मातृभाषामा जन्मिएर
यही भाषामा विस्तारै
हुर्किएको हुँ म
मेरा असङ्ख्य विचार
मातृभाषामै आउँछन्
अनि जान्छन् पनि
फेरि आउनलाई शायद
तर आफ्नो वयको यो
झण्डै सन्ध्याकालमा म
मातृभाषामा बिर्सन पनि
थालेको छु घरी–घरी
मलाई आमाको याद
आउन थालेको छ तीव्र
बाल्यकालमा मातृभाषामै
हप्काउनुहुन्थ्यो उहाँ
मेरा बदमासीहरुमा
र जवाफमा म तुरुन्तै
रिसाउन थाल्थें आमासँग
त्यसपछि हाम्रो अनिवार्य
सुलह हुन्थ्यो यही भाषामा
र आमाले मायाले
सुमसुम्याउनुहुन्थ्यो अबेरसम्म
अनि च्वाप्प–च्वाप्प
म्वाइँ खानुहुन्थ्यो मेरा
दुवै गालामा बेस्सरी
र त्यो म्वाइँको स्वाद
हुने गर्थ्यो मातृभाषा जस्तै
अहिले आमा हुनुहुन्न
केवल मातृभाषा छ
जब नितान्त एक्लो हुन्थें
एक्लो हुने गर्दिनथें कदापि
मसँग मातृभाषा हुन्थ्यो
र मातृभाषा स्मृतिको
कुनै सुदूर कन्दराबाट मलाई
इशारा गरिरहेको हुन्थ्यो
त्यो इशारा मैले कति बुझें
र कति बुझिनँ पनि
तर मातृभाषाले मलाई
सदैव बोलाई नै रह्यो
–थनवा बाउचा
(आमाका शब्द)
मेरो मस्तिष्कको गठन
मातृभाषासँग मिल्छ
अथवा मेरो मस्तिष्क नै
मेरो मातृभाषाको स्थायी
वासस्थान हुनुपर्छ
त्यसैले म जहिले पनि
मातृभाषामै सोच्छु
र यहीभाषामा कल्पना गर्छु
अनि दुःख भएमा
मातृभाषामै रुन्छु धुरुधुरु
मेरा आँशुका थोपाहरु
यही भाषामा तल खस्छन्
तप्पतप्प तप्पतप्प
र, कहिलेकाहीं म
आँशुलाई चटक्कै बिर्सेर
मातृभाषामै सुसेल्छु
मेरा तमाम निद्राहरुमा
म मातृभाषामै सपना हेर्छु
र एकाएक ब्युँझेर अरु भाषामा
कविता लेख्न थाल्छु
(प्रकाशोन्मुख ‘डिगेन्द्र राजवंशीको आत्महत्या’ कवितासंग्रहबाट)