- के भनूँ ? तिमी पनि लाश, हामी पनि लाश । तिमीलाई सबै थाहै होला । अब त शरीर पनि सड्न थाल्यो ।
तैपनि, शान्ति छ यहाँ ।
- यो शरीर भए पो सडेको चिन्ता गर्न सुहाउँथ्यो । किन पीर मानेको ? तिम्रा शरीर त नामवालाको देह
थियो । प्राण गुम्यो, नाम गुम्यो ।
- कुरा ठीकै हो । जीवित छँदा नाम थियो, गाम थियो, परिवार थियो, धन थियो, पद–प्रतिष्ठा थिए । अब
त सबै खत्तम ! थाहा छैन, यो कुन रोग आयो । प्राण जानेबित्तिकै नाम पनि समाप्त हुँदोरहेछ । र,
नम्बर चालु हुन्छ – शव नं. एक, शव नं. दुई, शव नं. तीन । आखिरीमा म को हुँ ?
- तिम्रा केही थिएनन्, सबै ती नामवालाका थिए । र, तिमी ? तिमी केही होइनौ । मतलब शून्य ।
मूल्यहीन । कहीं छैनौ, केही छैनौ ।
- ठीक भन्यौ, हामी केही होइनौं । देख्यौ नि, हामी तीनै जनालाई प्लाष्टिकमा बेरेर जंगलमा
फ्याँकिदिए । शायद हामी मनुष्य नै होइनौं । टाउकोमाथिका बोझ मात्र थियौं ।
- मर्ने बेलामा त कोही थिएनन्, नजिक । न तिम्रो परिवार, न मेरो परिवार । कुरा गर्छौ, ज्यान दिन
तयार थियो रे ! रोग सर्छ भनेर सबैले आफ्नो ज्यान जोगाए ।
- यो कस्तो रोग हो भाइ ! रोग लाग्नेबित्तिकै पुलिसले समातेर जेल लैजाँदो रहेछ । जेल भनेको
बुझ्यौ नि, अस्पताल । अनि, घरपरिवारका मानिस यसरी हेर्छन्, मानौं बिरामी त बिरामी नै होइनन्,
मानौं डाँका हुन्, हत्यारा वा बलात्कारी हुन् । तिमी नै भन त, यो रोग कसले दियो, यही समाजले
दिएको होइन ?
- त्यसमा पनि धेरै जनाले अरू नै कारणले ज्यान गुमाउँछन् । अनि भन्छन्, महामारीबाट मृत्यु भयो ।
- त्यही त, म त भोकले छटपटिएर मरें । सात दिनसम्म पेटमा दाना नै परेन । खल्तीमा एक सुको थिएन ।
कसैले दिएन । दिनरात भात भात भनी चिच्याइरहें । एक गाँस भात खान मन व्याकुल भइरह्यो । गाँस त
के, भातको सितोसम्म पाइएन । अन्त्यमा बेहोस भई ढलें । मानिसहरूले प्रहरीलाई खबर गरिदिए ।
प्रहरीले हत्तपत्त अस्पताल लग्यो । तीन दिनसम्म बेहोशीमै थिएँ । नाक र मुखमा के के परीक्षण
गरे । असह्य भयो । अनि, मरें । सबैतिर हल्ला फैलियो, महामारीले गर्दा एक युवकको ज्यान गयो ।
- मसँग पनि त्यस्तै भो भाइ । आफ्नै गाउँका आफ्ना भनाउँदाहरूले पाँच दिनसम्म एउटा कोठामा थुनेर
राखे । हातमुख बाँधी मुखमा कपडा कोचिदिए । मसँग जबर्जस्ती गरे, मनपरी गरे । मेरो शरीरसँग
तिनीहरू खेलिरहे । सांकेतिक रूपमा विरोध जनाउँदा बेस्सरी पिट्थे पनि । केही खान दिंदैनथे । थाहा
छैन, म, मेरो पति र मेरो परिवारसँग के दुश्मनी थियो तिनीहरूको । एकदिन तिनीहरूलाई के भो कुन्नि
? मेरो घाँटी दबाएर मारे । अनि, मलाई एकान्त ठाउँको बीच बाटामा लगेर फ्याँकिदिए । उनीहरूका
नजरमा म लाश थिएँ, तर मेरो प्राण जीवितै थियो । सास चल्दै थियो । मानिसहरूले देखेपछि पुलिसलाई
खबर गरे । पुलिसले अस्पताल लगेर छोडिदियो । रोग अर्कै थियो, तर अरू नै परीक्षणहरू गर्न थाले ।
चार दिनपछि अस्पतालकै बेडमा मेरो सास टक्क रोकियो । अनि, समाचार आयो, महामारीले एक महिलाको
ज्यान गयो ।
- मेरो ज्यानको दोषी सरकार पनि हो, समाज पनि हो ।
- त्यो कसरी ?
