यदि त्यस्तो हो भने, मभित्रको शब्दको के अर्थ ? शब्द बिक्री हुने हो कि किताब ? लेखक बिक्री हुने हो कि लेखनीको जादू ? फूटपाथमा बेचिने हो कि शपिङ मलमा ?
फेरि सोच्छु मलाई बोक्ने र नबोक्ने आफैं दुई वर्ग हुन् । मलाई पढ्न सक्ने र नसक्ने दुई वर्ग हुन् । मलाई किन्न र पढ्न एक वर्गका, बाँकी अर्कै वर्गका । तर, संसार त्यति सजिलो पनि छैन । मलाई पढ्नेहरू र किन्नेहरूकै कुरा पनि मिल्दैनन् । अनि मलाई आ–आफ्ना कित्तामा राखेर परिभाषित गरिदिन्छन् । व्याख्या गरिदिन्छन् ।
आदरणीय खगेन्द्र संग्रौला दाइ ‘गजल’ मन पराउनुहुन्न । गजलका किताब पनि मन पराउनुहुन्न । तर, उहाँकै ‘विचार’ बोकेका, कैयौं अर्थमा उहाँले मन पराउने र माया गर्ने वर्गले गजल लेख्छन्, गजल पढ्छन् । मरुभूमिमा काम गर्ने, परिश्रम गरेर कमाउने कैयौं नेपाली मजदूर गजलसँग रमाउँछन् । आफ्ना दुःख, पीडा र आक्रोश कहिले गजल मार्फत पोख्छन् त कहिले कविता र गीत मार्फत । उनीहरूका रचनामा आक्रोशभन्दा दुःख बढी छ । आशा र निराशा छन् ।
के दुःखका गजलहरू बिक्री योग्य होइनन् ? के त्यस्ता गजल र कविताहरूले खास वर्गको प्रतिनिधित्व गर्न सक्दैन ? कस्तो साहित्यले, लेखनीले कसको प्रतिनिधित्व गर्ने हो ?
कतिलाई आफ्नै रचनाले वर्ग बोलिरहेछ भन्ने पनि थाहा छैन । तैपनि लेखिरहेछन् । खास वर्गको प्रतिनिधित्व गरिरहेछन् । यीमध्ये कतिले आफ्नै मायालु हातले दिएका पुस्तकहरू वर्ग नमिलेको, विचार नमिलेको, भाषा नमिलेको कारण कतै मिल्किएको वा कवाडीमा बेचिएको थाहै पाउँदैनन् । तैपनि लेखिरहेका छन्, बाँडिरहेका छन् । बस् आफ्ना दुःख लेखेका छन्, त्यसमै रमाएका छन् । कतिले दुःखले कमाएर बचाएको पैसाले किताब छाप्छन् । थोरै बेच्छन्, धेरै बाँड्छन् । बेच्न सक्दैनन् । बेच्न जान्दैनन् । उनीहरू ती वर्गका लेखक न परे जो आफ्नै प्रतिभा बेच्न सक्दैनन् तर आफैं भने बारम्बार बेचिइरहन्छन् ।
किन म विभक्त छु ? किन मभित्र कुँदिएका अक्षरहरू विभक्त छन् ? फेरि सोच्छु सबैलाई सबै कुरा मन पर्छ भन्ने पनि त छैन । कसैले आख्यान पढ्दैनन्, कसैले गैरआख्यान । कसैले कविता त कसैले कथा । कसैले नेपाली त कसैले अन्य भाषा ।
‘शुद्धवादी’हरू अन्य मातृभाषाका शब्द मिसिए त्यसको अर्थ बुझ्न र सोध्नतिर लाग्दैनन् । बरु खानामा ढुङ्गा टोकिएजस्तै थुक्न थाल्छन् । अर्काथरी केही न आफ्नो भाषा गज्जबसँग लेख्छन् न अन्य राष्ट्रिय भाषाका शब्द मिसाएर सुन्दर इन्द्रेणी बनाउने जाँगर चलाउँछन् ।
यी अक्षरका खेलमा म पिसिन्छु । मेरो अस्तित्व हराइजान्छ । म अर्थात् एउटा किताब । म त जहाँ पनि बेचिनु न हो । मेरा लागि फूटपाथमा किताब बिक्री गर्नेहरू, किताब किन्नेहरू र क्याफे सहितका आधुनिक किताब पसलका साहुजी र ग्राहकमा कुनै अन्तर छैन । म उनीहरूको नाफा कमाउने साधन न हो ।
म बेचिनु छ, पढिनु छ र कतै फालिनु छ । उनीहरूको विचार के छ, कुन जात, धर्म वा वर्गका हुन् भन्नेसँग मेरो के सरोकार ? जहाँ बेचिए पनि म बेचिने नै हो । तर अचम्म ! ठाउँ अनुसार मेरो मूल्य फरक छ । ठाउँ अनुसार मलाई किन्ने उपभोक्ता फरक छन् । उनीहरूका चासो र चिन्ता फरक छन् । के उनीहरूको चासो र चिन्तासँग मभित्र भएका शब्दहरूको मेल खान्छ ? के किताबभित्रको शब्द र विचारले उनीहरूलाई तान्छ ?
