नेपालमा प्रचलित विविध तन्त्र परम्परामा मातृका गणको परिकल्पना मण्डलमा नृत्य गरिरहेका देवीहरूका रूपमा गरिएको छ । मातृकागणहरूमा सुरक्षाको लागि प्रार्थना गर्ने चलन छ ।
देवी महात्म्यमा शुम्भ निशुम्भ वधका लागि भगवती महासरस्वतीले युद्धमा सरिक भएका विविध मातृ देवीहरूलाई आफूमा विलय गराएको प्रसंग छ । यता इन्द्र, रुद्र, विष्णु, कुमार आदि देवतामा पनि शक्ति र सामथ्र्यका रूपमा आफू नै अभिव्यक्त भएको भनेर देवीले आफ्नो वास्तविकता बताएकी छिन् ।
यो पौराणिक रुपक नेवाः समुदायमा आउँदा संस्कृति बनेर जीवन्त हुन्छ, स्थानीय स्वाद मिसिन्छ, आस्था अनि विश्वास भरिन्छ । उदाहरण कीर्तिपुरको चर्चित बाह्रवर्षे गथु प्याखंलाई नै लिन सकिन्छ । विधिवत् उत्पन्न मातृका गण आफ्नो निश्चित दायित्व पूरा गरेर सांस्कृतिक रूपमा समाहित भएर जान्छन् । त्यस बाहेक वर्षेनि मोहनीका बेला चालंको दिनमा नगर परिक्रमामा निस्कने देवी प्याखंको आफ्नै महत्व छ ।
तःननि दाफा खलः कीर्तिपुरको अमूर्त सांस्कृतिक सम्पदा हो । तेह्रौं शताब्दीमा जन्मिएको दाफा परम्परा यस खलःको विशेषता हो । देवी प्याखं उक्त दाफा खलःमा संरक्षित छ ।
लगभग दुई सय वर्ष पुगिसकेको यस प्याखंमा इन्द्रायनी, ब्रह्मायनी, भैरव, कवं, ख्याः गरिकन पाँच देवगण रहन्छन् । कुम्कुम वर्णको इन्द्रायनी, नीलो वर्णको भैरव अनि पहेंलो वर्णको ब्रह्मायनी; यी मूल देवताहरू आफ्ना गण कवं र ख्याःका साथ नगरका निर्धारित स्थानमा नृत्य गर्दै अगाडि बढ्छन् ।
नगर परिक्रमाको तयारी कौलाथ्व प्रतिपदाको दिनदेखि नै हुने गर्छ । यस दिन आखः छेंमा दाफा गुरुहरूको उपस्थितिमा जमरा राखिन्छ र अष्टमीको दिन विशेष दाफा आरती गीत गाई शक्ति स्थापना अर्थात् थापं गरिन्छ । अष्टमीको दिन सम्पूर्ण बाजाहरूलगायत पौराणिक ख्वाःपाःहरूको पूजाआजा गरिन्छ । नवमीको दिन आआफ्नो घरघरबाट पूजा लगी आखः छेंमा राखिन्छ र भोलिपल्ट दशमीको दिन त्यहीं भेला भई पूजाआजा गरिन्छ नगर परिक्रमामा निस्कनु अघि ।
देवी प्याखंका पात्रहरू दाफा खलःकै सदस्यहरू हुन्छन् । नृत्य गर्नेहरूलाई विधिवत् रूपमा आफ्नो वस्त्र र ख्वाःपाः धारण गर्न लगाइन्छ । बाजा बजाउनेहरूले आ–आफ्नो बाजा पूजा गरी एक चरण नासःद्यःको अर्चना गर्छन् ।
यसरी तःननिको आखः छेंदेखि देवी प्याखंले आफ्नो यात्रा तय गर्छ । मूल पात्र इन्द्रायनी, ब्रह्मायनी अनि भैरव ख्वाःपाः (मुख), वसजाः (वस्त्र) र तिसाः (गहना) मा सजिएर हातमा आफ्ना ज्वसाः (अस्त्र) बोकी कवं र ख्याःका साथ दाफा संगीत सहित पुरानो कीर्तिपुरको परिक्रमा गर्छन् ।
कीर्तिपुरका ऐतिहासिक तथा धार्मिक ठाउँहरू भरिया पुखुःको गणेश, चिलन्चो महाविहार, बाघ भैरव, सतःक्व, समला ढोका, देव ढोका र सिंह दबुमा बिसाउँदै प्याखं र दाफा टोलीले स्थानीयबाट विधिवत् पूजा थाप्छन् । साथसाथै ती ठाउँहरूमा रहेका पीठहरूप्रति समर्पित भावले द्यः ल्हाएगु लगायत अन्य वन्दनाहरू गाउँछन् ।
बाघ भैरव मन्दिरस्थित नृत्यनाथ नासः द्यको पीठ अगाडि विशेष पूजाअर्चना गरिन्छ । नित्यनाथ ग्वाराको मे र तालमा देवी प्याखंका गणको नृत्य चल्छ यहाँ । परिक्रमाको क्रममै प्रसादको रूपमा मोहनी नखःको प्रमुख परिकार समए बजि बाँडिन्छ । मोहनी भर आगममा गोप्य तवरले उपासना गरिएको शक्ति, विविध बाजाको तालमा दाफा गायन सँगसँगै नाच्दैनाच्दै घरआँगन अगाडि आइपुग्छ र अन्ततः तःननि टोलमा आइपुगी अन्य मनोरञ्जनात्मक प्रस्तुतिका साथ समापन गरिन्छ । त्यसपछिको पूर्णिमासम्मको दिनहरूमा कतैबाट प्याखं प्रस्तुति र देवगण दर्शन गर्नका निमित्त बोलाइएमा दाफा खलः सहर्ष जाने र पूजा थाप्ने चलन पनि छ ।
दशैंका विशेष अष्टमी, नवमी, दशमीका दिन गरिने बलिका लागि तयारी गरिरहँदा तःननि भने सांगीतिक र सांस्कृतिक भएर नृत्य मुद्रामा इन्द्रायनी देवगणको उपासनामा तत्पर हुन्छ । देवी प्याखंलाई दाफा खलः लगायत सम्पूर्ण समुदायले नै प्रेमको प्रतीकका रूपमा लिने गरेका छन् । मोहनी नखः सांगीतिक परिवेशमा देवी प्याखंका रूपमा उत्कर्षमा पुग्ने गर्छ ।