वार्ता-कथा

म आफैं जन्मेको हुँ: रोशन

Himal Khabar
गनेस पौडेल
Himal Khabar
मेरा तीन जना मानस–सन्तान छन् । मैले मनमनै जन्माएका । दुई पुत्र, एक पुत्री । जसमध्ये एउटा हो रोशन । हरेक बिहान निद्राबाट ब्यूँझेपछि म मेरा मानस–सन्तानहरूलाई दुई घण्टा जति समय दिन्छु । बेलुका सुत्नुअघि एक घण्टा । यसरी दिनको करिबन तीन घण्टा म उनीहरूसँग हुन्छु । कहिले हामी सँगसँगै गीत सुन्छौं । कहिले सिनेमा हेर्छौं । कहिले शहरका पातला कला प्रदर्शनीमा छिर्छौं । कहिले बाक्ला थियटरतिर बरालिन्छौं ।
कहिले उच्चाल पहाडतिर हाइकिङ जान्छौं । केही नभएघरकै कोठामा चर्को चर्को गरी नृत्य–संगीत बजाएर झुमिन्छौं ।
यसरी हरेक दिनको तनलाई निद्राले छोडेको तर मनलाई नछोडेको बिहानको सरदर दुई घण्टा र तन मन दुइटैले निद्राभोग गर्न नसकेको साँझको एक घण्टा म मानस–सन्तानसँग मानस–जिन्दगी बाँच्छु ।
चन्द्रमा मनसो जात... !
Himal Khabar

बाँकी दुई जनाको कुरा पछि गरौंला । कुनै संस्मरण वा कथामा । अहिले म मेरो कान्छो मानस–पुत्र रोशनका बारेमा कुरा गर्छु ।
रोशन जन्मिंदै सात वर्षको भएर जन्मेको थियो । त्यसैले जन्मनेबित्तिकै मैले उसलाई स्थानीय अमरसिंह माध्यमिक विद्यालयको कक्षा–१ मा भर्ना गरिदिएको थिएँ । ऊ नियमित स्कूल त जान्थ्यो, पठनपाठनमा मिहिनेत पनि निकै गर्थ्यो तर खै किन हो उसको दिमागमा पढेको कुरा घुस्तै घुस्तैनथ्यो ।
साह्रै लद्दु भएर निस्कियो ऊ । खेलकुदमा पनि उसलाई खास रुचि थिएन । कुनै चित्र बनाउने, कविता लेख्ने, अभिनय गर्ने वा यस्तै कुनै सिर्जनात्मक गतिविधिमा पनि उसको रुचि वा सामथ्र्य देखिएन ।
उता वेदव्यास जन्मिने बित्तिकै मातापितालाई देशना दिएर जंगल हिंडेका थिए भनेर आफ्ना जैविक बाजेबाट सुन्दै हुर्केको मलाई जन्मँदै सात वर्षको लाठे भएको आफ्नो मानस–पुत्रको दिमाग देख्दा साह्रै दिक्दार लाग्थ्यो ।

रोशन जन्मेको बखत मलाई पनि रहर लागेको थियो, ऊ टुकुर टुकुर हिंड्दै मेरो नजिकै आओस् । मलाई धर्म, विज्ञान, इतिहास, न्याय आदिका बारेमा अविच्छिन्न प्रवचन देओस् । म ऊसँग तर्क गर्नै नसक्ने भएर शब्दको बुइँगलमा पछारिऊँ । मेरा दुवै हात समातेर उसले मलाई उठाओस् र भनोस् :

“पिताजी, तपाईंले मनमनै भए पनि मलाई जन्माएर असाध्य पुनित काम गर्नुभएको छ । म तपाईंको मानस–पुत्र भएर जन्मेको भए पनि यसरी सधैंभरि तपाईंको मनमा बसेर हुँदैन । दिनका दिन तपाईंसँग मनोगफमा भुलेर हुँदैन । यसो गरेमा मानिसहरूले तपाईंलाई बर्बराउँदै हिंड्ने बौलाहा भन्न पनि बेर लगाउँदैनन् । त्यसैले मलाई तपाईंले आफ्नो मनबाट बिदा दिनुहोस् । म तपाईंको मनोलोकबाट निस्केर सर्वप्रथम ब्रह्माण्डको विचरण गर्न चाहन्छु । त्यसपछि ब्ल्याकहोल जस्तै ब्रह्माण्डकै कुनै अघोर अन्धकारमा ऐकान्तिक तपस्यामा लीन हुन चाहन्छु ।”

तर उसले त्यस्तो भनेन । बुद्धि भए पो भनोस् । १७ वर्षदेखि उसले मेरो दिमाग खाएर बसेको थियो, हरेक बिहान दुई घण्टा । बेलुका एक घण्टा ।