- के भनूँ, त्यो पारिबाट जहिले आएँ, प्रहरीले समातेर आइसोलेसन वार्डमा लगे । जहाँ न खानेकुराको
व्यवस्था थियो, न पिउने पानीको । औषधिको त कुरै नगरौं । पहिलेदेखि बसेका मान्छेले नयाँ
मान्छेलाई कुकुर–बिराला झैं व्यवहार गर्थे । दुत्कार्ने र धिक्कार्ने बाहेक केही थिएन । सबैको
भनाइ थियो, म रोग बोकेर आएको छु रे ! त्यहाँ साह्रै असह्य भो मलाई । छटपटी बढ्न थाल्यो । पीडा
बुझ्ने कोही भएनन् । प्रहरीलाई भनिरहें, ‘म यहाँ बसें भने मर्छु, घर पठाइदिनुस् । परिवारसँग भेट
नभएको तीन वर्ष भो । बालबच्चा, श्रीमतीको मुख समेत हेर्न पाएको छैन ।’ तर, सुन्न तयार भएनन् ।
सोह्र दिनपछि प्रहरीले मलाई भने, ‘अब तिमी जान सक्छौ, तिमीलाई कुनै रोग लागेको छैन ।’ ज्यान त
आधा गइसकेकै थियो, जेनतेन बडो कष्टपूर्वक आफ्नो गाउँ पुगें । मनमा थियो, मलाई देखेर घरपरिवार,
बालबच्चा, समाज सबै खुशी हुनेछन् । तर, भयो त्यसको विपरीत । समाजका मानिसहरू मिलेर टाढाको खेतमा
एउटा झुप्रो बनाइदिए, मलाई त्यहाँ बस्न भने । चिच्याएर भनिरहें, मलाई कुनै रोग लागेको छैन । तर,
कसैले पत्याएन । मेरो नजिक पनि कोही आएनन् । जसका खातिर यति टाढाबाट आएको थिएँ, तिनले पनि
विश्वास गरेनन् । अन्त्यमा विवश भएर मैले आत्महत्या गरें । पछि रेडियोबाट समाचार आयो,
आइसोलेसनबाट घर फर्केका एक जनाको महामारीले ज्यान गयो ।
- परिवार त झन् निर्दयी हुन्छ भाइ । मेरा श्रीमान्ले दिनरात मेरो अगाडि–पछाडि चक्कर
लगाइरहन्थे । बारम्बार भन्थे, तिमी कति सुन्दर छ्यौ । तिम्रा लागि ज्यान समेत दिन सक्छु । तर,
जब अस्पताल पुगें, एकचोटि पनि भेट्न आएनन् । यही बहानामा अर्की महिलासँग लहसिन गए । जुन दिन म
लाश भई जंगलतिर जाँदै थिएँ, त्यही दिन उनको पनि जन्ती जाँदै गरेको देखें । कस्तो छुचुन्द्रो
स्वभावका हुन्छन् लोग्ने मानिस !
