हिउँ पग्लिए झैं
पग्लिंदै–पग्लिंदै
हराइसक्नुपर्ने थियो उहिल्यै
देशको छातीमा जमेको जात–व्यवस्था
म खोजिरहेको छु
घामको प्रचण्ड राप
खोइ ! कहाँ लागेको छ घाम ?
घाम,
लुकाएर आफ्नै खोकिलामा
जडवत् उभिइरहेका हिमपहाडहरू
बस् उदाउनको लागि उदाउँछ– बिहान
बस् अस्ताउनको लागि अस्ताउँछ– साँझ
उफ् !
चक्रीय रीतको फेरि उही आदिम उपक्रम...
यस्तो लाग्छ
ब्युँझेर फेरि जगाइरहेको छ– उही प्रेतात्मा
ओ, घाम !
तिम्रो चिसो रापले
पग्लिंदै पग्लिएनन्
पग्लिनुपर्ने जडवत् विरासतहरू
ओ, घाम !
तिम्रो प्रचण्ड ताप र क्षमता कोरिएको
विज्ञानमाथि पनि शंका छ
म चाहन्छु–
तिम्रो रापमा यसरी पग्लियोस् कि
रिस, राग, अहम् र आक्रोशहरू
जसरी आगोको प्रेममा भष्मीभूत हुन्छन् अँगार
म चाहन्छु–
तिम्रो रापमा यसरी पग्लियोस् कि
विभेद, दलन र बहिष्करणहरू
जसरी हुरीको प्रेममा उडिजान्छन् पत्कर
तर, म देख्छु
यो युगमा पनि
– पहाड उहीं छ, उस्तै छ
– मधेश उहीं छ, उस्तै छ
– जंगल उस्तै छ
– हावाहुरी उस्तै छ
– घाम जून उस्तै छन्
जस्तो कि
न्यायालयबाट न्याय हराए जस्तो
सिमानाबाट माटो हराए जस्तो
आँशुहरूबाट आँखा हराए जस्तो
ओ, घाम !
यसरी भएर
हिमपहाडहरूको संरक्षक
सधैं तिमीले
जगाइरहने हो भने आदिम प्रेतात्मा
गरिरहने हो भने– किनारलाई बेवास्ता
सधैं तिमीले उसरी नै
गुडाइरहने हो भने– विभेदको पाङ्ग्रा
जपिरहने हो भने– छोइछिटोको रुद्राक्ष
स्वयम् निस्कनेछन्
सहनै नसकेर एकदिन
भुइँमान्छेहरूका आँखाहरूबाट
आँशुको साटो प्रचण्ड ज्वालाहरू
र, सोच त त्यतिवेला
तिम्रो यो आदिम सत्ताको हविगत के होला ?