लघुकथा

शुभमुहूर्त

Himal Khabar
सुमन सौरभ
Himal Khabar
‘हार्दिक बधाई छ आदरणीय आमाहरू ! प्रजननको समय गणना र बाहिरको वातावरण अनुसार बच्चा जन्माउने शुभमुहूर्त शुरू भएको छ । जन्मिन तयार भएको बच्चालाई मुस्कुराउँदै मुसार्नुहोस् र मधुरो गीत गुनगुनाउँदै बाहिर बगैंचामा निस्किनुहोस् !’
Himal Khabar

हलको स्पिकरबाट मधुरो अनुरोधयुक्त आवाज गुन्जियो ।

श्वेतवस्त्रमा सजिएका आमाहरू मुस्कुराउँदै, पेट मुसार्दै, ठसठसी कन्दै खुला आकाशमुनिको बगैंचामा भेला हुनथाले ।

सुमधुर धुन बजिरहेको बगैंचामा मीठो शीतलता थियो र माथि आकाशमा भव्य पूर्णचन्द्र उदाएको थियो ।

स्पिकर फेरि बोल्यो– ‘आमाहरू, अब आकाशको चन्द्रमालाई मायाले हेर्नुहोस् र आँखाको बाटो त्यसलाई आफ्नो गर्भमा प्रतिस्थापन गर्नुहोस् । ताकि तपाईंको बच्चा जन्मिँदा चन्द्रमा जस्तै उज्यालो र हँसिलो जन्मियोस् ।’

सबैले चन्द्रमालाई आ–आफ्नो गर्भमा प्रस्थापित गरे ।

‘आमाहरू, अब सेविकाको सहयोगमा आफ्नो लागि तोकिएको प्रसूति कुवाभित्र पस्नुहोस् ।’

आमाहरूले देखे, बगैंचामा रङ्गीचङ्गी गुलाबका पत्रहरू छरिएका स–साना, प्रसूति कुवाहरू थिए र प्रत्येक कुवा छेउमा एक सेविका उभिएकी थिइन् ।

आमाहरू सेविकाको साथमा कुवामा उत्रिए र भित्तामा अढेस लागे । हल्का चन्दनको सुगन्धसहितको मनतातो पानी कम्मरसम्म मात्र थियो ।

निर्देशन आयो– ‘अब विस्तारै लामो सास तान्नुहोस् र हल्काहल्का दबाब दिएर बच्चा निकाल्न खोज्नुहोस् ।’

आमाहरू आफ्नो शरीरबाट बच्चा छुटाउने कोशिश गर्नथाले ।

स्पिकरबाट नियमित हौसलाको निर्देशन आइरह्यो, आमाहरू कोशिश गर्दैरहे ।

निरन्तरको संगीतमय आवाजको निर्देशन अचानक कर्कस बन्यो र अघिकोभन्दा बिल्कुल उल्टो, आत्तिएको आदेश दियो– ‘पख्नुस् आमाहरू, बच्चा जन्माउन रोक्नुस् । जन्माउने मुहूर्त मात्र सही भएर हुँदैन, जन्मिने बच्चाको भविष्य पनि सुनिश्चित हुनुपर्छ... अहिले शहीदको मुहूर्त आइलाग्यो, हेर्नूस् आकाशमा र केही समय धैर्य गर्नुस् ।’

बगैंचामा कोलाहल मच्चियो । आमाहरूले देखे, चन्द्रमालाई कालो बादलले चारैतिरबाट छोप्दै थियो ।

आमाहरूले बल गर्न छाडे पनि आंशिक जन्मिसकेका बच्चाहरू पूरै जन्मिन आफैं बल गर्दैथिए र कसैका टाउका, कसैका हात, कसैका खुट्टा कुवाको पानीमा छ्याप्लाङ्ग छ्याप्लाङ्ग गर्दैथिए । Himal Khabar