वसन्तपुर डबलीमा आएर मैले एकैछिन यो क्याफे खोजें र भेटेपछि छतमा आएर सुरुक्क टेबल नम्बर १३ मा बसें । यहाँबाट शहरको एक चौथाइ प्रष्ट देखिंदो रहेछ ।
त्यही एक चौथाइमा म उसलाई खोज्न थाल्छु । तल डबलीमा झिलीमिली मान्छेहरू छन् । क्यामेराले आफ्नो अनुहार, पछाडिको दरबार, र त्यसमाथिको सुन्तले आकाश खिच्ने कोशिश गर्दै गरेका एक लहर मानिस छल्दै बीचबाट अघि बढ्दै गरेको एउटा अनुहार उसको हो कि जस्तो लाग्छ । साँझ छिप्पिनुअघि एक थर्मस चिया बिकाइसक्ने यत्नमा लागेका अर्का लहरको थर्मस छलेर हिंड्दै गरेको कुनै खुट्टा उसको हो कि भन्ठान्छु ।
उसलाई खोज्दा खोज्दै मेरा आँखाहरू यो साँझको दृश्यमा हराउँछन् । डबली पछाडि साँझको चिसो बतास थेगेर सबैमाथि कृपा नजर राख्दै एउटी देउता, देउताको मन्दिरको आँगन पेलेर लगाइएको शहरका घरहरूको पर्खाल, अनि एउटा विशाल अनकण्टार खैरो झाडी, त्यसको पुच्छरमा रहेको डाँडाको गर्भसम्म उछिट्टिएका सिमेन् (ट) का छिटाहरू, जहाँबाट छिटै जन्मिनेछन् कंक्रिट बच्चाहरू ।
टेबल नं. ७ मा पूर्वीय दर्शनको बाटो पहिल्याउन आएका केही युरोपेली, जो दिनभरिको ट्राफिक जामहरूले रनभुल्लमा परेका जस्तो देखिन्छन् ।
केहीबेरमा काठमाण्डू हस्याङ–फस्याङ गर्दै पाँच तलाको भर्याङ्गलाई हराएर छतमा आइपुग्छ । धूलै धूलो भएको हेल्मेट निकाल्छ, अनि मुस्कुराउँदै म भएतिर आउँछ । हेल्मेट छेउको कुर्सीमा राख्छ, ज्याकेट फुकाल्छ, धूलो टकटक्याउँछ ।
शरदका फूलहरूको पराग र थोत्रा डिजलगाडीको धुवाँको राग केहीबेरसम्म हाम्रो टेबलमा रहिरहन्छन् । केही बेर आफ्नो गुजुल्टिएको कपाल मिलाइसकेपछि काठमाण्डू फेरि मलाई हेरेर मुस्कुराउछ ।
“धेरै बेर कुराएँ ? म त बाटै बिर्सेर कहाँ पुगेछु । एकछिन असनमै हराएँ”, ऊ सोध्छ ।
“अँ । तर ठीकै छ । म पनि हराउन पाएँ एकछिन”, म भन्छु ।
शहरमा हराउन सजिलो छ, तर हराउने साइत जुराउन भने गाह्रो छ । मैलेआफू हराउने समय पाउन कि त छुट्टीको दिन कुरेर शहरबाट कतै बाहिर भाग्नुपर्छ, कि कुनै साँझ कतै कसैलाई पर्खेर बस्नुपर्छ ।
“काठमाण्डू, तिमीले मलाई कसरी चिन्यौ ?” मैले भनें कि भनिनँ यो हाम्रो पहिलो भेट हो भनेर ?