फेरि सोच्छु, शब्द र विचारको महत्व छ कि मूल्य को ? वा ठाउँ विशेषको । लेखक विशेषको वा मेरो आकर्षक कलेबरको ? के किताब आकर्षक र किताबसँगै जोडिने अन्य गतिविधि बढ्दै गर्दा किताब फूटपाथ, साना पुस्तक बिक्रेता र फूटपाथका ग्राहकबाट ‘नयाँ वर्ग’ को हातमा पुगेको हो ? होइन भने त्यो किताब कसका लागि लेखिएको हो ? कसले पढ्ने हो ? कहाँ किन्ने हो ? अनि किताबले बोक्ने के हो ? विचार या ‘ब्राण्ड’ ?
म कुनै समय साझाबाट वा लेखकको आफ्नै खर्चमा छापिएँ । कागज कमसल थियो । कभर लटरपटर थियो । भित्रका अक्षरहरू कतै फुङ्ग उडेका त कतै मसीले लतपतिएका । कुनै पाना तलबाट काटिएका त कुनैका माथिबाट । देख्दै माया लाग्दो । बिक्री मूल्य जस्तै ।
कति पाठकका लागि त म उनीहरूको बुक र्याकमा सजाउन योग्य वस्तु थिइनँ । विदेशी उच्चस्तरीय कलेवरका किताबहरूका माझ कति पसलेले बेच्न मानेनन् । कति पाठकले किन्न चाहेनन् । अनि कति पाठकले घरभित्र राख्न चाहेनन् । हेर्दै अर्कै ‘स्तर’को जस्तो देखिने, अनाकर्षक ।
थोरै मूल्यको किताबमा नाफा कम आउने नै भयो । पसलेको आम्दानीको स्रोत हुन सकिनँ । तर, फूटपाथ र केही साना पुस्तक पसलमा भने म रहें । वर्षौं रहें । कुनामा कतै थन्किएर । कुच्चिएर । कीरा, धमिरा, धूलोबाट जोगिएर । कवाडमा बेचिनबाट जोगिएर ।
विस्तारै नयाँ जागरूक प्रकाशकहरू आए । अँध्यारो ठाउँबाट उठाए । यता पल्टाए, उता पल्टाए । भित्र केही छ जस्तो ठाने । ‘विशेष छ’, यसलाई छाप्नुपर्छ भन्ने माने । वा, यसमा मूल्य धेरै राख्न मिल्छ र नाफा धेरै हुन्छ भन्ने सोचे । मेरो त के हैसियत थियो र ? लेखक र प्रकाशकले जे चाहन्थे त्यो भइजान्थें ।
मेरा पनि आफ्नै रहर थिए । फूटपाथ र साना पसलका धूलो, धुवाँ, घाम, पानीबाट जोगिने रहर कसलाई हुँदैन । आखिर मान्छे, पशुपन्छी पनि त यस्तै यस्तै कुराबाट जोगिन खोज्ने न हुन् । भीडबाट म छानिएँ । टाइप गराइयो । प्रुफ हेरियो । डिजाइनर छानियो । प्रेस छानियो । सम्पादन गरियो । रङ्गीन, गह्रौं र बाक्लो गाता चढाइयो । कतिले त रङले विचार छुट्टिन्छ भनेर सोही अनुसारको रङ पोते । कसैले बाहिरी कभरमा ‘महावाणी’ थपे । कसैले लम्बेतान भूमिका मागे ।
जे सोचे, जे गरे मेरो ‘हित’ सोचे । मलाई तयार गरे र बजारमा ल्याए । केही हल्ला गरे । केहीले गज्जबको किताब हो पनि भने । केही पुनः भेटेकोमा दङ्ग भए । विस्तारै म सबैतिर पुग्न थालें । साँच्चै म माथि केही निगाह भयो । चमत्कार भयो । पाठक थपिए । रुचिहरू फेरिए । पाठकले हेर्ने दृष्टिकोण फेरिए ।
तर मलाई हेर्ने कतिपय दृष्टिकोण भने उस्तै छ । कसैले गाथगादी ताक्यो भनेर जलाइरहे, कोही रातो खोल देखेरै तर्सिरहे । कसैले परम्परागत भयो भनेर त कसैले नयाँ प्रयोग गर्यो भनेर । कसैले प्रमाण पुगेन भनेर त कसैले प्रमाणको तोडमरोड गर्यो भनेर । कसैले जाति, धर्म र क्षेत्रको अपमान गर्यो भनेर । कसैले यो कित्ता त कसैले त्यो कित्ताको भनेर । फालिरहे । मिल्काइरहे ।
आरोप लगाएर मिल्काउनेहरू त भइगए; हेर्दै नेहेरी, पढ्दै नपढी पुस्तक र पुस्तकालयमा आगो लगाउनेहरूले पनि आफ्नै तर्क अगाडि सारिरहे । आफैंलाई सही सावित गरिरहे । शायद गलत त म थिएँ, जो जन्मिएँ ।