कथा

ठूला मान्छेहरूसँग

Himal Khabar
भिक्त्तोर द्रागुन्स्की
Himal Khabar
भावानुवादः पूर्ण पी राई
Himal Khabar
Himal Khabar

(भिक्त्तोर द्रागुन्स्की (सन् १९१३–१९७२) सोभियतकालीन रूसी साहित्यकार हुन् । उनलाई विशेषगरी रमाइला बालकथाहरूका लागि सम्झिइन्छ । प्रस्तुत कथा सन् १९६१ मा प्रकाशित द्रागुन्स्कीको लघुकथा संग्रह द एडभेन्चर अफ डेनिस मा समाविष्ट देयर इज नथिङ यु क्यान डु अबाउट इट कोे नेपाली भावानुवाद हो ।)

Himal Khabar
Himal Khabar
ठूलामान्छेहरू केटाकेटीलाई प्रायः मूर्ख प्रश्नहरू सोध्छन् । उनीहरू सबै एकै हुन् । उनीहरू सबैले केटाकेटीहरूलाई सोध्नको लागि एकैखाले प्रश्नहरू सिकेका हुन्छन् । मलाई ठूलामान्छेहरूसँग परिचय गराउँदा तिनै प्रश्नहरू सोधिन्छ । ती यस्ता हुन्छन् ।
घण्टी बज्छ । मम्मी ढोका खोल्नुहुन्छ । एकछिन अलमल हुन्छ । मैले नचिनेको ठूलो मान्छे भित्र पस्छ । ऊ हात, कान र चश्मा मुसार्छ । मलाई हेर्छ । अनि सोध्छ, “तिम्रो नाम के हो, डेनिस ?” मलाई झोंक चल्छ, “तपाईंले प्रश्न गर्दै मेरो नाम भनिसकेपछि मैले किन आफ्नो नाम भन्नु पर्यो ?” तर त्यसो भन्दिनँ । म वास्ता गर्दिनँ । अमिलो मुस्कान दिन्छु । अन्तैतिर फर्किन्छु, “डेनिस ।”

त्यसपछि अर्को प्रश्न गर्छ, “कति वर्षको भयौ ?” म तीस चालीस वर्षको त देखिन्नँ नि ! म कत्रो छु भन्ने आधारमा मेरो उमेर ऊ जान्न सत्तैन ? किन सोध्छ ? किनकि उसमा ठूलो मान्छे हुनुको घमण्ड छ, र मलाई त्यसरी जिस्क्याउँछ । “अँ, तिमी कति पुग्यौ ?”
म भन्छु, “साढे सात ।” उसका आँखाहरू ठूलाठूला हुन्छन् । हात तन्काउँछ । मानौं कि मैले एक सय एकसट्ठी वर्ष पुगें भनेको होस् ।

ऊ दाँत दुखेर छटपटाए झैं गरेर चिच्याउँछ, “ओ मेरो साढे सात वर्षे ... ।” म त्यसरी नै नचिच्याएपछि उ जिल्ल पर्छ । बिचरा ! मलाई त फगत ठट्टा जस्तो लाग्छ । त्यसपछि ऊ औंलाले मेरो पेट दुख्नेगरी घोच्छ र खस्रो स्वरमा बोल्छ, “सेनामा भर्ती हुन चाँडै तयार हौ, हैन ?”
फेरि ऊ फेरि शुरूदेखि थाल्छ । टाउको हल्लाउँछ, र बा र मम्मीलाई भन्छ, “अचम्म ! सोच्नुस् त ! ऊ त साढे सात वर्षको भइसकेछ नि !” ऊ फेरि मतिर फर्किन्छ, “मलाई त तिमी अझै डायपरमै छौ भन्ने लाग्छ ।” र ऊ आफ्नो हातहरू बीस सेन्टिमिटरको फरक पारेर उबेलाको मेरो आकार देखाउँछ । मलाई भन्न मन लाग्छ, ‘म जन्मिंदै पचास सेन्टिमिटरको थिएँ’ । मम्मीले देखाएको मेरो जन्मदर्ता प्रमाणपत्रमा त्यही छ ।

