संस्मरण

धरानको लकडाउनमा हाइकिङ

Himal Khabar
वसन्त थापा
Himal Khabar
सुन्दछु, यस ठाउँ (भताभुङ्गे राजाको दरबार) माथि हकदाबी गर्न राई र लिम्बू समुदायको हानाथाप छ । इतिहास र राजनीतिमा जब धर्मले प्रवेश गर्दछ त्यसको ककटेल बडो अनिष्टकारी हुन्छ । तथ्य पाखा लाग्छ र त्यसको ठाउँ काल्पनिक कथ्यले लिन्छ । बरा, भताभुङ्गेको इतिहास पनि भताभुङ्ग भएको पाउँछु ।

बज्र गिरे जसरी आयो ‘लकडाउन’, हठात् र अचानक । भोलि ६ः३० बजे बिहानदेखि ‘लकडाउन’ हुने भन्ने समाचार थाहा पाउँदा इटहरीमा थिएँ म एउटा रेस्टुराँमा । विराटनगरबाट धरान फर्कंदै थिएँ र रोकिएको थिएँ खाना खानलाई । रातिको ८ः३० बजेको थियो त्यो समाचार कानमा पर्दा ।

दिन छँदै थाहा पाएको भए केही गरिन्थ्यो होला र रातसाँझ गरेर भए पनि काठमाडौं फर्कने कुनै जुक्ति निस्कन्थ्यो होला । तर त्यति राति के गर्ने ? कुनै तयारीको सम्भावना बिल्कुलै भएन । घरायसी कामले धरान आएको दुई हप्ता बितिसकेको थियो ।

अब ‘लकडाउन’ भन्ने यो नयाँ झ्याउलोले गर्दा बसाइ अर्को एक हप्ता लम्बिने भएको थियो । आत्तिएर वा छट्पटिएर केही हुनेवाला थिएन । आई त सकेको थियो ‘लकडाउन’, जे होला बेहोर्नै पर्‌यो । एक हप्ता त हो बिताइदिउँला भन्ने लाग्यो ।

Himal Khabar

मलाई कुनै पिरलो थिएन । काठमाडौं दौडेर आई कुनै कुरा जित्नु थिएन न त धरान बस्नाले कुनै कुरा गुमाउनु नै पर्ने थियो । बरू लकडाउन नामको यस कालो बादलमा चाँदीको घेरा खोज्ने सुर कसें । विचार गरें धरान वरिपरिका भ्याउन सकिने डाँडाकाँडा र पाखापखेरोमा ‘हाइकिङ’ जाने । जानलाई मनग्गे ठाउँहरू थिए ।

धरानमै हुर्केबढेको र सारा किशोर वय अनि प्रारम्भिक जवानी यहीं बिताएको भए पनि ती पहाडहरू मेरालागि अज्ञातस्थल थिए र रहँदै आएका छन् । यसो त म वर्षमा दुई–तीन पटक धनकुटा हिंडेर जान्थें, त्यो बेग्लै कुरा हो । तर घुम्ने नाममा हामी खूब टाढा हिंडेर जाने भनेको कि त साँगुरी भञ्ज्याङ थियो कि भने सेउती खोलाको शिर शिवजटा ।

सबभन्दा ठूलो ‘एडभेञ्चर’ चाहिं नारायण पोख्रेल (पण्डित छविलालका कान्छो छोरा) को उल्क्याइमा लागेर एकपटक गोविन्द बोहोरा (पछि विकल) र मैले गरेको शिवजटादेखि ठाडै माथि काम्फेकको पहाड उक्लेर डाँडैडाँडा साँगुरी भञ्ज्याङ पुगी चिउरीबासको ओरालो हुँदै फुस्रेबजारसम्मको एकदिने यात्रा ।

चैत–वैशाखको गर्मी, भोकै प्यासै, त्यति लामो बाटो । बाटामा नारायणले गरेको बदमासीको कथा त छुट्टै छ, जो कुनै दिन सुनाउँला । अहिले सम्झँदा लाग्छ त्यो पागलपनको हद थियो । शायद हामी भेडेटार हुँदै गएका थियौं साँगुरीतर्फ । तर उसबेला भेडेटारको के हस्ती ? कसले पुछ्ने भेडेटारलाई ? धनकुटा जाने सडक बनेर पो हाइ हाइ भएको छ भेडेटारको । यो लकडाउन मैले यहाँका डाँडापाखाहरूको विचरण गरोस् भनेर नै आएको हुनुपर्छ भन्ने लाग्यो र सानैदेखि देखिराखेको तर पाइला टेक्ने अवसर कहिल्यै नमिलेको ती ठाउँहरू घुम्न जाने सुर कसें । यसनिम्ति मैले रोजें सर्दुखोलाको पश्चिम किनारबाट ठाडिएको डाँडो । त्यस डाँडाको एकदम उत्तरतर्फको भागमा रहेको शूलीकोट बाहेक त्यहाँका बस्तीको नाउँ पनि मलाई थाहा थिएन ।

Himal Khabar भेडेटार । तस्वीरः इन्टरनेट

मेरा लागि त्यो समुच्चा इलाका बेनामे थियो । कालीखोला बगेर आउने पाखा भन्नेसम्म थाहा थियो । सानो छँदा कालीखोला गइरहने भए पनि मास्तिर जाने कहिल्यै हिम्मत भएन । बाक्लो जंगल देखेरै डर लाग्थ्यो । खासै आउजाउ र सरोकार थिएन त्यस इलाकासित हाम्रो जीवनको । बस्ती पनि त त्यहाँ उस्तो थिएन त्यहाँ । दुईचार वटा छाप्रा थिए, राति टिम टिम बत्ती देखिन्थ्यो । कहिलकाहीं आगोको पुल्ठो यताउति चलेको देख्थ्यौं र त्यसलाई हामी राँके भूत चलेको भन्थ्यौं । अचेल पूरै डाँडाको पाखामा घरहरू छन् । खनजोत गरेर बाली लगाइएको छ । कच्ची सडक पुगेको छ ।

त्यस डाँडाको झन्डै थाप्लाकै नजिक बनेको एउटा झिल्के घरले मेरो ध्यान तानेको थियो । कहिले त्यसलाई बादलको पर्दाले छोप्थ्यो, कहिले त्यस घरमा मात्र घामको ‘स्पट लाइट’ पर्थ्यो, कहिले हुस्सुमा हराउँथ्यो अनि फेरि देखा पर्थ्यो । त्यही डाँडाको दक्षिणी थुम्को अचेलभरि प्याराग्लाइडिङ थालिने थलो बनेको पनि सुनेको थिएँ । त्यस ठाउँमा पनि म पुग्न चाहन्थें ।

लकडाउन भए पनि शहरबजारमा पो घुम्न भएन, वनपाखामा घुम्नाले के हानि होला भन्ने ठानेर लकडाउन लागू भएको दोस्रो दिन नै सर्दुखोला पश्चिमको त्यो डाँडो चढ्ने मन बनाएँ । साथी गर्नलाई पत्रकार भाइ गोपाल दाहाललाई गुहारें । ऊ भित्री बाटो हुँदै चतरालाइनबाट बिहानै जिरो प्वाइन्टमा आइपुग्यो र पुलिसको नजरबाट बच्दै हामी बाटो लाग्यौं । सात बज्दा त हामी सर्दुखोलामा बनेको नयाँ झोलुङ्गे पुल तरेर पारि पुगिसकेका थियौं ।