- मेरी श्रीमतीले पनि सात जन्मसम्म साथ दिने कसम खाएकी थिइन् । तर, एक जन्म पनि साथ दिन
सकिनन् ।
- अब छोड सबै कुरा ! सबै झन्झट पार भइगए । लोग्ने–स्वास्नी, सुन्दर–कुरूप, कालो–गोरो, सात
जन्म–एक जन्म । सबै खत्तम । हामी लाश हौं । बस् लाश !
- त्यो त हो, तर कहिलेकाहीं बिर्सन्छु यो कुरा । जिन्दगीको याद आइहाल्छ ।
- लाशकै कुरा गर्ने हो भने हामीले जिन्दगीमा कति लाश उठायौं, राम नाम सत्य भन्यौं । तर, हाम्रो
लाश उठाउन पनि ती डराए । ती चार पुलिसले जेनतेन जंगलमा लगेर फ्याँकिदिए ।
- थाहा छैन, समाजका सबै मानिस कता हराएका थिए । हामी महामारीले मर्यों , तिनीहरू त जिउँदै मरे ।
- पुलिसहरूलाई पनि कम्ती दुःख भएन । गाउँगाउँ हामीलाई बोकेर हिंडिरहे । कस्ता निष्ठुरी
गाउँलेहरू ! हामीलाई आफ्नै ठाउँमा मर्न पनि दिएनन् ।
- तिम्रा गाउँलेहरूले त हामीमाथि कति ढुंगामुढा बर्साएका थिए, थाहा छ नि तिमीलाई ?
- सबै कुरा थाहा छ भाइ । नसोध, मरेपछि कति दुःख दियो समाजले । यो पनि थाहा छ, म हिन्दू भए पनि
जलाउनुको साटो पुरिदिए ।
- हत्तेरी ! तिमी त मरेपछि पनि हिन्दू–मुस्लिम भन्दैछौ ।
- कुरा त सही हो । जीवित छँदा हिन्दू–मुसलमान, ठूला जात–साना जात, यो देश–त्यो देश, यो
ठाउँ–त्यो ठाउँ इत्यादि खूब भनिए । अब त टन्टै साफ !
- हो, अनि हामी जुन भाषामा गफ गर्दैछौं, ती कुन भाषा हुन् ? मैथिली, हिन्दी, नेपाली, अंग्रेजी,
भोजपुरी, बज्जिका, मगही, बङ्गाली कुन हुन्, ठम्याउन सक्छौ ?
- हो, यो झगडा पनि समाप्त भो । यो लाशको भाषा हो, मुर्दाको भाषा हो ।
- हो, यसमा न शब्द छ, न पङ्क्ति, न त व्याकरण, न त आवाज ।
- यो शून्य भाषा हो । तर, नबोलिकन पनि हामी एक–अर्काको कुरा बुझ्छौं, राम्ररी ।
- अनि हामीलाई यहाँ आराम छ । कुनै दुःख–कष्ट छैन । न पीडा, न त विभेद । जीवन भन्दा लाश नै
जाती ।
- हो नि, जीवन पनि यस्तै भइदिएको भए कति सुन्दर हुन्थ्यो, हगि ?
- हामी तीन भाषा, तीन ठाउँ र तीन धर्म तथा तीन प्रकारका मानिस हौं, तर आपसमा कुनै झगडा र वैरभाव
छैन ।
- मरेपछि परिवार, समाज, पुलिस जोसुकै आए पनि लाशलाई केको मतलब ? जिउँदाले सोचून्, विरोध गर्नेले
सोचून् । उनीहरू पनि एकदिन अवश्य लाश बन्नेछन् ।
- छोड भाइ । जिउँदो मानिस पत्थर हुन्छ, कुनै कुरामा मेल हुँदैन । एक ठाउँमा भेला हुनेबित्तिकै
ठक्–ठक् बज्न शुरू भइहाल्छ । एकअर्कालाई चोट पर्याउन मात्रै जानेको रहेछ ।
- तर, लाश त मैनबत्ती हो, मैनबत्ती । पग्लिंदै पग्लिंदै पूरै पग्लेर जान्छ ।
- हो, छोड सबै कुरा । जाऔं पग्लिन ।
- जाऔं ।
- जाऔं ।