै लिपिमा दिने गरेको देखिएको छ ।
यही नीतिअनुसार डिगको किताबमा चिनियाँ भाषाको अंश चिनियाँ लिपिमै दिइएको र संस्कृत वा नेपाली अंशचाहिं रोमन लिपिमा दिइएकोले आफ्नोपन हत्पति नछोड्ने शक्तिशाली राष्ट्रको रहनसहनको प्रभाव भने कायमै रहेको देख्न सकिन्छ ।
ब्रिटिश साम्राज्यभित्र नेपाल नपरेकोले र नेपालका शासकहरूले पार्थक्यको नीति लिएकाले पनि नेपालमा अङ्ग्रेजी भाषाको प्रभाव भरतखण्डका अरू भागको दाँजोमा कम पर्यो । त्यसैले भरतखण्डमा अन्यत्र उम्दा अन्वेषण खास गरी अङ्ग्रेजीमा लेखिने चलनको ठीक विपरीत नेपालमा भने खास गरी उम्दा कृति संशोधन-मण्डलको परम्पराअनुसार नेपाली भाषामा नै लेखिन गए । तर नेपाली भाषाका कृतिको उचित उपयोग नहुनु यो पुस्तकको कमजोरी बनेको छ ।
⚫⚫⚫
यस प्रसङ्गमा फ्रन्त्स कार्ल एर्हार्ड (वि.सं. २०१० मा जन्म)को पुस्तकको पनि चर्चा गरौं ।
दुई खण्डमा विभक्त उनको पुस्तकको पहिलो खण्ड ‘लोचेन सोनाम ग्याछोको चरित र यात्राहरू’ (लाइफ एण्ड ट्राभल्स अफ लो–चेन् सो–नाम् ग्या–छो, लुम्बिनी, सन् २००२) संस्कृत ग्रन्थका तिब्बती भाषामा नामी अनुवादक सोनाम ग्याछो (वि.सं. १४८१–१५३९) को चरित अर्थात् आजभोलिको शब्दमा जीवनी हो ।
दोस्रोचाहिं ‘बौद्ध चिठीपत्र— लोचेन सोनाम ग्याछोका चिठीपत्र’ (अ बुद्धिस्ट करेस्पोन्डेन्स: द लेटर्स अफ लो–चेन सो–नाम ग्या–छो, लुम्बिनी, सन् २००२) उनैले लेखेका २८१ वटा चिठीको सँगालो हो ।
सोनाम ग्याछोको त्यो चरित उनका पट्टशिष्य चौथा श्यामर्पा लामा (वि.सं. १५१०–१५८१)ले लेखेका हुन् र ती चिठीपत्रको एकै ठाउँमा सङ्ग्रह पनि उनैले गरेका हुन् । सोनाम ग्याछोको चरित र चिठीपत्रहरूको सँगालो भएको मूल पुस्तक नेपालको राष्ट्रिय अभिलेखालयमा छ । एर्हार्डको यो कृति तिनैको वैदुष्यमय परिशीलन र विवेचना हो । अहिलेका लागि पुस्तकमा रहेको नेपालसँग गाँसिएको एउटा कुराको मात्र चर्चा गरौं ।
सोनाम ग्याछोले लेखेका ती चिठीमध्ये चारवटा संस्कृतमा छन् । तिनमध्ये दुईवटा उनले वनरत्न (वि.सं. १४४१–१५२५) लाई र बाँकी दुईवटा उनैका अवतारीलाई लेखेका हुन् । सोनाम ग्याछोका चिठी पाउने यी वनरत्न आजको बाङ्लादेशको चटगाउँमा राजकुमारको रूपमा जन्मी महायान, वज्रयान र थेरवादको पढाइ गरी ग्रन्थकारको रूपमा उत्रेका नामी वज्रयानी साधक हुन् ।
भोटमा धर्म प्रसार गर्न जाने सिलसिलामा वि.सं. १४७८ मा पाँच वर्ष नेपाल बिताएका उनी वि.सं. १४८३ मा भोट गएका थिए । तर भोटमा आफ्नो खास पूछ नभएकोले उनी छिटै नेपाल फर्के । र, उनी स्वयम्भू शान्तिपुरमा बस्न थाले । यस अवधिमा नेपालमा ज्योतिर्मल्ल (राज्यकाल वि.सं. १४५२–१४८५) राजा थिए ।