ऊ यतिसम्मको लद्दु थियो कि ७ कक्षा पुग्दासम्म उसलाई पूरै बाह्रखरी समेत आउँदैनथ्यो । अंग्रेजी वर्णमालामा ‘एप्पल’ देखि ‘जेब्रा’सम्म पूरै भन्न सक्दैनथ्यो । कहिले ‘एच’को ‘हेन’मा अड्किन्थ्यो । कहिले ‘आइ’को ‘इन्क’मा । गणितको त झन् कुरै नगरे हुन्छ । भन्थ्यो, ‘बाबा, मलाई हिसाब देखेपछि पिसाब आउँछ । सूत्र घोक्दा घोक्दा मूत्रले सताउँछ ।’
उसको एउटै कुरा ठीक थियो । मान्छे इमानदार थियो । मेरो पैसा चोर्दैनथ्यो । किचकिच गर्दैनथ्यो । भनेको मान्थ्यो । त्यसो त मानस–सन्तानहरू पैसा चोर्न वा पैतृक सम्पत्ति खानका लागि जन्मेका हुँदैनन् ।

त्यही साल हो कि अर्को साल हो, अहिले ठ्याक्कै बिर्सें । उसले स्कूल जान चटक्कै छोडिदियो । छोड्नुअघिको एकदिन उसले मसँग लठारिंदै भन्यो, ‘बाबा, म आजबाट स्कूल जान्नँ । पढेर काम छैन ।’
“अनि के गर्छस् त ? के गरेर खान्छस् ?”, मैले सोधें ।
“म बिजुलीकर्मी हुन्छु । घरको वाइरिङ गर्छु । खम्बामा तार टाँग्छु । एउटा छोटो जिन्दगी बाँच्न धेरै कुरा जान्नु पर्दैन । एउटा मात्रै सीप काफी हुन्छ ।”

छोटो जिन्दगी ? उसले यस्तो शब्दावली कसरी सिक्यो ? कसका लागि सिक्यो ? मेरा लागि अथवा आफ्नै लागि ? के मानस सन्तानको पनि आयु हुन्छ ? के बह्माजीका चार कुमार, नारद, दक्ष, मरिची सबै मरिसके ?
यसरी मेरो छोरो बिजुलीकर्मी अर्थात् इलेक्ट्रिसियन बन्यो । खै कसरी हो, रोशनले बिजुलीका रंगीविरंगी तारको जंजाललाई सजिलोसँग उधिन्न सजिलो गरी सिक्यो । मन परेको कुरा सिक्नलाई दिमाग नचाहिने रहेछ ।
पहाडमा छाँगो खस्ता झैं फटाफट दिन बिते । खहरेकै वेगमा महीना सोहोरिए । नदीको रफ्तारमा वर्षहरू ओरालो लागे । अनि अस्ति बिहीबारको दिनदेखि ऊ २४ वर्षको भयो । मैले तन्मयका साथ उसको जन्मोत्सव मनाउने तयारी गरेको थिएँ । ‘२४औं जन्मदिवसको शुभकामना’ देखिएको केक घरमा आइसकेको थियो । उसकी दिदी नर्मदा र दाजु प्रकाशले सम्पूर्ण मानस–गृह सजाएर चिरिच्याट्ट पारेका थिए । उत्सवको उत्कर्ष हुनै लागेको थियो, अचानकसँग बत्ती गयो । मेरो मानस गृहमा चूक अँध्यारो छायो ।
“बर्थ–डे–बोय हुँदैमा त्यसै आराम गर्न कहाँ पाइन्थ्यो !”, मलाई आँखा झिम्क्याउँदै ऊ टुल बक्स बोकेर बाहिर निस्क्यो । बिजुलीको खाँबोमा भर्‌याङ अड्यायो अनि फटाफट माथि चढ्न थाल्यो ।
मैले ‘माथिबाटै बिजुली गएको होला’ भन्ठानेको थिएँ तर छिमेकीका घरहरू पूरै उज्याला थिए । शायद हाम्रो घरमा तार तानेकै बिजुली—खाँबोमा कुनै कैफियत भएर होला । नत्र, रोशन किन माथि चढ्थ्यो र ?
यति सोच्दा कति समय पो लागेको थियो होला र ? तर मैले सोचेर नभ्याउँदै रोशनले सम्पर्कविच्छेद भएका दुई तारलाई जोडिसकेको थियो । बिजुली–खाँबोको टुप्पोमै बसेर उसले मतिर हेर्यो र फिस्स हाँस्यो । मैले पनि हाँसेरै जवाफ दिएँ ।
काम फच्चे गरेर पेन्चिस, स्क्रुड्राइबर वा प्लास कुन्नि के–के समान थन्क्याउँदै थियो, ऊ अचानकसँग बद्रयाम्म भुईंमा पछारियो । म सहयोगको लागि चिच्याउँदै उसको नजिकै पुगें । नर्मदाले ग्यारेजबाट मोटर निकाली हाली ।
रोशनको टाउकोमा अत्यन्त गहिरो चोट थियो । रगतको मूल फुटिरहेको थियो । मैले गलबन्दी फुकालेर घाउ बाँधिदिएँ । बर्थडेका सारा इन्तजाम थन्क्याएर हामीले उसलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अस्पताल पुर्‍यायौं।