तर त्यो ठूलोमान्छेप्रति मेरो गुनासो छैन । ती सबै त्यस्तै हुन्छन् । ऊ केही सोचिरहे जस्तो देखिन्छ । साँच्ची नै । आफ्नो जीवन ठूलोमान्छेको दाउमा राख्नुपर्छ । ऊ निदाए जस्तो गरी छातीतिर टाउको निहुर्याउँछ । त्यहीबेला म आफूलाई उबाट फुत्क्याउन कोशिश गर्छु । तर ऊ निदाएको हैन रहेछ । ऊ त मलाई सोध्न बाँकी प्रश्नहरू सोच्दै गरेको रै’छ । उसको मुखमा भद्दा मुस्कान देखिन्छ, “तिमी ठूलो भएपछि के बन्ने ?”
‘म गुफा अन्वेषक बन्न चाहन्छु’ भनें भने उसले पत्याउने छैन । ऊ मलाई बुभ्दैन । मलाई यो जवाफले उसको उपेक्षा गर्नुछैन । उसलाई सजिलोको लागि भनिदिन्छु “म आइसक्रिम बेच्नेछु । त्यसपछि म दिनैपिच्छे जति पनि आइसक्रिम खान पाउनेछु ।” त्यो मान्छे साँच्चै खुशी देखिन्छ । सबै अहिलेसम्म ठीकै छ । ऊ मेरो पछाडि ढुङ्गाले हिर्काए झैं लाग्नेगरी धाप मार्दै बाउले जसरी भन्छ, “राम्रो, सारै राम्रो । तिमीलाई सुहाउँछ ।”
Himal Khabar
Himal Khabar
बिचरा म ! म सोच्छु, खेल खत्तम । मलाई हतार छ । मैले गृहकार्य गर्नै बाँकी छ । अरू पनि धेरै थोक गर्नुपर्नेछ । तर उसले मेरो हतारो पत्ता पाइहाल्छ । अनि झन् दह्रो समाउँछ । जनावरले जस्तै बल लगाउँछ । उबाट फुत्किने मेरा सबै प्रयासहरू असफल भइसकेपछि ऊ मलाई मुख्य प्रश्न सोध्छ, “मलाई भन त मेरो प्यारो सानो साथी !” रिसउठ्दो स्वरमा बोल्छ, “तिमी बा र मम्मीमध्ये कसलाई धेरै माया गर्छौ ?”

यो प्रश्नको उत्तर सजिलो छैन । विशेषगरी दुवैजना सँगै कोठामा भएको बेला । म कुरा बङ्ग्याउँछु, “मिखाइल ताहृल ।”
ऊ हाँस्न थाल्छ । यस्तो बाङ्गो उत्तर उसलाई साँच्चै रमाइलो लाग्छ । ऊ यसलाई सय चोटि दोहोर्‍याउँछ, “मिखाइल ताहृल, प्रसिद्ध चेस खेलाडी । हा—हा—हा ! यस्तो पनि उत्तर हुन्छ ? कसरी तिमी त्यसो भन्न सक्छौ ? कस्तो भाग्यमानी बाआमा ?”

अनि आधा घण्टासम्म ऊ यसलाई दोहोर्‍याइरहन्छ । बा र मम्मी पनि हाँस्नुहुन्छ । मलाई बा र मम्मीदेखि र आफैंदेखि पनि लाज लाग्छ । कसम, म संकट कटेपछि बाले नहेरेको बेला मम्मीलाई र मम्मीले नहेरेको बेला बालाई चुम्बन गर्छु । किनकि दुवैलाई म उत्तिकै माया गर्छु । उत्तिकै आदर गर्छु । यो इमानदार सत्य हो । यो अति साधारण कुरा हो । तर ठूलामान्छेहरू यस्ता उत्तरहरू मन पराउँदैनन् । मैले धेरैलाई धेरै पटक इमानदर जवाफ दिएँ तर सबैलाई त्यस जवाफले बेखुशी बनायो । उनीहरूको अनुहारले भन्थे, ‘कस्तो अनौठो जवाफ ! यो केटाले साँच्चै बा र आमालाई बराबर माया गर्छ ? कस्तो अनौठो केटा रैछ !’

त्यसैले मैले ढाँट्न थालें, र मिखाइल ताहृलको नाम लिन थालें । यसले उनीहरूलाई हँसाउँछ । यसैबेला म फलामका पञ्जावाला साथीबाट फुत्किने प्रयास गर्छु । हैट् ! ऊ त गोरुभन्दा पनि बलियो छ । त्यसैबेला उसको बाहुलाबाट एउटा सानो प्रश्न फुत्त निस्किन्छ, खाना खाइसकेपछि मिठाइ खाएजस्तो । ऊ एकाएक डरलाग्दो बन्छ, “आज बिहान तिमीले मुख धोएनौ ?” मैले सधैं जस्तै मुख धोएको छु तर के आउँदैछ मलाई थाहा हुन्छ । मलाई थाहा नभएको कुरा ट्यार—ट्यार—ट्यार गरेर यिनीहरू कहिल्यै थाक्दैनन् । जे होस्, छिटो छुटकारा पाउनको लागि अनुहार खुम्च्याउँदै भन्छु, “कहाँ ? कहाँ फोहोर छ ?” साँढेका आँखाहरू ! मेरो हात समाउँदै उही थोत्रो फोहोर प्रश्न मतिर हुत्याउँछ, “तिम्रो आँखा कस्तो ?” राक्षसको जस्तो आवाजमा ऊ भन्छ, “तिम्रा आँखाहरू किन यति काला ? तिमीले आँखा धुन बिर्सेछौ । जाऊ र राम्ररी धोएर आऊ ।”

ऊ मलाई बल्ल जान दिन्छ । यसको अर्थ अब म आफ्नो कामहरू गर्न स्वतन्त्र छु । यस्ता मान्छेहरू मेरा लागि कठोर चिजहरू हुन् । तर म केही गर्न सक्दिनँ । यो सबै बच्चाहरूले पार गर्नै पर्ने एउटा खुड्किलो हो । यसबारे कसैले केही गर्न सक्तैन। Himal Khabar