भोटबाट निम्ता आएकोले नेपालबाट वनरत्न वि.सं. १४९० मा फेरि भोट गए । त्यस वेला ज्योतिर्मल्ल बितिसकेका हुँदा उनका जेठा छोरा यक्ष मल्ल (वि.सं. १४६५–१५३८, राज्यकाल वि.सं. १४८५–१५३८) गद्दीमा थिए । भोटमा तीन वर्ष बिताई उनी नेपाल फर्के । यसपटक राजा यक्ष मल्लले र पाटनका राजा जयपालले वनरत्नलाई पाटनमा गोपीचन्द्र महाविहार (पिन्तुबही) चढाए भनी तिब्बती वृत्तान्तमा लेखिएको छ । त्यस बेला पाटन स्वतन्त्र राज्य नभई भक्तपुर राजधानी भएको राज्यभित्र पथ्र्र्यो, त्यहाँ महापात्रपदवीधारी थुप्रै सामन्तहरूको शासन थियो, नाउँको अन्तमा पाल शब्द जोडिएका महापात्र पनि त्यस्ता सामन्तभित्र पर्थे, यसैले तिनैमध्येका यी जयपाल हुनुपर्छ भन्ने मलाई लाग्छ ।
वनरत्न गोपीचन्द्र विहारमै बस्न थाले । उनलाई फेरि भोट जाने निम्तो आएकोले उनी वि.सं. १५०९ मा भोटतिर लागे । यस पटकको यात्रामा सोनाम ग्याछोसँग उनको भेट भयो । ग्याछो उनका शिष्य मात्र होइन, अनुचरसमेत बने । भोटमा तीन वर्ष बिताई वनरत्न नेपाल फर्कंदा सोनाम ग्याछो उनलाई पुर्याउन दोलखासम्म आएका थिए ।
वनरत्न नेपाल फर्केपछि सोनाम ग्याछोले उनलाई लेखेको एउटा चिठीमा मिति वैशाख महीनाको उत्राइसौं तिथि छ । यो चिठी इ.सं. १४५४ तदनुसार वि.सं. १५११ मा लेखिएको हुनुपर्छ भन्ने एर्हार्डको विचार छ । आफ्ना सेनामेनासहित हजुर गोपीचन्द्रमा पुग्नुभएकोले ख्वप्व (भक्तपुर) का राजालाई सन्तोष भयो, हजुर त्यहाँ आनन्दसँग रहनुभएको छ भनी भिक्षु आकाशरत्नबाट सुन्दा खुशी लाग्यो, हजुरले आज्ञा गर्नुभएबमोजिम चित्त दृढ गरेर बसेको छु, हजुरले मलाई आफ्नो मन परेको छोरालाई जस्तै सधैं अनुग्रह गर्नुपर्छ भन्ने आशय त्यस चिठीको छ ।
दोस्रो चिठीमा तिथिमिति केही नलेखिएको भए पनि एर्हार्डले त्यसको समय इ.सं. १४६५ तदनुसार वि.सं. १५२२ तोक्न सकिन्छ भनी लेखेका छन् । हजुर आराम हुनुहुन्छ भन्ने कुरा गगनध्वजको मुखबाट सुन्दा मलाई सन्तोष लाग्यो, म पनि हजुरको निगाहले सुखसँग बाँचिरहेको छु, हजुरले आज्ञा गर्नुभएबमोजिम एकाग्र चित्त गरी बसेको छु, अर्को वर्ष हजुरकहाँ आउनेछु, गणचक्र पूजाको लागि सुन पठाएको छु, बाटोमा आइपर्ने कष्टबाट मलाई बचाउनुहोस्, पूर्व र पश्चिमका दुईथरी बाटामध्ये कुन सजिलो होला, गगनध्वजको मुखबाट सुत्र पाऊँ भन्ने आशय त्यस चिठीको छ ।
यसपछि वि.सं. १५२३ मा सोनाम ग्याछो नौ जना सेनामेना लिई नेपालतिर हिंडे । उनी दोलखामा आइपुग्दा भोटबाट यतातिर आउनेसँग कर उठाउने अधिकार पाएका जते नाउँ भएका पुरुषले उनको स्वागतसत्कार गरे । दोलखाबाट तिमाल, भक्तपुरहुँदै ग्याछो काठमाडौं आइपुगे । काठमाडौं मछिन्द्रबहालमा कोक साहू भन्नेकहाँ उनी वास बसे ।
भोटसँग नेपालको परापूर्व कालदेखि बेपार चलेकोले ती साहूसँग पहिलेदेखि सोनाम ग्याछोको सम्पर्क हुनुपर्छ जस्तो मलाई लाग्छ । ग्याछोले यहाँ आई धर्मकर्म गर्न चाहिने सामग्रीको लागि साहूको हातमा दुई द्रम्म असर्फी राखिदिए । भोलिपल्ट गोपीचन्द्र महाविहार गई वनरत्नसँग भेट गरे ।
