कविता

सेल्फी

Himal Khabar
रमेश क्षितिज
Himal Khabar

दोबाटोमा उभिएको – एक पुरानो सालिक हुँ
बेला/बेलामा केवल निस्पृह हेर्छन् अपरिचित आँखाले
छैन – केही गुनासो छैन !

मेरा लागि – नचिनेको अप्रचलित बाटो छ
नदेखेका मोड/नौलो बस्ती/परचक्री भीडमा
भन्दैन कसैले – शुभ प्रभात
गर्दैन – मेरो नामको प्रेमिल सम्बोधन
मलाई देखेर कोही मुस्कुराउँदैन यहाँ !

कोरोना संक्रमणको त्रासले
टाढिंदै बसेको छिमेकी जस्तो
समय पनि उभिन्छ – पल्लो किनारमा !

म हुँ
– नितान्त पढ्दै नपढिएको दर्शनको कुनै किताब
म हुँ
– बुझ्दै नबुझिएको कविताको एक दुरुह पंक्ति
म हुँ
– उड्दै जाने हुस्सुले छोपिएको टाढा जङ्गलको एक्लो रुख
म हुँ
– कसैले नचिनेको दूर देशको अपरिचित बटुवा

जहाँ छु उभिएको – होइन त्यो जमीन आफ्नो
होइन बास बसेको धर्मशाला मेरो
तर पनि आइपुगेको छु कहाँ/कहाँबाट म यहाँ
बिसाएर उद्यानमा केही क्षण बात मारेको छु –
छेउमा बसेकी युवतीसँग
काँक्रो/मकै बेच्ने किशोर
र बिरुवामा पानी चार्दै मुस्कुराइरहेको हँसिलो मालीसँग

Himal Khabar

नसोध –
एकदम नसोध मेरो चिनारी
आएको म कहाँबाट/जानु छ कुन गन्तव्य नसोध
कुनै पूर्वकथा भन्न असमर्थ मलाई
नसोध – मेरो आगत/विगत/गाउँ/ठाउँ केही नसोध

धर्तीको एक कण म – मेरो के परिचय ?
समुद्रको एक बुँद म – मेरो के परिचय ?
आगोको एक झिल्को म – मेरो के परिचय ?
बतासको एक झोक्का म – मेरो के परिचय ?
आकाशको एक टुक्रा म – मेरो के परिचय ?

जे हुँ –
तिम्रो सामुन्नेमा देखिएको म हुँ
अझ नदेखिएको – झन् धेरै/धेरै हुँ म

त्यसो त,
अरुले नचिन्नु ठीकै हो मलाई
आफैंले आफैंलाई त चिन्न बाँकी छ मैले ! Himal Khabar

Himal Khabar