“तिमीलाई मैले देखिराखेको हो नि ! बोल्न मात्र आँट नगरेको । म पहिलो पल्ट कार्यविनायकको बस चढेर भैंसेपाटी गएको थिएँ, ड्राइभरको छेउमा तातो इन्जिन माथि बसेर, अनि तिमी पनि त्यही बसको ढोकामा झुण्डिरा’को थियौ । एकचोटि मेरो बाइकको ऐनामा देखेको थिएँ तिमीलाई । तिमी तिम्रो भाइको स्कुटर पछाडि बसेर शहरका तस्वीरहरू खिच्दै थियौ शायद, फोटो खोजेर हेर्यौ भने मेरो बाइक देख्छौ होला, अलि जूम गरेर हेर्यौ भने मैले बाइकको ऐनाबाट गिज्याइराखेको पनि देख्छौ होला, हाहा । बानेश्वरका चियापसलमा कतिचोटि तिमी र तिम्रा साथीहरू बसिरहेको बेला बस्ने ठाउँ नपाएर फर्केको छु म, अनि कति चोटि म बसिरहेको बेला ठाउँ नपाएर तिमी फर्केको छौ । तिमीले चैं मलाई कसरी चिन्यौ ?”
“मैले पनि देखिराको हो तिमीलाई । बोल्ने आँट मात्र नगरेको”, म भन्छु ।
टेबल नं. ७ का युरोपेलीहरूलाई नेपाली मःमः ल्याइदिंदै गर्दा बल्ल वेट्रेसले हामीलाई देख्छिन् । र हत्तारिंदै मेनु बोकेर टेबलमा आइपुग्छिन् ।
“हाम्रो अर्डर भयो ?” उनी सोध्छिन् ।
“छैन नि” काठमाण्डू उनलाई हेर्दै भन्छ ।
वेट्रेसको अनुहार एक्कासी रातो हुन्छ ।
“तपाइँलाई यहाँ भेटौंला भनेर मैले सोचेकै थिइनँ । तपाईंहरू मेनु हेर्दै गर्नुहोला म आइहालें”, आफूलाई सम्हाल्नै नसक्ने गरी उनी दौडन्छिन् ।
म काठमाण्डूलाई ट्वाल्ल परेर हेर्छु । ऊ नाकबाट हावाको एक झोंका निकालेर हाँस्छ, अनि भन्छ, “म हट लेमन खान्छु, तिमी ?”
“म पनि, तर हनी हाल्न भन है ?” म जवाफ दिन्छु ।
मैले भर्खरै के भएको थियो, किन वेट्रेस एकाएक दौडिइन भनेर सोध्न नपाउँदै हाम्रो अघि उनी देखापर्छिन् ।
वेट्रेसको हातमा एउटा किताब छ, अनुहारमा पसिना ।
“तपाईं त मेरो फेभरेट नेपाली लेखक हो नि । यो किताब मैले मेरो साथीको लागि किनेको हुँ, एउटा छोटो मेसेज लेखिदिनुहुन्छ प्लिज ?” यति भनिरहँदा उनको स्वाँ–स्वाँ सकिएकै थिएन ।
“स्योर, बस्नुस् न”, कुर्सीको हेल्मेट हटाएर टेबलको कुनामा राखेर काठमाण्डू इशारा गर्छ ।
“हैन ठीकै छ”, उनी भन्छिन् । काठमाण्डूले किताब लिएपछि मैले कभर हेर्छु, अगाडि सेतो पर्दामा ‘तिम्रो शहरका कथाहरू’ लेखिएको छ, मुनि गज्याङगुजुङ तारहरूको चित्र छ । पछाडि उसको नाम र फोटो ।
“नाम के नि तपाइँको साथीको ?”
“किरण, तर पिकाचु लेखिदिनुस् न है ?”
काठमाण्डूले पहिलो पानामा केही लेखिदिन्छ ।
“एकैछिन है ?” ऊ किताबको बीचतिर पल्टाउन थाल्छ । र, बीचका केही पानाहरू ध्वार्र च्यात्नथाल्छ ।
म छक्क पर्छु, वेट्रेस पनि अचम्म पर्छिन् ।