आफ्ना गुरुलाई उनले चढाएको कोसेली देखेर पाटनका राजालाई लोभ लाग्यो । त्यसमा आफ्नो पनि भाग लाग्नुपर्छ भनी ती राजाले ग्याछोकहाँ तिनै कोक साहूलाई भन्न पठाए । सबै त्यागी जोगी भएकालाई दिएको कुरामा लोभ गर्नुहुँदैन भनी ग्याछोले जवाफ दिए । खुद वनरत्नले पनि गोपीचन्द्र महाविहारबाट केही पनि बाहिर जाँदैन भनी जोड दिएपछि त्यो किचलो साम्य भयो ।
अनि वनरत्न र ग्याछो शान्तिपुरमा पूजा गर्न गए । भोटको रक्षक भनी मानिएका टुँडिखेलका महाकालको र वज्रयोगिनीको पीठ भनी मानिएको रमदोली श्मशानमा ग्याछोले पूजा गरे । त्यही श्मशानमा दुई वर्षपछि वनरत्नको दाह भएको हो । स्वयम्भू, बौद्ध, थंबहिल, पशुपति, आदिनाथ, फर्पिङ, रातोमछिन्द्रको दर्शन पनि उनले गरे । राजा यक्ष मल्लका दुई जना छोराले सोनाम ग्याछोसँग धर्मकर्मको विषयमा सल्लाह गरेका थिए । अनि सोनाम ग्याछो भोटतर्फ लागे ।
वि.सं. १५२५ मा वनरत्न गोपीचन्द्र महाविहारमा परलोक भएपछि पाटनकै एक स्थानीय उनका अवतारी छानिए । उनीसँग पनि सोनाम ग्याछोको चिठीपत्र हुन्थ्यो । सोनाम ग्याछोले ती अवतारीलाई लेखेका दुईवटा चिठी एर्हार्डको पुस्तकमा छापिएको छ । तीमध्ये पहिलोमा खालि महीनाको नाउँ मात्र दिइएको छ । त्यो पनि ‘उत्तरफल्गुनी महीनामा’ भनी नक्षत्रबाट नाउँ दिइएकोले फाल्गुन महीना हो कि भनी अनुमान गर्नुपर्छ । चिठीको मिति इ.सं. १४७९ तदनुसार वि.सं. १५३६ भनी एर्हार्डले ठहर्याएका छन् ।
महापण्डित वनरत्नको निर्माणकाय (अवतारी) भई नेपालको ललितग्राममा जन्मनुभएको हजुरबाट धर्मदेशना भइरहेको हुँदा मनमा आनन्द भइरहेछ, सबै जगत्को हितको लागि हजुर भोट देशमा पाल्नुहोस्, त्यसको लागि म दूत पठाउँछु र सुन चढाउँछु भन्ने आशयले त्यो चिठी लेखिएको छ ।
अर्को चिठीमा तिथिमिति केही छैन । त्यसलाई एर्हार्डले इ.सं. १४८१ तदनुसार वि.सं. १५३८ को भनी मानेका छन् । वनरत्नका ती अवतारीले सोनाम ग्याछोलाई मन्त्रेको धागोले बनाएको जुत्ता र चिठी पठाएका रहेछन् । त्यो पाएपछि सोनाम ग्याछोले लेखेको चिठीमा उनलाई एउटा टोपी, चार थान लुगा र एउटा आसन पठाइएको कुरा लेखी भलाकुसारी गरिएको छ ।
सोनाम ग्याछोले लेखेका यी संस्कृत चिठीमा उनको नाम संस्कृतभाषामा उल्था गरी पुण्यसागर राखिएको छ । यी चिठीको संस्कृतभाषा प्राञ्जल छैन र त्यसले विवक्षित अर्थ पनि त्यति राम्ररी बुझाउन सक्दैन । त्यसमाथि, व्याकरणसम्बन्धी गल्ती पनि यहाँ ठाउँठाउँमा छन् । यी संस्कृत चिठीको उल्था तिब्बतीले नै तिब्बती भाषामा पहिल्यै गरिसकेकाले मात्र ग्याछोको आशय स्पष्टसँग बुझिन्छ भनी यहाँनिर भन्नुपर्छ । अर्कै भाषापरम्पराका र भिन्नै रहनसहनमा हुर्केका विद्वानले संस्कृतभाषाका ग्रन्थको आफ्नो भाषामा उल्था गर्न सके पनि संस्कृतमा लेख्न उसलाई गाह्रो हुन्छ भन्ने कुराको थप उदाहरणको रूपमा यी चिठीको उपयोग गर्न सकिन्छ ।